+
+
Shares

भारतीय सुरक्षाकर्मीको गोलीबाट दुई पाकिस्तानीको मृत्यु, दुई देशबीच कूटनीतिक तनाव

भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली चल्दा दुई पाकिस्तानी नागरिकको मृत्यु भएपछि कूटनीतिक तनाव सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते १७:०८

भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली चल्दा दुई पाकिस्तानी नागरिकको मृत्यु भएपछि कूटनीतिक तनाव सुरु भएको छ । पाकिस्तानको विदेश मन्त्रालयले बेदियान सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल(बीएसएफ)का जवानले दुई पाकिस्तानी नागरिकको हत्या गरेको दाबी गरेको छ ।

उक्त घटनाको विरोध जनाउन पाकिस्तानमा रहेका भारतीय कार्यवाहक राजदूतसँग स्पष्टीकरण सोधेको जनाएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयले बीएसएफका जवानले निहत्था नागरिकमाथि कुनै उक्साहटबिना घातक बल प्रयोग गरेको आरोप लगाएको छ ।

‘यस्तो बल प्रयोग पूर्ण रूपमा अनुचित र अत्यन्त असंगत थियो, जसका कारण दुई जनाको दु:खद मृत्यु भयो,’ पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ ।

पाकिस्तानले भारतीय कूटनीतिज्ञमार्फत भारतलाई घटनाको तत्काल, पारदर्शी र विश्वसनीय छानबिन गर्न आग्रह गरेको छ ।

‘दोषी पाइएकामाथि उचित अनुशासनात्मक तथा कानुनी कारबाही गर्न र छानबिनका निष्कर्ष तथा गरिएको कारबाहीबारे पाकिस्तान सरकारलाई आधिकारिक रूपमा जानकारी गराउन आग्रह गरिएको छ,’ पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ ।

पाकिस्तानले भारतलाई मौलिक मानवअधिकार तथा अन्तर्राष्ट्रिय कानुनको सम्मान सुनिश्चित गर्न, सम्बन्धित द्विपक्षीय व्यवस्था र स्थापित सीमा प्रक्रियाको कडाइका साथ पालना गर्न पनि आग्रह गरेको छ ।

उता, भारतको पञ्जाब प्रहरीले तरनतारनमा सीमा सुरक्षा बलले दुई पाकिस्तानी घुसपैठियालाई मारेको जनाएको छ ।

पञ्जाब प्रहरीले शुक्रबार भारत–पाकिस्तान अन्तर्राष्ट्रिय सीमासँग जोडिएको राजोके गाउँमा बीएसएफले दुई घुसपैठियालाई मारेको जनाएको थियो ।

भिखीविन्डका डीएसपी अतुल सोनीले बीओपी (बोर्डर आउट पोस्ट) राजोके खालडा प्रहरी चौकीअन्तर्गत पर्ने र त्यहाँ गोलीबारीको घटना भएको जानकारी प्राप्त भएको बताए ।

उनका अनुसार प्रहरी घटनास्थलमा पुग्दा बीएसएफका जवान र २५–२६ वर्षका तीन पाकिस्तानी नागरिकबीच गोलीबारी भएको थियो । तीमध्ये एक जना पाकिस्तानतर्फ फर्किन सफल भएका थिए ।

‘सन्तरीले उनीहरूलाई यो भारतीय सीमा भएको र फर्किनुपर्ने बताएका थिए । तर, उनीहरू खेततर्फ गएर त्यहीँ सुते । पटक–पटक भनिए पनि उनीहरूले त्यहाँबाट जान अस्वीकार गरे । त्यसपछि बीएसएफका जवानले आफ्ना वरिष्ठ अधिकारीलाई जानकारी गराए र गोलीबारीसमेत गरे,’ डीएसपी सोनीले भनेका छन् ।

उनका अनुसार गोली चलेको आवाज सुनेपछि तीनै जना पाकिस्तानतर्फ भाग्न थालेका थिए । त्यही क्रममा गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको पञ्जाब प्रहरीको दाबी छ । –बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?