Comments Add Comment

भक्तपुरका अवैध टहरा, होटल तथा रेस्टुरेन्ट भत्काइने

१२ जेठ, भक्तपुर। भक्तपुर जिल्ला वन कार्यालयले नगरकोट नगरपालिकास्थित खरिपाटीदेखि नगरकोट टावरसम्म अवैधानिक रुपमा वन अतिक्रमण गरेर बनाइएका टहरा र घर भत्काउने भएको छ ।

road-construction-and-pedasखरिपाटीदेखि नगरकोटसम्म वन र सडक अतिक्रमण गरेर टहरा, भट्टी पसल र रेस्टुरेन्ट तथा गेस्ट हाउससमेत निर्माण गरेपछि स्थानीयवासीको चर्को विरोधका कारण अतिक्रमित टहरा तथा रेस्टुरेन्ट भत्काउने भएको हो ।

अवैधानिक रुपमा खुलेका यस्ता टहरा र रेस्टुरेन्ट सञ्चालकले वन कार्यालय, सडक डिभिजन कार्यालय र नगरकोट नगरपालिकासँग समेत स्वीकृति नलिई सञ्चालन गर्दा लाखौँको राजस्वसमेत ठगी गरेका छन् ।

नगरपालिका गठन हुनुभन्दा अगाडि नै यस्ता होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आइसकेका र भूकम्पपछि सयौँ टहरा थपिएका छन् । जङ्गल फँडानी गर्दै निर्माण हुन थालेपछि स्थानीयवासीकै विरोधका कारण सडक तथा जङ्गल अतिक्रमण गरी बनाइएका टहरा, रेस्टुरेन्ट भत्काउन जिल्ला वन कार्यालयले १५ दिने सूचना जारी गरेको छ ।

जिल्ला वन कार्यालयका प्रमुख सूर्यकान्त सिग्देलले वन क्षेत्रभित्र बनेका र वन अतिक्रमण गरेर बनाइएको अवैधानिक घर, टहरा तथा रेस्टुरेन्ट आफँै भत्काउन सूचना जारी गरिसकिएको बताए । उनले भने , “जिल्ला प्रशासन कार्यालय, प्रहरी परिसर भक्तपुर, सशस्त्र प्रहरी सबै तयारी अवस्थामा रहेको छ, वन कार्यालयले अतिक्रमण गरेका संरचना भत्काउन सूचना जारी गरिसकेको छ, सूचनाको अटेर गरे डोजर लाएरै भत्काउँछौँ ।”

सूचनाको म्याद सकिएलगत्तै अन्तिम मौका दिने बताउँदै उनले आफैँले त्यस्ता संरचना नभत्काए जेठ महिनाभित्र सबै वन अतिक्रमण गरेर बनाइएका संरचना भत्काउने उहाँको भनाइ थियो । डिभिजन सडक कार्यालयसँग समेत समन्वय गरेर सडक मिचेर बनाइएको संरचना पनि भत्काइने भएको हो ।

नगरकोट जाने सडक र वन अतिक्रमण गरेर होटल, पसल, रेस्टुरेन्ट सञ्चालन गर्नेदेखि कखुरा पाल्ने कामसमेत भएको स्थानीयवासीको गुनासो छ । यस्ता टहराले नगरकोटमा विकृति फैलाएको भन्दै जङ्गल फँडानी गरेर हजारौँ टहरा बनेकाले तत्काल भत्काउनुपर्ने माग गरेका छन् ।

नगरकोटमा सडक र वन अतिक्रमण गरेर करिब ३०० वटा टहरा, होटल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको स्थानीयवासीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment