News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा विश्वविद्यालयका ५१ शिक्षक-कर्मचारीले अध्ययन बिदा दुरुपयोग गर्दा विश्वविद्यालयलाई १ करोड १२ लाख २६ हजार रुपैयाँ नोक्सानी भएको छ ।
- त्रिभुवन विश्वविद्यालयका ३९८ प्राध्यापकले अध्ययन बिदा दुरुपयोग गरेकोमा हालसम्म ४४ जनाले ११ करोड रुपैयाँ फिर्ता गरेका छन् ।
- सरकारले विभिन्न बिदा स्वीकृत गराई काममा नफर्किएका ७ हजार ५९ निजामती कर्मचारीको अवस्था पत्ता लगाउन खोजी शुरू गरेको छ ।
२५ जेठ, काठमाडौं । पोखरा विश्वविद्यालयका शिक्षक-कर्मचारीले अध्ययन बिदा दुरुपयोग गरेको पाइएको छ । २०७४ सालदेखि विश्वविद्यालयका ५१ जना शिक्षक-कर्मचारी अध्ययनका लागि स्वदेश तथा विदेश गएका छन् । तर उनीहरूले कबुलियतअनुसार काम नगरेको देखिएको छ ।
महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा ५१ जना कर्मचारीमध्ये ३ कर्मचारीले कबुलियतनामाअनुसार कार्य नगरेको उल्लेख गरिएको छ । केहीले आंशिक रूपमा मात्र काम गरेको, केही विश्वविद्यालयको स्वीकृति नलिई पुनः अर्को शैक्षिक उपाधि गर्न गएको पाइएको छ ।
यसरी अध्ययन बिदा दुरुपयोग गर्दा पोखरा विश्वविद्यालयलाई १ करोड १२ लाख २६ हजार रुपैयाँ नोक्सानी भएको छ । उक्त रकममा १० प्रतिशत ब्याजसहित असुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा भनिएको छ ।
पोखरा विश्वविद्यालयका अनुसार अध्ययन बिदा लिएर पूरा समय काम गर्ने केही प्राध्यापकले भने रकम फिर्तासमेत गरेका छन् । ‘एक-दुई जनाले पैसा फिर्ता गर्नुभएको छ,’ निमित्त उपकुलपति प्रा.डा. विष्णुराज तिवारीले भने ।
पोखरा विश्वविद्यालय शिक्षक-कर्मचारी नियमावली २०५५ को नियम २७ मा अध्ययन बिदापश्चात् विश्वविद्यालयको सेवामा नफर्किएमा, फर्किए पनि तोकिएको अवधिसम्म काम नगरी अनुपस्थित रहेमा, सेवा छाडेका शिक्षक-कर्मचारीहरूबाट अध्ययन बिदामा रहँदा विश्वविद्यालयबाट प्राप्त गरेको तलब, भत्ता, सुविधा र सो रकमको वार्षिक १० प्रतिशतका दरले हुने ब्याजको दोब्बर रकम असुल गर्नुपर्ने व्यवस्था छ ।
पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. केशरजंग बराल योजनाबद्ध ढंगले अध्ययन बिदामा नपठाउँदा समस्या आएको बताउँछन् । २०६८ मा उनी उपकुलपति भएको समयमा पनि एक जना प्राध्यापक जानकारी नै नगराई अध्ययन बिदामा गएका थिए ।
‘एक जनालाई फर्काएका थियौं । मेरो कार्यकालमा बिदाको दुरुपयोग भएको थिएन,’ उनले भने, ‘पछि अध्ययन बिदामा गएर नफर्किने क्रम बढ्यो । योजनाबद्ध ढंगले पठाउनु पर्ने हो । अध्ययन बिदा व्यवस्थित गर्नुपर्छ ।’ पोखरा विश्वविद्यालयमा २०७४ पछि अध्ययन बिदामा बस्ने क्रम बढेको हो ।
विज्ञ शिक्षक उत्पादन गर्न विश्वविद्यालयले आफ्ना शिक्षक कर्मचारीलाई तलबी अध्ययन बिदा दिने गरेको छ । तर विदेशमा गएपछि उतै लुक्ने गरेको पाइएको छ । अध्ययन बिदामा बस्दा सेवा-सुविधा पनि लिने र बिदा सकिएपछि उतै लुक्ने गरेको पाइएको हो । अध्ययन बिदामा गएका शिक्षक कर्मचारी नफर्किंदा विश्वविद्यालयलाई आर्थिक र शैक्षिक नोक्सानी भइरहेको छ ।
यसअघि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक र र निजामती कर्मचारी पनि बिदामा गएर नफर्किने गरेको समाचार सार्वजनिक भएको थियो । त्रिविले छानबिन समिति बनाएर नफर्किने प्राध्यापकबाट रकम असुली गरिरहेको छ ।
त्रिविका ३९८ जना प्राध्यापकले अध्ययन बिदा दुरुपयोग गरेकोमा ४४ जनाले ११ करोड रुपैयाँ फिर्ता गरेका छन् । छानबिन समितिका संयोजक जीवन काफ्लेका अनुसार ६१ जना प्राध्यापकले रकम फिर्ताको लागि निवेदन दिएका छन् ।
अध्ययन बिदामा गएका निजामती कर्मचारीको पनि सरकारले खोजी थालेको छ । २१ जेठमा भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिदामा गएका कर्मचारीलाई ३ दिनभित्र सम्पर्कमा आउन भनेको छ । बिदामा बसेका ७ हजार ५९ निजामती कर्मचारी फर्किए वा फर्किएनन् भन्ने अद्यावधिक भएको छैन । त्यसैले निजामती किताबखानाको सक्रियतामा कर्मचारीको खोजी भइरहेको छ ।
निजामती किताबखानाका अनुसार तलबी अध्ययन बिदा, बेतलबी अध्ययन बिदा, असाधारण बिदा र बेतलबी गरी ७ हजार ५९ कर्माचारीले बिदा लिएका छन् । तर कति कर्मचारी काममा फर्किए वा फर्किएनन् भन्ने यकिन छैन ।
‘३ दिनको समय दिइएको छ । सम्बन्धित मन्त्रालयमा कर्मचारी छन् कि छैनन् खोजी भइरहेको छ,’ निजामती किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले भने ।
प्रतिक्रिया 4