२८ असोज, काठमाडौं । नेपाली कांग्रेका वरिष्ठ नेता शेरबहादुर देउवाले नयाँ संविधानसँगै मुलुकमा लगानीको वातावरण बन्ने दाबी गरेका छन् । नयाँ संविधानमा लगानीकर्ता आकषिर्त गर्न लगानी सुरक्षाको ग्यारेन्टी गरिएको उनको भनाई छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले नेपाललाई लगानीको आकर्षक गन्तव्य बनाउन सोही अनुरुपको कानुन बनाउने प्रतिवद्धता समेत जाहेर गरे । ‘नयाँ संविधानले स्वदेशी विदेशी निजी क्षेत्रका लगानीकर्ता आकषिर्त गर्नेछ’ उनले भने- ‘अब होटल, ट्रेकिङ, साहसिक पर्यटन, उर्जा, कृषि लगायतका क्षेत्रहरूमा लगानी बढ्ने छ ।’
बिहीबार राजधानीमा आयोजित नेपाल ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)को ३७औं वाषिर्क साधारणसभालाई सम्बोधन गर्दै देउवाले नयाँ संविधानसँगै मुलुकको पर्यटन क्षेत्रले पनि गति लिने विश्वास व्यक्त गरे ।
उनले पर्यटन उद्योग मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको हुँदा सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । ‘पर्यटन क्षेत्रले धेरैलाई रोजगारी दिनसक्छ’ उनले भने- ‘मुलुकमा बढी भन्दा बढी रोजगारी सिर्जना गर्नका लागि पर्यटन उद्योगको विकासमा जोड दिनुपर्छ ।’
पर्यटनलाई अनुदान देउ
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पर्यटन उद्योगलाई प्रतिस्पर्धी बनाउन सरकारले अनुदान उपलब्ध गराउनुपर्ने बताए । पर्यटन उद्योगले विदेशी मुद्रा भित्राउने हुँदा सेवा क्षेत्र भएपनि अनुदान दिनुपर्ने उनको भनाई थियो ।
अहिले सरकारले तेस्रो मुलुकमा निर्यात हुने केही वस्तुहरुमा २ प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ । सरकारले डलर भित्राउने पर्यटन उद्योगलाई अनुदान दिएमा व्यवसायीहरु प्रोत्साहित हुने उपाध्यक्ष श्रेष्ठले बताए ।
‘निर्यात प्रोत्साहनका लागि २ प्रतिशत अनुदान उपलब्ध गराउन पनि सरकारको दाँतबाट पानी झरिरहेको छ’ श्रेष्ठले भने- ‘वस्तु निर्यातमा मात्र होइन, सेवा क्षेत्रलाई पनि अनुदान दिएर विदेशी मुद्रा आर्जन गर्न प्रोत्साहन गर्नुपर्छ ।’
पर्यटन ऐन संसोधन
पर्यटन सचिव दिनेश प्रसाद थपलियाले पर्यटन ऐनलाई नयाँ ढाँचाबाट परिमार्जन गर्न लागेको बताए । ऐन संसोधन गर्दा संस्था दर्ता तथा सञ्चालनमा पनि नयाँ व्यवस्था लागू गर्ने उनको भनाई थियो ।
पर्यटनलाई संख्यात्मक मात्र नभई गुणात्मक र दीगो बनाउन व्यवसायीक संस्थाहरुको ठूलो भूमिका हुने सचिव थपलियाले बताए । पर्यटन क्षेत्रलाई रोजगारीको आकर्षक गन्तव्य बनाउनुपर्नेमा जोड दिँदै उनले सोही अनुरुप ऐन संसोधन गरिने स्पष्ट पारे ।
पदयात्रा पर्यटन क्षेत्रको महत्वपूर्ण पाटो रहेको बताउँदै सचिव थपलियाले पदयात्रा व्यवसायलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । ‘पदमार्गको निरन्तर मर्मत गर्नुपर्नेमा विगतदेखि नै त्यसो हुन सकेको छैन, निजी क्षेत्रले पनि गर्न सक्दैन’ उनले भने- ‘सरकारले नै पदमार्गको नियमित मर्मत सम्भारमा ध्यान दिनेछ ।’
सचिव थपलियाले नयाँ पदमार्ग पहिचान गरी प्रवर्द्धनमा जुट्नुपर्नेमा जोड दिए । पदमार्ग बनाएरमात्र नहुने बताउँदै उनले त्यस ठाउँमा न्यूनतम पूर्वाधारको विकास गर्न सकेमा पर्यटक आकषिर्त गर्न सकिने बताए ।
न्यूनतम पूर्वाधार अनिवार्य
पर्यटनलाई बाह्रै महिना (अल टाइम टुरिजम) सञ्चालन गर्न पनि न्यूनतम पूर्वाधार विकास अनिवार्य सर्त रहेको उनको भनाई छ । उनले स्वच्छ प्रतिस्पर्धामार्फत पर्यटन क्षेत्रको विकासमा लाग्न व्यवसायीहरुलाई आग्रह गरे ।
टाटका अध्यक्ष रमेश धमलाले निजी क्षेत्रको एकताबीना पर्यटन प्रवर्द्धन गर्न नसकिने ठोकुवा गर्दै व्यवसायीक संस्थाहरुको एकतालाई प्राथमिकतामा राख्नुपर्ने बताए । आफ्नो कार्यकालमा पानी बाराबारको अवस्थामा रहेका टान र नेपाल माउन्टेनियरिङ संघ (एनएमए) बिचको सम्बन्ध सुमधुर बनाएको स्मरण गर्दैं उनले भोलीका दिनमा पनि यो सहकार्य आवश्यक रहेको बताए ।
मुलुकमा बढी भन्दा बढी पर्यटक भित्राउन पर्यटकीय प्रोडक्टहरुको पहिचान गरी प्रवर्द्धन गर्नुपर्ने उनको भनाई छ । ‘मुलुकभित्र यस्ता प्रोडक्टहरु लुकेर रहेका छन्, जसको प्रवर्द्धन गर्न सकेमा लाखौं पर्यटक भित्राउन सकिन्छ’ उनले भने- ‘तर, हामीलले त्यस्ता प्रोडक्टहरु पहिचान गरी प्रर्वद्धन गर्न सकेका छैनौं ।’
राराजस्तो सुन्दर ठाउँलाई समेत पर्यटकी प्रोडक्टको रुपमा बेच्न नसकेकोमा गुनासो व्यक्त गरे । ‘स्रोत धेरै छन्, इच्छा शक्ती नहुँदा अझेलमा परेका मात्र हुन्’ उनको भनाई थियो- ‘अब सरकारले यस्ता प्रोडक्टहरुको पहिचान गरी प्रवर्द्धनमा जोड दिनुपर्छ ।’
टानकी संस्थापक अध्यक्ष एवं द्धारिका होटलकी सञ्चालक अम्बिका श्रेष्ठले भूकम्प र बन्द हडतालले पर्यटन क्षेत्र पूर्ण रुपमा सुस्ताएको बताइन । भूकम्पपछि ट्रेकिङ रुटहरु मर्मत समेत गर्न नसकेको बताउँदै यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराइन ।
नयाँ कार्यसमिति आजै
टानको ३७औं वाषिर्क साधारणसभाले नयाँ कार्यसमिति चयन गर्दैछ । नयाँ कार्यसमितिका लागि अहिले होटल हायतमा निर्वाचन भइरहेको छ । पर्यटन व्यवसायी सागर पाण्डे र चन्द्र रिजाल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । चुनावको नतिजा आजै सार्वजनिक हुने बताइएको छ ।
प्रतिक्रिया 4