0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

भीमसेन थापा गाउँपालिका भित्रका पक्की घर र सरकारी भवनको बीमा

वार्षिक सम्पत्ति कर वापत पालिकाले सबै घरधुरीबाट न्यूनतम २५० रुपैयाँ लिँदै आएको र सोही रकमबाट बीमा गरिने भीमसेन थापा गाउँपालिकाले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते ६:१८

२५ जेठ, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाभित्रका निजी घर तथा सरकारी भवनहरुको बीमा हुने भएको छ । सोमवार पालिकाले राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग त्यससम्बन्धी सम्झौता गरेको छ ।

पालिकाको प्रशासनिक भवनको बीमा गरेर सुरुवात गरिएको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए । ‘आज सम्झौता भयो, बीमाका लागि अब हामी सार्वजनिक सूचना आह्वान गर्छौं,’ उनले भने, ‘इच्छुक घरधुरीले आवश्यक कागजातसहित वडामा निवेदन बुझाउनुहुन्छ ।’ वडामा प्राप्त निवेदनहरु संकलन गरेर बीमा कम्पनीमा पठाइने उनले जानकारी दिए ।

उनका अनुसार प्रत्येक घर तथा भवनको चार लाखसम्मको बीमा गरिने छ । क्षतिको आधारमा बढीमा चार लाखसम्म क्षतिपूर्ति रकम पीडितले पाउने छन् ।

इँट्टा–सिमेन्टले बनेका ढलान घर र भूकम्पपछि निर्माण भएका ढुंगा/इट्टा तथा माटोका घरहरु बीमामा समावेश हुने सम्झौतामा उल्लेख छ । पूर्ण अस्थायी (काठ, टिन, माटो) ले बनेका, बुढीगण्डकी डुबान क्षेत्रमा पर्ने, ऐलानी तथा सडक मापदण्डभित्रका घरहरु भने बीमामा समावेश नहुने बताइएको छ ।

वार्षिक सम्पत्ति कर वापत पालिकाले सबै घरधुरीबाट न्यूनतम २५० रुपैयाँ लिँदै आएको र सोही रकमबाट बीमा गरिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले  जानकारी दिए ।

विपदजन्य घटनाबाट घरहरुमा हुने क्षतिको क्षतिपूर्ति उपलब्ध गराउने उद्देश्यले बीमा कार्यक्रम अघि सारिएको उनले बताए । ‘पालिका आफैंले क्षतिपूर्ति दिन धेरै रकम आवश्यक पर्छ, त्यसैले बीमा कम्पनीसँग सम्झौता गरेका हौं,’ उनले भने ।

बीमा कम्पनीका जोखिमांकन बिभाग प्रमुख निरञ्जन आचार्य र पालिका अध्यक्ष लोकप्रसाद बञ्जराले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अवधि एक वर्षको हुने र थप गर्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?