Comments Add Comment

एमालेको प्रशिक्षणमा जय मधेसको नारा लागेपछि…

UML-Bara

सुभाषप्रसाद साह

२२ कात्तिक, बारा । नेकपा एमालेको गोप्य प्रशिक्षण कार्यक्रममै सहभागि एमालेका मधेसी युवा नेताहरुले लाल सलाम, जय मधेस, लाल मधेसको नारा लगाउँदै जारी मधेस आन्दोलनको सम्बोधन गर्न नेतृत्वलाई दबाव दिएका छन् ।

एमाले प्रशिक्षण बिभाग बाराको आयोजनामा गढीमाई नगरपालिकाको सिमरामा शनिबार राती अबेरसम्म कार्यकर्ता प्रशिक्षण कार्यक्रम चलेको थियो । सो कार्यक्रममा एमाले उपमहासचिव घनश्याम भुसाल, पोलिटव्युरो सदस्य शत्रुधन महतो, केन्द्रीय सदस्य दिनेश राई, पूर्वमन्त्री पुरुषोत्तम पौडललगायतको बिशेष उपस्थिति थियो ।

नेपाली कम्युनिष्ट आन्दोलन, मधेस समस्या र नेपाल भारतको सम्बन्धबारे युवाहरुको भूमिका बिषयक कार्यक्रम थियो । कार्यक्रममा कार्यकर्ताले पालैपालो भनाइ राख्ने र मञ्चमा आसिन नेताहरुले जवाफ दिने कार्यक्रम थियो ।

कार्यक्रममा सहभागीहरुले धारणा राख्दा राख्दै नेताहरुले बिचमै रोक्थे र अर्को व्यक्तिलाई बोल्न भन्थे । यसैक्रममा निरज साहले बोल्दाबोल्दै उनलाई पनि बिचमै रोकिएपछि विरोधमा हुटिङ सुरु भयो । कार्यकर्ताहरुले लाल मधेस, जयमधेसको नारा लगाउन थाले । त्यसपछि नेताहरु कार्यकर्ताहरुको कुरा सुन्न बाध्य भएका थिए ।

धारणा राख्ने अधिकांश युवा नेताहरुले शान्तिपूर्ण आन्दोलनले मधेसको माग सम्बोधन नभएकाले बाध्य भएर नाकाबन्दी आन्दोलन गर्नुपरेको भन्दै त्यसलाई राष्ट्रिय मिडियाले गलत व्याख्या गरेर सम्पूर्ण मधेसीलाई बदनाम गरेको आरोप लगाए । गैरएमाले पार्टीमा रहेका मधेसीका साथै एमालेमै रहेका मधेसीहरुलाई समेत अधिकारविहीन बनाउने षडयन्त्रका साथ संविधान आएको भन्दै उनीहरुले त्यसमा संशोधन नभए नमान्ने चेतावनी दिए ।

अनेरास्ववियूका पूर्वकेन्द्रीय सदस्य युवा नेता उमेश गुप्ताले मधेस आन्दोलन मधेसी नेपालीहरुले गरिरहेको र उनीहरुको माग जायज रहेको भन्दै छिटोभन्दा छिटो माग सम्बोधन गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । कांग्रेस, एमाले, एमाओवादीसहितका दलमा रहेका पहाडी नेताहरु एकजुट भएर अन्तरिम संविधान २०६३ मा उल्लेख गरिएका अधिकारहरु समेत कटौती गर्दै मधेस र मधेसीलाई राजनीतिक दास बनाउने प्रपञ्च रहेको भन्दै उनले विरोध जनाए ।

बारा र पर्साका युवा कार्यकर्ताहरुले पूर्व-पश्चिम हुलाकी राजमार्गको ११ सय ५५ किलोमिटर लामो मानव साङ्लो प्रदर्शनलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले माखे साङ्लो भनेर होच्याएको भन्दै ओलीलाई ‘माखे प्रधानमन्त्री’को संज्ञा दिएका थिए ।

एमाले अध्यक्ष केपी ओली लगायत नेताहरुको संकिर्ण सोच र विवादास्पद अभिव्यक्तिले मधेस आन्दोलन लम्विएको, त्यसबाट एमालेले ठूलो क्षति व्यहोरिरहेको तथा अहिले देश नै संकटमा परेको भन्दै उनले नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

युवा नेताहरुको कुरा सुनिसकेपछि उपमहासचिव घनश्याम भुसालले मधेस आन्दोलनका जायज माग सम्बोधन गर्ने आश्वासन दिएका थिए । केही महत्वपूर्ण कुरा संविधानमा राख्न छुटेको भन्दै उनले त्यसलाई संशोधन गर्दै समाबेश गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम प्रशिक्षण बिभागका प्रमुख मनोज पौडेलको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment