Comments Add Comment

‘विशिष्टहरुलाई उपचार खर्च बाँड्ने प्रचलन रोक्नुपर्छ’

स्वास्थ्य मन्त्री गगन थापाले आफूलाई जति नै ठूलो रोग लागे पनि राष्ट्रको ढुकुटीबाट एक रुपैयाँ उपचार खर्च नलिने घोषणा गरेका छन् । मन्त्री थापाले अहिलेसम्म विशिष्ट अधिकारी एवं नेताहरुले राज्यको ढुकुटीबाट लिँदै आएको उपचार खर्चसमेत रोक्ने प्रतिवद्धता जनाएका छन् ।

मन्त्री थापासँग अनलाइनखबरले गरेको कुराकानीः

Gagan Thapa (2)

मन्त्री हुनुअघिसम्म डा. गोविन्द केसीको मागलाई तपाईले खुलेर समर्थन जनाउनुभएको थियो । अहिले तपाई आफैं स्वास्थ्यमन्त्री हुनु भएका बेला अब केसीका मागलाई कसरी सम्बोधन गर्ने योजनामा हुनुहुन्छ ?

केही स्पष्टरुपमा देखिएकै सम्झौता छन् । चिकित्सा शिक्षा ऐनमा भएका कुरालाई जुन हिसाबले संसदमा पेश गरिएको छ, त्यसभित्र जानी जानी नै माथेमा आयोगले दिएको प्रतिवेदनमा केही कुरा छुटाइएको छ, भनिएको छ । त्यो ऐन सुधारका लागि मुख्य ठाउँ स्वास्थ्य मन्त्रालय नै भएकाले त्यसमा मेरो पहल भइनै हाल्छ । त्यो मेरो जिम्मेवारी पनि हो ।

मनमोहन अस्पतालको लफडाबारे नि ?

मेरो कामना भनेको जस्तोसुकै विरामी हुँदा पनि त्यसको उपचार नेपालभित्रै गर्न सकियोस् । यी दुबै नभएको खण्डमा यदि मलाई ठूलै रोग लागेछ भने पनि आफ्नो उपचारका निम्ति राज्यको ढुकुटीबाट एक रुपैयाँ पनि लिन्न भन्ने यो मेरो प्रण हो ।

अघिल्लो सरकारले नै मनमोहन प्रतिष्ठानको सन्दर्भमा समझदारी भैसकेको अवस्थामा यो विषयलाई लामो समयसम्म नराखी यथाशीघ्र सल्टाएर लैजानुपर्छ भन्ने छ । यसबारे औपचारिक बैठक आइतबारदेखि नै सुरु भइसकेको छ । यो विषयलाई अब नतन्काई छिटो सक्काउने मेरो योजना छ ।

तेस्रो विषय भनेको, कति कुरा ऐनले पनि निर्दिष्ट गरेको छ, बाँकी स्वास्थ्य क्षेत्र सुधारका सन्दर्भमा मेरो प्रतिवद्धतामात्र हैन, यो मेरो नैतिक दायित्व पनि हो । किनकि एउटा जिम्मेवारी लिइसकेपछि त्यो पूरा गर्नु मेरो कर्तव्य पनि हो ।

यसका लागि यही हप्ताभित्र मन्त्रालयका पदाधिकारी लगायत केदारभक्त माथेमा, डा. गोविन्द केसी, लगायत पूर्व सचिवहरुसित पनि बस्ने योजनामा छु । त्यसबाहेक यस विषयसित सम्बन्धित विभिन्न व्यक्ति तथा विज्ञलाई समेत भेट्ने योजनामा छु । यति गरेमात्र पनि यो विषयमा के गर्ने भन्ने बारेमा मोटामोटी खाका तयार हुन्छ भन्ने ठानेको छु ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने तपाईको प्रस्ताव थियो । अब यो विषयले संसदमा ठाउँ पाउँछ कि पाउँदैन ?

