Comments Add Comment

शुल्क मिनाहाको माग गर्दै पोखरा विश्वविद्यालयमा आन्दोलन

pokhara uni१४ असार, पोखरा । पुनःपरीक्षामा लिईने शुल्क मिनाहा गर्न माग गर्दै आन्दोलित पोखरा विश्वविद्यालयका विद्यार्थीलाई प्रहरीले लाठिचार्ज गरेको छ । विश्वविद्यालयले पहिलोपटक पुनः परीक्षामा शुल्क लगाएपछि त्यसबिरुद्ध मंगलबार विहान नाराबाजीमा उत्रिएका विद्यार्थीमाथी प्रहरीले लाठिचार्ज गरेको हो ।

लाठिचार्जबाट विद्यार्थीहरु सुदन पौडेल, विवेक श्रेष्ठ, अभि राना, विवेक यादव, किरण केसी घाइते भएका छन् । प्रहरीको कुटाईबाट छात्राहरु कविता सिग्देल, प्रमिला पौडेल, मञ्जु आचार्य, समिक्षा सिग्देल, अस्मीता वराल र ज्योति श्रेष्ठ पनि घाइते भएका छन् । घाइतेहरुको छाती, ढाड, खुट्टा र हातमा चोट लागेको विद्यार्थी नेता सुरेश वरालले जानकारी दिए । घाइतेको स्थानीय मेडिकल हलमा उपचार गरिएको छ ।

शान्तिपूर्ण आन्दोलनमा पोखरा विश्वविद्यालयका डिनको निर्देशनमा प्रहरीले जथाभावी लाठिचार्ज गरेको विद्यार्थीको आरोप छ । प्रहरीले लाठि, लात्ति र मुडि्कले प्रहार गर्नुका साथै छात्राहरुमाथी पनि पुरुष प्रहरीले हातपात गरेको विद्यार्थीहरुको आरोप छ । त्यस्तै, लाठिचार्जको भिडियो खिचेको भन्दै प्रहरीले विद्यार्थीको मोवाईल र क्यामरा पनि खोसेको विद्यार्थीले बताएका छन् । यस क्रममा प्रहरीले प्रविन न्यौपाने र सुरज केसीलाई नियन्त्रणमा लिएको बताइएको छ ।

यसअघिका वर्षहरुमा पुनःपरीक्षामा शुल्क लिईने गरिएको थिएन । विश्वविद्यालय यसवर्ष तीन सय रुपैयाँ शुल्क लिएर परिक्षा फारम भर्न सूचना निकालेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । निःशुल्क फारम भर्न पाउनुपर्ने भन्दै विद्यार्थीहरुले मंगलबार विहान नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । कुनैपनि विद्यार्थी संगठनको संलग्नता बिनानै स्वतन्त्र रुपमा विद्यार्थीले आन्दोलन गरेको उनीहरुले बताएका छन् ।

विद्यार्थी आन्दोलित भएपछि पोखरा विश्वविद्यालयले लिने विविए दोश्रो सेमेष्टर र विविएडिआई दोश्रो सेमेष्टरको परीक्षा स्थगित भएको छ । परीक्षार्थीले आन्दोलनलाई समर्थन गर्दै नाराबाजी गर्न थालेपछि विश्वविद्यालयले सूचना निकाले परीक्षा स्थगित गरेको हो ।

यसैबीच, प्रहरीले ज्यादती गरेको भन्दै विद्यार्थीले आन्दोलन थप सशक्त बनाउने बताएका छन् । उनीहरुले डिनले वार्ता नगर्ने अडान राखेको तथा विश्वविद्यालय हाताभित्र प्रहरी प्रवेश गराएर लाठिचार्ज गर्न लगाएको विरोधमा आन्दोलन सशक्त पार्ने निर्णय भएको विद्यार्थी पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment