२८ कात्तिक, काठमाडौं । मधेस समस्या समाधानका लागि दबाव दिन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित नागरिक अगुवाहरुको टोली सक्रिय बनेको छ ।
भारतले गरेको नाकाबन्दी एवं तराई मधेसका जारी आन्दोलनबाट देशलाई चाँडो निकास दिनका लागि सत्तपक्षलाई दबाव दिने उद्देश्यले नागरिक समाजका अगुवाहरुले शनिबारबाट अभियान थालेका हुन् ।
नागरिक अगुवाहरुको टोलीमा डा. भट्टराईसहित पिताम्बर शर्मा, सीके लाल, देवेन्द्रराज पाण्डे र कृष्ण हाछेथु छन् । टोलीले शनिबार बिहान एमाओवादी अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक प्रचण्डलाई भेटेका छन् ।
भेटमा मधेस समस्याको समाधान गरेर चाँडो निकास लिन आग्रह गरेको टोलीमा रहेका हाछेथुले अनलाइनखबरलाई बताए । उनले भने, यसलाई धेरै लम्ब्याउन दिनुभएन, चाँडै निकास दिनुपर्यो भन्यौं । प्रचण्डले पहल गरिरहेको छु, भन्नुभएको छ ।’
पूर्वप्रधानमन्त्री डा. भट्टराईले तीन महिनादेखि तराई मधेसमा जारी आन्दोलन र दुई महिनादेखिको अघोषित भारतीय नाकाबन्दीबाट अस्त व्यस्त बनेको जनजीवन र अर्थतन्त्रलाई सार्थक निकास दिन अब सचेत नागरिकहरु सक्रिय बन्ने बेला आएको बताएका छन् ।
डा. भट्टराईसहितको टोलीले आजै अरु नेताहरुलाई पनि भेटेर समस्या समाधानका लागि दबाव दिने तयारी गरेको छ ।
प्रतिक्रिया 4