यस सम्बन्धमा, मैले संसदमा सार्वजनिक महत्वका सन्दर्भमा प्रस्ताव दर्ता गराएको थिएँ, यसमा जो समर्थन जनाउने साथीहरुलाई यसबारे प्रमुख भूमिका खेलिदिन उहाँहरुलाई अनुरोध गर्नेछु । म आˆनो जिम्मेवारी निर्वाह गर्नेछु । तर, म अहिले सरकारमा रहेको अवस्थामा मेरो भूमिका परिवर्तन भएको छ ।

पहिले मलाई स्वतन्त्र सांसदको रुपमा बोल्न पाउने जुन अधिकार थियो, अहिले केही समयका लागि म त्यसबाट अलग हुनुपर्ने स्थिति छ ।
यद्यपि, अहिले मैले जुन जिम्मेवारी पाएको छु, यस ठाउँमा भएका कुरालाई सफा गर्ने, हटाउने तथा एउटा पनि आर्थिक अनियमितता गर्न नदिइकन, नगरिकन राम्रो परिणाम दिन सकिन्छ भन्ने कुरा स्थापित गर्ने हो । अहिलेलाई म त्यसैमा केन्दि्रत हुने भएकाले मैले साथीहरुलाई अनुरोध गर्ने हो ।

तपाईले सुधारका कुरा त गर्नु भयो । तर, तपाईलाई थाहा छ ? स्वास्थ्य मन्त्रालय बेथितिको डंगुर भएको मन्त्रालय हो । यसलाई तह लगाउन के गर्नु हुन्छ ?

म गलत पनि हुन सक्छु । तर, मैले पहिलो दिनमै के भनेको छु भने यस्ता बेथिति तथा अनियमिताबाट म पूर्णरुपमा बाहिर छु । म आफैं यो अवस्थाबाट बाहिर भैसकेपछि त्यो बेथितिले मलाई छुन सक्दैन । मलाई लाग्छ, कर्मचारी तन्त्र भनेको पनि म यस्तो गर्छु भनेर आइसकेपछि यहाँका कर्मचारीहरुले पनि साथ हुनेछ ।

फेरि मैले १/२ दिनमा हेर्दा यहाका मानिस पनि उत्सुक देखिएका छन् । उहाँहरु पनि पहिलेको भन्दा केही फरक गर्ने सोचाइमा हुनुुहुन्छ । यस अर्थमा सबैबाट पूर्ण सहयोग पाउने अपेक्षा गरेको छु । यस विषयमा म एकदम दृढ छु । केही नराम्रो हुन त दिन्न नै । केही ठोस कुराको सुरुवात पनि गर्ने नै छु ।

त्यसमध्ये, म अलि धेरै केमा केन्दि्रत छु भने एकैछिनको काम गरेर नतिजा देखाउने भन्दा प्रत्येक कुरामा अलिकति मात्र पनि संस्थागत सुधार गर्न सके त्यो दीर्घकालीन हुन्छ भन्ने छ । त्यसले एउटा सिस्टम बसाल्छ भन्ने मलाई लाग्छ ।

स्वास्थ्य मन्त्रालयमा विशिष्ठ नागरिक वा विपन्न वर्गका नाममा ठूल्ठूला व्यक्तिले आर्थिक सहयोग पाइरहेको अवस्था छ । तपाईको शासनकालमा अझै कतिले पाउलान् ?

नेपाली नागरिकका रुपमा यो मेरो पहिलो ‘कमिटमेन्ट’ हो- म अहिले स्वास्थ्य मन्त्री छु । भोलि अर्को मन्त्रालय सम्हालौंला । त्यसपश्चात्त पनि मेरो कामना भनेको जस्तोसुकै विरामी हुँदा पनि त्यसको उपचार नेपालभित्रै गर्न सकियोस् ।

यी दुबै नभएको खण्डमा यदि मलाई ठूलै रोग लागेछ भने पनि आफ्नो उपचारका निम्ति राज्यको ढुकुटीबाट एक रुपैयाँ पनि लिन्न भन्ने यो मेरो प्रण हो । मैले यति गरेपछि मात्रै मलाई अन्य यस्ता काम रोक्न आटँ आउँछ । नत्र पछिका लागि हामीले ढोका खुल्लै राख्नु पर्ने अवस्था हुन्छ ।

राज्यकोषबाट नेतालाई उपचार खर्च बाँड्ने प्रचलन रोक्न सकिएला ?

