+
+

भारत बिना जलविद्युत आयोजनाको निर्माण गर्न सकिँदैनः नेता नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत २१ गते १९:२२

Madhav-Nepal
२१ चैत, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपालमा भारतको सहयोगबिना जलविद्युत आयोजनाहरु बनाउन सम्भव नरहेको बताएका छन् ।

नेपाल इन्जिनियरिङ पेशाकर्मी संघले आइतबार काठमाडौमा गरेको कार्यक्रममा एमाले नेता नेपालले ठूला आयोजनाबाट उत्पादित सबै बिजुली नेपालभित्र खपत नहुने भएकाले भारतको सहयोग बिना विद्युत आयोजना सम्पन्न गर्न सम्भव नहुने बताए ।

उनले भारतको चासो रहेका नदीबाट नेपाल एक्लैले विजुली निकाल्ने कुरा कल्पना गर्न नसकिने दावी गरे ।

उनलेे राष्ट्रिय हित प्रवर्द्धन हुने गरी भारतसँग सहमति गरेर जलविद्युतको विकास गर्नु दुवै मुलुकको हितमा रहेको बताए ।

एमाले नेता नेपालले जलविद्युत आयोजनाको काममा मन्त्रालयहरुले विभिन्न बखेडा झिकेर अवरोध पुर्‍याउने गरेको भन्दै सबै अवरोध चिरेर काम अगाडि बढाउनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा डेस्क स्थापना गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा पूर्व उर्जामन्त्री रहेका एमाले सचिव गोकर्ण विष्टले जलस्रोतको विकासका सम्बन्धमा विज्ञहरुले मुलुकको हित प्रबर्द्धन हुने गरी सरकारलाई सुझाव दिनुपर्ने उल्लेख गरे ।

उनले पञ्चेश्वर वहुउद्देश्यीय आयोजना कुनै पनि हालतमा पूरा गरिनुपर्ने पनि बताए । कार्यक्रममा पूर्वजलस्रोत राज्यमन्त्री लक्ष्मणप्रसाद घिमिरेले मुलुकको समृद्धिको मुख्य आधारका रुपमा रहेका जलविद्युत आयोजनाको विकासका मामिलामा राजनीतिक दलहरु विभाजित हुन नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?