+
+

नेपाल अमेरिका फिल्म फेस्टिभलमा ‘गाउँ आएको बाटो’को अमेरिका प्रिमियर हुँदै

‘द रेड सुटकेस’ क्लोजिङ फिल्म हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ५ गते १२:०३

काठमाडौं । नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले ओपनिङ र क्लोजिङ फिल्मको घोषणा गरेको छ । ओपनिङ फिल्मको रुपमा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को अमेरिका प्रिमियर तय भएको छ । जुन २० मा फिल्मको स्क्रिनिङ हुने जनाइएको छ ।

सन् २०२३ मा टोरन्टोमा विश्व प्रिमियरसँगै ‘गाउँ आएको बाटो’ले बुसान, मुम्बई, बेइजिङ लगायतका प्रसिद्ध फेस्टिभलमा सहभागिता जनाइसकेको छ । नेपाल र डायस्पोरा रिलिज चाहिँ जेठ २५ गते (जुन ७)मा हुँदैछ ।

आमोद राईले निर्माण गरेको फिल्ममा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको अभिनय छ । गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतारचढावको कथा भन्छ ।

फेस्टिभल समापन फिल्मको रुपमा ‘द रेड सुटकेस’ स्क्रिनिङ हुनेछ । भेनिस फिल्म फेस्टिभलमा विश्व प्रिमियर भैसकेको यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् ।

फेस्टिभल प्रमुख पूर्णसिंह बराइली (बायाँ) र अभिनेता राजेश हमाल : फाइल तस्वीर

फिल्ममा सौगात मल्ल, बिपिन कार्की, सृष्टि श्रेष्ठको शीर्ष भूमिका छ । वैदेशिक रोजगारीको सामाजिक आयामलाई प्रस्तुत गर्ने यो फिल्मले उत्कृष्ट समीक्षा प्राप्त गरेको छ । अमेरिकामा भने यो पहिलोपटक स्क्रिनिङ हुन लागेको हो ।

फेस्टिभलको पूर्ण लाइनअप भने चाँडै सार्वजनिक गर्ने तयारी रहेको आयोजक नेपाल अमेरिका फिल्म सोसाइटीका प्रमुख पूर्णसिंह बराइलीले जानकारी दिए । ‘फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ । यसपटकको संस्करणलाई भव्य तुल्याउने हाम्रो तयारी छ’ उनले भने ।

‘गाउँ आएको बाटो’ फिल्मका निर्माता राईले फेस्टिभलको हिस्सा हुन पाउँदा खुसी लागेको बताए । ‘सांस्कृतिक विविधतालाई मनाउने यो राम्रो अवसर हो’ उनले भने ।

‘द रेड सुटकेस’का निर्माता पोखरेलले फिल्मको छनोट हुनु सम्मानको कुरा भएको बताए । नेपाल अमेरिका फिल्म फेस्टिभल अमेरिकाको मेरिल्याण्डमा आयोजना हुँदै आएको छ । यसवर्षको संस्करण जुन २० देखि २३ (असार ६ देखि ९)सम्म आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?