१७ असोज, चितवन । रसुवाको भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याउने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्याउने एम्बुलेन्स चालकलाई सम्मान गरिएको छ ।
संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) जिल्ला शाखा चितवनले शनिबार आयोजना गरेको पाँचौँ साधारणसभा तथा अधिवेशनको अवसरमा चालकलाई सम्मान गरिएको हो । सो अवसरमा ६५ जना चालकलाई सम्मान गरिएको थियो ।
उनीहरूलाई सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विपद्मा एम्बुलेन्स चालकले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । उनले भने, ‘शव उठाउन हामीले नेतृत्व गर्नुपर्नेमा अघिअघि एम्बुलेन्स चालक र हामी पछिपछि भयौँ ।’ विपद्मा गरिने यस्ता कार्यको राज्य पक्षबाट मूल्याङ्कन हुनुपर्ने उनले बताए ।
संयुक्त एम्बुलेन्स चालक सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले चालकहरूले नदीमा शव उठाउने, एम्बुलेन्समा राख्ने र झार्नेसम्मका काम गरेका बताए । तीन–चार दिनदेखि गन्हाइरहेका शव कुनै अप्ठ्यारो महसुस नगरी हामीले बोक्यौँ,’ उनले भने । कतिपय शव राख्ने ठाउँको अभावमा लामो समय एम्बुलेन्समा राख्नुपरेको उनले बताए ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले विपद्मा चालकहरूले निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय रहेको बताए ।
यसैबीच अधिवेशनले सन्तोष केसीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । भोटेकोशी बाढीको समयमा चितवनसहित धादिङ, नवलपरासी, तनहुँ, कास्की, नुवाकोटका एम्बुलेन्सले शव व्यवस्थापनमा खटिएका थिए ।
चितवनमा १३५ वटा एम्बुलेन्स सङ्घमा आबद्ध छन् । भोटेकोशी बाढीका सबैभन्दा बढी ३६९ वटा शव चितवनमा फेला परेका थिए ।
प्रतिक्रिया 4