यसलाई कसरी रोक्ने भन्ने सन्दर्भमा यहाँ सबैसित योजना छ । यसलाई कार्यान्वयनमा ल्याउनमात्र नसकिएको थियो । यसका लागि मैले छलफलसमेत सुरु गरिसकेको छु । अब यसलाई कसरी रोक्ने भन्नेतिर काम अघि बढाउनेछु । किनकि समस्या यहाँ छ भने निराकरण कसरी भन्ने भन्ने योजना पनि यहीँ छ ।

नेपालमा राम्रा अस्पताल हुँदाहुँदै हाम्रा नेताहरु उपचारकै लागि विदेश जाने परम्परा यथावतै छ । यो चलनलाई तपाई कसरी रोक्नुहुन्छ ?

मैले अघि नै भनिसकें । मेरो बुझाइमा राज्यको ढुकुटीबाट कसैले पनि स्वास्थ्य उपचारका लागि भनेर नेपाल बाहिर गएर उपचार बाहिर जाने प्रवृत्तिलाई शतप्रतिशत रोक्नुपर्छ भन्ने मेरो मान्यता हो ।

कि त सबै नागरिकले पाउनुपर्‍यो । कि यहाँका स्वास्थ्य संस्थाहरु सदृढ हुनुपर्‍यो र यसलाई यति राम्रो बनाउनु पर्‍यो कि यहाँका नागरिकले नेपालमै उपचार गर्छन् भन्ने यकिन हुनुपर्‍यो ।

यति नहुदाँसम्म कि सबैलाई बाहिर लिएर जानुपर्‍यो, त्यो पनि नभएको अवस्थामा कोही बाहिर गएर उपचार गर्छु भन्छ भने त्यो व्यक्तिगत सोच तथा अधिकारको कुरा हो । तर, व्यक्तिको त्यो सोचलाई राज्यले खर्च गर्नु हुँदैन ।

कोही बाहिर गएर उपचार गर्छु भन्नु उसको आफ्नो अधिकारको कुरा हो । अहिले पनि नेपालमा उपचार गर्न नचाहने व्यक्ति विदेशमा उपचार गर्ने गर्छन् । त्यो स्वाभाविक हो । तर, पूर्वविशिष्ट अधिकारीका नाममा राज्यको खर्चबाट बाहिर उपचार गर्ने पद्दतिलाई रोक्नैपर्छ । त्यसलाई रोक्न नियम बनाउनु अत्यावश्यक छ ।

यो (राज्यको ढिकुटीबाट उपचार गर्ने) विशिष्ट मानिसहरुका लागि लक्जरी जस्तो भइसक्यो । विशिष्ट मानिसलाई मन लागेको भए ऊ अमेरिका पनि जान पाउँछ । बैंकक, जापानलगायत युरोप पनि जान पाउने अवस्था देखिएको छ । जबकि हाम्रो नेपालकै उपचार अन्य देशभन्दा कम छैन ।

मेरै एउटा बच्चा प्रसुतीगृह तथा अर्को ग्राण्डी अस्पतालमा जन्मिएको हो । त्यसैले यस्ताका अस्पतालहरुबारे मलाई राम्रो अनुभव छ । करिब एक वर्ष अगाडि मेरो बच्चा बिरामी हुदाँ मैले चार दिन कान्ति अस्पतालमै राखेको थिएँ । यदि मैले यहाँको उपचार पद्दतिबारे अनुभव नगरेको भए कुरा अर्कै हुन्थ्यो होला ।

स्वास्थ्य संस्थाको विकासका लागि तपाईको भूमिका कस्तो रहनेछ ? निशुल्क औषधि, तीन महिनामा सबै गाविसमा डाक्टर पुर्‍याउनेजस्ता कुराहरु कार्यान्वयनको कुन स्तरमा छन् ?

