८ मंसिर, काठमाडौं । वैभव सूर्यवंशीको कीर्तिमानी दोहोरो शतकमा भारत ए ले एसीसी मेन्स राइजिङ स्टार्स एसिया कप २०२६ मा यूएईलाई सहजै पराजित गरेको छ।
सूर्यवंशीले ५३ बलमा २०४ रन बनाउँदै लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो शतक र सबैभन्दा कम बलमा दोहोरो शतक बनाउने कीर्तिमान कायम गरेका छन्।
दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी क्रिकेट मैदानमा यूएईले दिएको २५० रनको लक्ष्य भारतले १५ ओभरभित्रै ३ विकेट मात्र गुमाएर पूरा गर्यो । जसमध्ये २०४ रन वैभव एक्लैले बनाए ।
सूर्यवंशीले आक्रामक ब्याटिङ गरेका थिए। उनले २८ बलमै शतक पूरा गर्दै लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान आफ्नो नाममा लेखाए। यसअघि अस्ट्रेलियाका जेक फ्रेजर म्याकगर्कले २९ बलमा शतक बनाएका थिए।
सूर्यवंशीले अर्को १०० रन बनाउन थप २४ बल मात्र लगाए । उनले ७ चौका र २८ छक्का प्रहार गरे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४९ रन बनाएको थियो। उसका लागि हरप्रित सिंह भाटियाले १४४ बलमा १३० रन बनाए। उनले १२ चौका र चार छक्का प्रहार गरे।
यूएईले सुरुवाती ६ ओभरभित्रै दुई विकेट गुमाएको थियो। त्यसपछि भाटियाले मुहम्मद शाहदादसँग तेस्रो विकेटका लागि ७१ रनको साझेदारी गरे। शाहदादले ४६ बलमा २८ रन बनाए।
भाटियाले इथान डिसुजासँग चौथो विकेटका लागि ६० रन थपे। डिसुजाले ३७ बलमा २५ रन बनाए। त्यसपछि लगातार विकेट गुमाए पनि भाटियाले इनिङ्स सम्हाल्दै १२० बलमा आफ्नो सातौँ लिस्ट ए शतक पूरा गरेका थिए।
भारत ए ले यसअघि नेपाललाई ३०६ रनले पराजित गरेको थियो भने पाकिस्तानसँग ४९ रनले पराजित भएको थियो ।
प्रतिक्रिया 4