Comments Add Comment

तीन महिनाभित्र मोवाइलबाटै सम्पूर्ण बैंकिङ कारोर गर्न पाइने

प्रभु टेक्नोलोजीले सुरु गर्दैछ मोवाइल वित्तीय सेवा

prabhu-techonoligy१५ असार, काठमाडौं । नेपालीहरुलाई खुसीको खबर, अब सम्पूर्ण बैंकिङ कारोबार गर्दा बैंकमा गएर लाइन बस्नुपर्ने छैन । तपाईले आफ्नो मोवाइलमार्फत नै सबै किसिमको वित्तीय सेवाको भरपुर उपयोग गर्न पाउनुहुने छ ।

प्रभु समुहको प्रभु टेक्नोलोजीले मोवाइल वित्तीय सेवाका लागि ‘एम रुपैयाँ’ नामक एप्समार्फत यस्तो सेवा उपलब्ध गराउने भएको छ । मोवाइल सेवा प्रदायक कम्पनी हुवावे र प्रभु टेक्नोलोजीको संयुक्त लगानीमा यस्तो सेवा सुरु र्ग लागिएको हो ।

विभिन्न बैंकहरुले मोवाइल बैंकिङ सेवा प्रदान गर्दै आएपनि यस्तो आधुनिक सेवा भने नेपालमा हालसम्म सुरु भएको छैन ।

नेपालको भौगोलिक अवस्था जटिल भएकाले शाखा सञ्जालमार्फत वित्तीय पहुँच पुर्‍याउनन कठिन भइरहेको अवस्थामा प्रभुले मोवाइबाटै सबै किसिमका बैंकिङ सेवा दिन लागेको प्रभु टेक्नोलोजीका कार्यकारी प्रमुख विकास महर्जनले अनलाइनखबरलाई जनकारी दिए ।

यी दुई कम्पनीबीच संयुक्त लगानी गर्ने सम्झौता भइसकेको छ । यो सेवा प्रदान गर्नका लागि हुवावेले २० करोड र प्रभुले २० करोड गरी ४० करोड रुपैयाँ लगानी रहेको महर्जनले बताए । उनका अनुसार यो सेवा सञ्चालन गर्नका लागि प्रभुले नेपाल राष्ट्र बैंकमा सैद्दान्तिक सहमति पाइसकेको छ ।

कारोबार सुरु गर्दा नै प्रभुका १५ सय देखि २ हजार एजेन्टबाट यस्तो सेवा उपलब्ध गराउने महर्जनले बताए ।

‘प्रभु रेमिट्यान्सका ६ हजार ग्राहक छन्, आगामी तीनमहिना भित्र १५ सय देखि २ हजार एजेन्टलाई तालिम दिएर सेवा सुरु गर्नेछौं,’ उनले भने । वर्षदिनभित्रै सबै एजेन्टबाट यो सेवा सुरु गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

यो सेवा सञ्चालनका लागि हुवावेका विज्ञहरुले प्राविधिक सपोर्ट गर्नेछन् । मोवाइल वित्तीय सेवाको सबैभन्दा बलियो उदाहारण केन्या हो । केन्याको आन्तरिक कारोबारमा ७० प्रतिशतभन्दा बढी मोवाइल वित्तीय सेवामार्फ नै भइरहेको हुवाएका एमजीएस हुवावेका साउथ एसिया सफ्टवेर डेलिभरी डिपार्टमेन्टका बरिष्ठ कार्यक्रम प्रबन्धक पीटरले बताए ।

prabhuप्रभु टेक्नोलोजिकोे आयोजनामा सोमबार राजधानीको याक एण्ड यति होटलमा एम रुपैयाँबारे जानकारी दिने उद्देश्यले पीटरले प्रस्तुति दिएका थिए । कार्यक्रममा राष्ट्र बैंकका कामू गभर्नर चिन्तामणि शिवाकेाटी, डेपुटी गभर्नर शिवराज श्रेष्ठ, कम्पनी सचिव राजेन्द्र पण्डित, बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेल, विभिन्न बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरु उपस्थित थिए ।

आफ्नो प्रस्तुतिमा पीटरले मोवाइ वित्तीय सेवा बारे विश्वको अवस्था र नेपालमा त्यसको आवश्यकताबारे औँल्याएका थिए । नेपालको भौगोलिक बनाउव जटिल भएकाले यस्तो सेवा अपरिहार्य भएको उनको प्रस्तुति थियो ।

कार्यक्रममा कामू गभर्नर चिन्तामणि शविाकोटीले यो सेवामार्फत बैंकिङ पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान हुने बताए ।

‘अन्तराष्ट्रिय वित्त निगमले २ वर्षअघि गरेको अध्ययनमा नेपालमा ९० प्रतिशत वित्तीय सेवा मोवाइमार्फ नै गर्न सकिने उल्लेख छ,’ शिवाकोटीले भने- ‘यस्तो अवस्थामा नेपालमा मोवाइल बैंकिङमार्फत ठूलो संख्यामा वित्तीय सेवा उपलब्ध गराउन सकिन्छ भन्नेमा राष्ट्र बैंक विश्वस्त छ ।’

नेपालमा अहिले ४० प्रतिशत सर्वसाधारण मात्रै बैंकिङ पहुँचमा रहेको जानकारी गराउँदै शिवाकोटीले यो सेवा सुरु भए बैंकिङ दायराभित्र ठूलो जनसंख्या आउने बताए । प्रभु र हुवावेको यो सहकार्य नेपालको मोवाइल बैंकिङको इतिहासमा काशेढुंगा सावित हुने उनको भनाई थियो ।

‘यो नयाँ अवधारणलाई राष्ट्र बैंकले सहयोग गर्ने छ,’ शिवाकोटीले भने । राष्ट्र बैंकले पनि शाखारहित बैंकिङलाई प्राथमिकतामा राख्दै आएको र हालसम्म ७ सय शाखारहित बैंकिङ सेवा सञ्चालन भइरहेको उनले जानकारी दिए ।

यस्तो सेवामा ग्राहकबाट कति लागत लिने भन्ने बारे छलफल भइरहेको प्रभु टेक्नोलोजीका कर्यकारी प्रमुख महर्जनले बताए । ‘सेवाग्राहीबाट कति रकम लिने भनेर छलफल गरिरहेका छौं,’ उनले भने ।

स्मार्ट फोनमा सीधै एप्स डाउनलोड गरेर यो सेवा लिन सकिने र साधारण फोनमा कोट डालय गरेपछि मोवाइलमै मेन्यू आउने र मेन्यूमा गएर आफुले चाहेको काम गर्न सकिने उनले बताए ।

‘केन्या र नेपालको भौगोलिक बनावट उस्तै छ । त्यसैले हामीलाई केन्यामा काम गरिरहेको हुवावेसँग सहकार्य गरेका हौं,’ उनले भने- ‘राष्ट्र बैंकबाट सैद्दान्तिक सहमति पाइसक्यौ । नेपालमा यो हामीले पहिलो अभ्यास हो ।’

यो योजनामा सहभागीहरुले नगद जम्मा गर्न, झिक्न, हस्तान्तरण, रेमिट्यान्स सेवा लगायतका व्यापारिक कारोबारको लागि तत्काल भुक्तानी गर्न सक्नेछन् । हुवावे टेक्नोलोजी विश्वको उत्कृष्ट मोबाईल वित्तीय सेवा प्रदायक कम्पनीहरुमध्यको एक हो । यसले विश्वका २६ वटा देशमा उपभोक्ताहरुलाई सफलतापुर्वक मोबाईल वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment