News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगत प्रसाद जोशीले प्रतिनिधिसभामा युवामाथि लगानी, शिक्षा, स्वास्थ्य र संस्कारमा राज्यको ध्यान दिनुपर्ने बताए ।
- उनले तराईका सीमावर्ती भूभागमा लागूऔषध दुर्व्यसनी बढ्दै गएको र खुला सीमानाबाट लागूपदार्थ भित्रिएको बताए ।
- जोशीले भजनीमा सुरक्षा निकायसँग पटकपटक अनुरोध गर्दा पनि लागूपदार्थको तस्करी नरोकिएको र युवालाई जोगाउन नसके भविष्य गम्भीर हुने बताए ।
३० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगत प्रसाद जोशीले विगतमा जे रोपिएको थियो अहिले त्यही फलेको र आहिले जो रोप्यो भविष्यमा त्यही फल्ने बताएका छन् ।
युवामाथिको लगानी र राज्यको नीतितर्फ संकेत गर्दै उनले यस्तो बताएका हुन् ।
प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले युवाहरू देशको भविष्य भएको बताए । युवाहरूलाई शिक्षा, स्वास्थ्य र संस्कार सिकाउन आवश्यक रहेको सरकारलाई सुझाए ।
तर, युवाहरू लागूपदार्थमा नजिएको भनेर सरकारको ध्यानाकर्षण गरे ।
‘अहिले तराईको सीमाना जोडिएको भू–भागहरू छन् । ती भू–भागहरूमा लागूऔषध दुर्व्यसनी एकदमै बढ्दै गएको छ,’ उनले भने, ‘खुला सीमानाबाट लागू पदार्थ खुलमखुला रुपमा भित्रिने गरेका कुराहरू हामीले सुनिरहेका छौं ।’
यहाँनेर उनले राज्यको ध्यानाकर्षण गराउँदा पनि सीमा क्षेत्रमा लागूपदार्थको तस्करी नरोकिएको बताएका हुन् ।
‘मेरो निर्वाचन क्षेत्रको भजनीमा मैले सुरक्षा निकायसँग बारम्बार अनुरोध गरेको छु, भनेको छु, निर्देशन दिएको छु, तपाईंहरू यो रोक्नका लागि पहल गर्नुहोस् भन्दा भन्दा ती घटाहरू दिनप्रतिदिन बढिरहेका छन् ।’
युवाहरूलाई लागू औषधबाट छुटाउन नसके भविष्यमा देशकै लागि त्यो गम्भीर विषय भएर रहने उनले बताएका छन् ।
उनी भन्छन्, ‘आजको दिनमा हामीले युवाहरूलाई लागू औषधबाट छुटाउन सकेनौं भने भोलिको दिनको हाम्रो नेपाल भनेको ट्यापे, गँजेडी र लागूऔषध प्रयोगकर्ताको मुलुक हुनेछ ।’
प्रतिक्रिया 4