- फाइल तस्वीर
दशरथ घिमिरे
२ कात्तिक, दाङ । जथाभावी जग्गा प्लटिङ हुन थालेपछि दाङको लमही नगरपालिकाले अंकुश लगाएको छ । आफ्नो घर बनाउँदा आफूखुसी मिस्त्री पनि राख्न पाइने छैन ।
दाङमा अनियन्त्रित तरिकाले जग्गा प्लटिङ भैरहेका छन् । जग्गा व्यवसायीले घडेरी टुक्रा-टुक्रा पार्ने र आफूखुसी बाटो निकाल्ने गरेपछि नगरपालिकाले कडाइ गरेको हो ।
लमही नगरपालिकाको विशेष नगरपरिषदले त्यस्ता कार्यलाई पूर्णरुपमा रोक लगाउँदै शहरी योजना, भवन निर्माण तथा सडक मापदण्ड निर्देशिका २०७२ लागु गरेको छ र अबदेखि जग्गा प्लटिङ गर्दा नगरपालिकाको अनिवार्य अनुमति लिनुपर्ने भएको छ ।
५ धुरभन्दा कम जग्गा पास नहुने
निर्देशिका अनुसार नगरपालिका क्षेत्रभित्र प्लटिङ गर्दा कम्तिमा ७ मिटर सडक हुनुपर्ने छ । यस्तै सडक सीमाबाट एक दशमलव पाँच मिटर सेटब्याक हुनुपर्ने उल्लेख छ । ५ धुर भन्दा कमका घडेरीलाई मान्यता दिइने छैन र पास हुनेछैन ।
‘अबदेखि नगरपालिकाको अनुमति लिएर मात्रै प्लटिङ गर्नुपर्ने हुन्छ । जग्गाको नक्सा पनि नगरपालिकाको निर्देशिका बमोजिम हुनुपर्छ,’ लमही नगरपालिकाका कार्यकारी अधिकृत ललितकुमार थापाले भने, ‘भवन संहिता र मापदण्ड पालना गरी तयार पारिएका नक्साहरुलाई मात्रै पासको र निर्माणको लागि अनुमति दिइन्छ ।’
नगरपालिकाले शहरी विकास मन्त्रालयले तयार पारेको भवन निर्माण सम्वन्धि मापदण्ड २०७१ लाई पूर्णरुपमा पालना गर्ने जनाएको छ ।
आफूखुसी मिस्त्री राख्न नपाइने
नगरपालिका क्षेत्र भित्र घर वा अरु कुनै भौतिक संरचना निर्माण गर्दा आफूखुसी ठेक्का दिने वा मिस्त्रीहरु लगाएर काम गराउन पाइनेछैन । तालिमप्राप्त कालीगढ, मिस्त्री, ठेकेदारबाट मात्र भवन निर्माण गर्न पाइनेछ । यो व्यवस्था आर्थिक वर्ष २०७३-७४ बाट लागु हुनेछ । मिस्त्री, कालीगढ वा ठेकेदारहरुलाई भौतिक संरचना निर्माणको तालिम नगरपालिकाले नै दिने कार्यकारी अधिकृत थापाले जानकारी दिए ।
आवासीय भवन निर्माण गर्दा २५० वर्ग मिटरसम्मको क्षेत्रमा ३० प्रतिशत र सोभन्दा बढीको क्षेत्रमा ४० प्रतिशत जमिन खाली राख्नुपर्ने निर्देशिकामा उल्लेख छ । सरकारी अर्धसरकारी र सार्वजनिक भवनमा ५० प्रतिशत जमिन खाली राखी नयाँ भवन निर्माण गर्नुपर्ने छ ।
दाङको प्रमुख ब्यापारिक केन्द्रहरुमध्येको एक लमहीमा तिव्र शहरीकरण भएको छ । लमहीलाई सरकारले गत मंसिर १६ गते नगरपालिका घोषणा गरेको थियो । चैलाही र सोनपुर गाविसलाई गाभेर लमही नगरपालिका बनाइएको हो । योसँगै दाङमा चारवटा नगरपालिका भएका छन् । दाङमा घोराही, तुलसीपुर, त्रिपुर र लमही नगरपालिका छन् ।

प्रतिक्रिया 4