Comments Add Comment

म्याग्दीमा २०० घर पहिरोको जोखिममा

११ असार, म्याग्दी । वर्षात् सुरु भएसँगै म्याग्दीको ग्रामीण भेगका बस्तीमा पहिरोको जोखिम बढेको छ ।

Pahiroकमजोर भू–बनोट, भूमिगत पानी र अव्यवस्थित तवरले खनिएको सडकको कारण जिल्लामा बर्सेनि बाढी पहिरोको जोखिम बढ्दै गएको छ ।

जिल्लाको अधिकांश गाविसको कुनै न कुनै बस्ती पहिरोको जोखिममा रहेको जिल्ला भूसंरक्षण अधिृकत दिवाकर पौडेलले बताए । उनका अनुसार यो वर्ष जिल्लाका करिब एक हजार २०० घरधुरी पहिरोको जोखिममा रहेका छन् ।

सबैभन्दा धेरै मुनाको दर गाउँका करिब १३० घरधुरी र ओखरबोटको जुगेपानीका ११० घरधुरी पहिरोको उच्च जोखिममा रहेको जिल्ला भूसंरक्षण कार्यालयले जनाएको छ ।

पहिरो जाँदा गत वर्ष जुगेपानीका एक दर्जन परिवार पूर्णरुपमा विस्थापित भएका थिए । दरमा बस्ती माथिबाट पहिरो खस्न थालेपछि बर्खा कसरी कटाउने भन्ने चिन्ता बढेको स्थानीय बलसिंह बुढाले जानकारी दिए ।  “एक वर्षदेखि जमिन चिराचिरा पर्न थालेको हो, भिरालो पाखो हुँदै बस्ती माथि आएर पानी एकत्रित हुन्छ” उनले भने,  “कतिबेला पूरै भाग खसेर गाउँ नै पुर्ने हो भन्ने डर छ ।”

जिल्ला सदरमुकाम बेनीदेखि एकदिनको पैदलदूरीमा पर्ने यी दुई गाविस पहिरोबाट बर्सेनि प्रभावित हुँदै आएका छन् । जिल्लाको पात्लेखेतको बान्द्रखाल्टी पहिरोबाट करिब ६० घरधुरी, बरङ्जाको खर्सुपानी पहिरोबाट करिब ५० घरधुरी, शिखको तल्लो गाउँमा करिब १३० घरधुरी पहिरोको जोखिममा रहेको भूसंरक्षण अधिकृत पौडेलले बताए ।

दानाको घट्टेखोलामा बर्सेनि आउने बाढी पहिरोबाट समेत त्यहाँका बासिन्दा जोखिममा रहेको बताइएको छ । यता पाखापानी, रायखोर पहिरोले पनि त्यहाँको बस्ती जोखिममा छन् । बर्खा लागेर पहिरोको जोखिम बढेसँगै ग्याबिन माग गर्न आउनेको समेत सङ्ख्या बढेको अधिकृत पौडेलले जानकारी दिए ।

पहिरो गएको क्षेत्रमा जिविस, भूसंरक्षण कार्यालयलगायत विभिन्न निकायले जोखिम न्यूनीकरणको लागि वृक्षारोपण, भलपानी तर्काउने, ग्याबिन भर्नेलगायतको काम गर्दै आएका छन् । कमजोर भूगोल र पर्याप्त बजेट नहुँदा पहिरो रोकथामको लागि बर्सेनि सञ्चालन हुने साना योजनाले हरेक वर्ष आउने बाढी पहिरोको जोखिमलाई न्यूनीकरण गर्न कठिनाइ भइरहेको छ ।

पहिरोको जोखिममा परेका बस्तीका बासिन्दाले समेत चासो नदिने र भूगोल कमजोर हुँदा पहिरो नियन्त्रण योजना थप चुनौतीपूर्ण बन्दै गएको जिल्ला भूसंरक्षण कार्यालयका अधिकृत पौडेलको भनाइ छ । जिल्लामा भलबाढीको व्यवस्थित निकास नहुनु, कमजोर भू–बनोट र अव्यवस्थित र विनासमुखी विकासको कारण हरेक वर्ष बाढी पहिरोको जोखिम र प्रभाव बढ्दै गएको हो ।

जिल्लामा बाढी पहिरोको जोखिम बढेसँगै जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम न्यूनीकरण, विपद्पछिको उद्धार र राहतको लागि समेत आवश्यक तयारी थालेको छ । जिल्लास्थित सरोकारवालाको समन्वयमा विपद् न्यूनीकरणको लागि सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment