१९ चैत, काठमाडौं । तेह्रथुमको लालिगुराँस नगरपालिकामा दुईवटा घोडालाई अत्यन्तै निर्ममतापूर्वक कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त घटनामा एक घोडा मालिकले घोडाहरू राम्ररी नहिँडेको भन्दै लठ्ठीले अत्यधिक कुटपिट गरेको देखिन्छ ।
घोडालाई अमानवीय तरिकाले कुटिरहेको बेला एक महिलाले लठ्ठी खोस्न खोज्दा उनलाई पनि रिसले हान्ने प्रयास गरेको भिडियोमा देखिएको छ ।
घटनास्थलमा नगर प्रहरी पनि उपस्थित रहेको तर उनीहरूले कुनै हस्तक्षेप नगरेको स्थानीयबासीहरूको गुनासो छ । ‘नगर प्रहरीले रोक्नुपर्नेमा वास्ता नै गरेनन्’ भन्दै स्थानीयहरूले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् ।
नगरप्रमुख अर्जुन माबोहाङ के भन्छन् ?
भाइरल भिडियोपछि लालिगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङसँग फोनमा कुराकानी भएको छ । उनले घटनाको भोलिपल्ट नै घोडा कुट्ने व्यक्तिसँग स्पष्टीकरण मागिएको उनले जानकारी दिए ।
‘हामीले स्पष्टीकरण लिएका छौं’ नगर प्रमुख माबोहाङले भने, ‘प्रहरीले घटनाको भोलिपल्टै उनलाई पक्राउ गरिसकेको छ । मुद्दा चलाउने तयारी भइरहेको छ ।’ माबोहाङका अनुसार घोडाले टोक्न खोजेपछि पिटेको भनी ती व्यक्तिले स्पष्टीकरण दिएका छन् ।
नगर प्रमुखले नगर प्रहरीको भूमिकाप्रति पनि ध्यानाकर्षण गराएका छन् । ‘नगरप्रहरीहरूले यस्ता कुरामा संयमित हुनुपर्छ र रोक्नुपर्छ’ उनले भने, ‘मैले पहिले पनि पशुपन्छीमाथि हुने क्रुर व्यवहार पनि रोक्नु भनेको थिएँ, फेरि एक पटक समन्वय गर्नुपर्छ ।’
नगर प्रमुखका माबोहाङका अनुसार ती व्यक्ति ५५–५६ वर्षका बुढो मान्छे हुन् । ‘घोडा पनि थाकेको थियो, उनी पनि थाकेका थिए होला यस्तोमा घोडा हिँडेन भनेर त्यसरी कुटपिट गर्न हुँदैन’ माबोहाङ भन्छन्, ‘मानिस मात्र होइन, घोडा पनि थाक्छ भन्ने कुरा उनले बुझ्न जरुरी छ ।’
के हुन्छ कारबाही ?
नेपालमा पशुमाथि क्रूर व्यवहार गर्नेलाई पशुपन्छी सम्बन्धी कसूर तथा सजाय ऐन अनुसार कारबाही हुन्छ । यस ऐनअनुसार कसैले पशुलाई अनावश्यक पीडा दिने, कुटपिट गर्ने वा अमानवीय व्यवहार गरेमा त्यो कसूर मानिन्छ ।
यस्तो कसूर प्रमाणित भएमा दोषीलाई जरिवाना, कैद वा दुवै सजाय हुन सक्छ । साथै, पशु संरक्षणको दायित्व पूरा नगरेको वा लापरवाही गरेको ठहरिएमा पनि कानुनी कारबाही हुने व्यवस्था छ । त्यसैले घोडा कुट्ने जस्तो घटना कानुनअनुसार दण्डनीय हो र सम्बन्धित व्यक्तिमाथि अनुसन्धानपछि उचित सजाय गरिन्छ ।
प्रतिक्रिया 4