+
+
Shares

१० लाखसम्म तिरेर रोमानिया पुगेका ६ सय नेपाली श्रमिक आन्दोलित

तलब र सेवा-सुविधा नपाएको गुनासो

रोमानियास्थित बिसार लजिस्टिक एसआरएल कम्पनीमा कार्यरत करिब ६ सय नेपाली श्रमिकले सम्झौता अनुसार काम, तलब तथा सेवा-सुविधा नपाएको भन्दै शनिबारदेखि आन्दोलन सुरु गरेका हुन् ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८३ मंसिर ८ गते १७:३६

८ मंसिर, काठमाडौं । रोजगारीका लागि लाखौं खर्च गरेर रोमानिया पुगेका नेपाली श्रमिक काम र पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

रोमानियास्थित बिसार लजिस्टिक एसआरएल कम्पनीमा कार्यरत करिब ६ सय नेपाली श्रमिकले सम्झौता अनुसार काम, तलब तथा सेवा-सुविधा नपाएको भन्दै शनिबारदेखि आन्दोलन सुरु गरेका हुन् ।

उनीहरू कम्पनी बाहिर भेला भएर ‘वि वान्ट जस्टिस’ भन्दै नाराबाजी गरिरहेका छन् । नेपालबाट रोजगारीका लागि रोमानिया पुगेका उनीहरूले प्रतिव्यक्ति १० देखि १२ लाख रुपैयाँसम्म खर्च गरेको बताएका छन् ।

तर, यति ठूलो रकम खर्च गरेर युरोप पुगे पनि नियमित काम नपाउँदा ऋण तिर्न र दैनिक खर्च धान्नसमेत समस्या भएको उनीहरूको गुनासो छ ।

एक श्रमिकका अनुसार उनीहरूले महिनामा मुस्किलले दुई–तीन दिन मात्रै काम पाउने गरेका छन् । बाँकी दिन काम नदिएर बस्नुपर्ने अवस्था छ ।

‘१२ लाख रुपैयाँ तिरेर आएको हो, तर एक महिनामा दुई–तीन दिन मात्रै ड्युटी दिन्छन्, बाँकी २७–२८ दिन बिदामा बसाइदिन्छन्,’ ती श्रमिकले भने, ‘बिसार कम्पनीमा काम पाइन्छ भनेर आएका थियौं, यहाँ आएपछि भने अनुसार काम पनि पाएनौं, तलब पनि पाएनौं ।’

श्रमिकहरूको अर्को मुख्य असन्तुष्टि भनेको सम्झौतामा उल्लेख भएको र आफूहरूले पाउने पारिश्रमिकबीचको अन्तर हो । नेपालबाट रोमानिया जानुअघि गरिएको सम्झौतामा मासिक आधारभूत तलब २ हजार ६ सय ९९ रोमानियन ल्यु उल्लेख भए पनि कम्पनीले त्यस अनुसार भुक्तानी नगरेको उनीहरूको गुनासो छ । आवास खर्चका नाममा रकम कटौती गर्न थालेपछि असन्तुष्टि थप चुलिएको हो ।

तर, रोमानियास्थित गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य सुरेन्द्र गौतम भने श्रमिकले दाबी गरेजस्तो तलब नै नदिएको अवस्था नभएको बताउँछन् ।

उनका अनुसार बिसार लजिस्टिक एसआरएलमा नेपाली सहित ६ सयदेखि ७ सय जनासम्म कामदार छन् । त्यसमध्ये करिब ४ सय नेपाली छन् । पछिल्लो समय रोमानियाको आर्थिक गतिविधि सुस्ताएको, कर बढेको र जाडो मौसम सुरु भएसँगै कामको मात्रा घटेका कारण कम्पनीले कामदारको ड्युटी आवर घटाएको उनको भनाइ छ ।

‘पहिला कम्पनीले बस्ने सुविधा नि:शुल्क दिएको थियो, अहिले आवास खर्चबापत केही रकम काट्न थालेपछि श्रमिकको हातमा आउने तलब घटेको हो,’ गौतमले भने, ‘तीन–चार सय ल्यु आवास खर्च कटाउँदा महिनामा ९–१० हजार रुपैयाँसम्म कम हुने भएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।’

उनका अनुसार रोमानियामा कर कट्टीपछि कामदारले पाउने पारिश्रमिकबाट आवास, बिजुली तथा अन्य खर्च कटाउँदा हातमा आउने रकम घटेको छ । तर, कम्पनीले तलब नै नदिएको अवस्था भने नरहेको उनको दाबी छ ।

ठूलो कम्पनी भएकाले कर्मचारीको तलब सम्बन्धी विवरण सरकारी कर कार्यालयमा बुझाउनुपर्ने र तलब भुक्तानीको अभिलेख समेत राखिने भएकाले तलब नदिने अवस्था नरहेको उनले बताए ।

यद्यपि, श्रमिकले पाउने वास्तविक काम, तलब र सुविधाबारे दुवै पक्षका दाबीबीच अन्तर देखिएको छ । श्रमिकहरू आफूहरूलाई सम्झौता अनुसार काम र पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग गरिरहेका छन् भने गौतमले पछिल्लो आर्थिक मन्दी र काम अभावलाई समस्याको मुख्य कारण मानेका छन् ।

रोमानियामा नेपाली श्रमिकको समस्या बढ्दो

गौतमका अनुसार पछिल्लो समय रोमानियामा नेपाली श्रमिकको संख्या उल्लेख्य बढेको छ । उनका अनुसार अहिले त्यहाँ ७५ देखि ८० हजार नेपाली रहेको अनुमान छ । तर, सरकारी अभिलेखमा ५० देखि ५५ हजार हाराहारी मात्रै नेपालीको विवरण रहेको उनको भनाइ छ ।

युरोपेली देशमा रोजगारी आकर्षण बढेसँगै नेपालबाट रोमानिया जाने क्रम पनि बढेको छ । तर, त्यहाँ पुगेपछि काम पाउन कठिन हुने, सम्झौता अनुसार सुविधा नपाइने र ऋणको बोझका कारण श्रमिक थप समस्यामा पर्ने गरेको उनी बताउँछन् ।

‘एजेन्ट र म्यानपावरले राम्रो अवसर छ भनेर पठाउँछन्, तर यहाँ आएपछि अवस्था फरक हुन्छ,’ गौतमले भने, ‘१० लाख रुपैयाँ खर्च गरेर आउनेले महिनामा ६ सय युरो कमाउँदा पनि ऋण तिर्न र खर्च धान्न मुस्किल हुन्छ ।’

उनका अनुसार रोमानियामा नेपाली श्रमिकलाई रोजगारी दिने कम्पनीहरूले स्थानीय कामदारभन्दा बढी समय काम गराउने अपेक्षा समेत राख्ने गरेका छन् ।

विदेशी श्रमिकले कागजी प्रक्रिया पूरा गर्नुपर्ने र रोजगारीसँग जोडिएका अन्य जिम्मेवारी समेत हुने भएकाले उनीहरू थप जोखिममा पर्ने गरेको उनको भनाइ छ ।

गौतमले नेपाली श्रमिकको समस्या समाधानका लागि रोमानियामा नेपालको आधिकारिक कन्सुलर वा दूतावासको व्यवस्था हुनुपर्ने माग पनि गरे ।

अहिले रोमानिया सम्बन्धी कूटनीतिक सेवा जर्मनीस्थित नेपाली दूतावास मार्फत हेर्ने व्यवस्था छ । तर, त्यहाँ सम्पर्क गर्दा पनि प्रभावकारी सहयोग पाउन कठिन हुने गरेको उनको गुनासो छ ।

‘यहाँ नेपालीको संख्या धेरै छ, तर समस्या पर्दा सम्पर्क गर्ने आधिकारिक निकाय छैन,’ उनले भने, ‘कसैको मृत्यु हुँदा शव नेपाल पठाउन समेत चन्दा उठाउनुपर्ने अवस्था छ, श्रम गरेर विदेश आएका नेपालीले समस्या पर्दा राज्यबाट सहयोग पाउनुपर्छ ।’

रोमानियामा नेपाली श्रमिकको संख्या बढेसँगै मृत्यु, हराउने, आत्महत्या तथा अन्य समस्याका घटना पनि आउने गरेको उनले बताए । यस्ता घटनामा समयमै सहजीकरण र सहयोग गर्न नेपाल सरकारले चासो दिनुपर्ने उनको भनाइ छ ।

रोमानियामा रहेका नेपाली समुदाय तथा विभिन्न संघसंस्थाले समेत आन्दोलनरत श्रमिकका माग सम्बोधन गर्न सरोकारवालासँग अपिल गरेका छन् । उनीहरूले प्रभावित श्रमिकको समस्या निष्पक्ष रूपमा छानबिन गर्न र श्रमिकको अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका हुन् ।

समस्यामा परेका श्रमिकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग तत्काल कूटनीतिक पहल गर्न माग गरेका छन् ।

त्यस्तै जर्मनीस्थित नेपाली दूतावासलाई कम्पनी र प्रभावित श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी वास्तविक अवस्था बुझ्न तथा समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।

लाखौं रुपैयाँ ऋण लिएर वैदेशिक रोजगारीमा जाने नेपालीले गन्तव्य मुलुक पुगेपछि सम्झौता अनुसार काम र पारिश्रमिक नपाउने समस्या नयाँ होइन ।

रोमानियाको पछिल्लो घटनाले वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीले गर्ने प्रतिबद्धता, रोजगारदातासँग भएको सम्झौता र गन्तव्य मुलुकमा श्रमिकले पाउने वास्तविक सुविधाबीचको अन्तर फेरि उजागर गरेको छ ।

यस विषयमा बर्लिनमा रहेको नेपाली दूतावासले भने नेपालीहरू आन्दोलित भएको विषय र उनीहरूका समस्याका विषयमा जानकारी नभएको जनाएको छ ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?