यस विषयमा भएन भनेर मात्रै हुँदैन, किन भएन पनि हेर्नुपर्ने हुन्छ । यो मेरो प्राथमिकताको विषय पनि भएकाले यसबारे शनिवारबाटै छलफल सुरु गरिसकेका छौं । यसमा प्रधानमन्त्रीको समेत चासो रहेकाले यसको समस्या कहाँ छ, किन समस्या भइरहेको छ भनेर बुझन् छलफल सुरु गरिसकेको छु । शायद यही हप्ता यस विषयमा कसरी जाने भन्ने मैले योजना बनाइसक्छु ।

तर, तपाईको दिनगिन्ती त सुरु भइसकेको छ ?

मलाई यसबारे राम्रो ज्ञान छ । म एउटा सामान्य नागरिक हुँ । यहाँको सुरुको अवस्थाबारे बुझन् सात दिन लाग्ला । काम गर्न दुई महिना लाग्ला । तर, पनि आज र भोलि भन्ने हो भने त्यसका लागि पनि मसित लिष्ट छन् । तर, मेरो प्राथमिकता दुई दिन हल्ला गर्ने कि ठास सुधारका काम गर्ने भन्ने हो । त्यसमा म ठोस सुधार गर्न चाहने भएकाले मलाई केही समय दिनोस् भन्न चाहन्छु ।

स्वास्थ्य मन्त्रालयमा कामको थालनी कसरी गर्दै हुनुहुन्छ ?

मैले जिम्मेवारी सम्हाल्ने बेलामा यो गर्छु, त्यो गर्छु भनेर त्यस्तो ‘लामो लिष्ट’ केही लिएर आएको थिइँन । मलाई के थाहा छ भने यो क्षेत्रमा थोरै समयमा पनि धेरै काम गर्न सकिन्छ । त्यसैले, मैले गर्न चाहने कुराको लिष्ट यहीँभित्रबाट तयार पार्न चाहन्छु ।

त्यसका लागि शनिवारदेखि नै मैले मन्त्रालयका कर्मचारी तथा यस विषयसित सम्बन्धित व्यक्तिहरुलाई भेट्न सुरु गरिसकेको छु । सबैलाई खुला रुपमा स्वागत गर्दै आएर सुझाव दिनसमेत अनुरोध गरेको छु । यस क्षेत्रमा वर्षौंदेखि लागिरहने जोसित नयाँ विचार छ, तर मन्त्रालयको कार्यप्रणालीका कारण गर्न नसकेको अवस्था छ, त्यस्ता व्यक्तिलाई आएर आफ्नो विचार राख्न आग्रह गरिरहेको छु ।

मैले त्यसैभित्रबाट तोकिएको समयमा सीमित स्रोत साधनको उपयोग गरेरै आफ्नो काम गर्ने सोच बनाएको छु । यसैले मैले दिन खोजेको सन्देश जनतामाझ पुगेको छ भन्ने मलाई लागेको छ ।

यहाँ बसुञ्जेलसम्म एउटा पनि नराम्रो काम गर्दिँन र कुनै नराम्रो काम हुन पनि दिन्न ।

त्यसैले, अहिले आएका मानिस कोही पनि व्यक्तिगत स्वार्थ लिएर आएका छैनन् । जति पनि आएका छन्, कोही स्वास्थ्य विमामा यो गर्न सकिन्छ भनेर आएका छन् त कोही औषधिमा यो गर्न सकिन्छ भनिरहेका छन् । अझ यहाँ कर्मचारीतन्त्रको ठूलो समस्या रहेछ, त्यसमा यसरी काम गर्न सकिन्छ भन्नेहरु पनि धेरै भएको मैले पाएको छु ।

भनेपछि नीतिगत काममा बढी केन्द्रित हुनुहुन्छ ?

मलाई थाहा छ, थोरै समय भएकाले मसित जनताका धेरै अपेक्षा छन् । त्यसैले केही समयका लागि, तत्कालका लागि केही गरौं भनेर देखाउन अहिलेको समयले मलाई प्रेरित गरिरहेको अवस्था हो । तर, म त्यसबाट जोगिन चाहन्छु । किनकि मेरो उपस्थितिमा केही ठोस काम गर्न सकिन्छ भन्ने छ । जसका लागि एउटा आधार होस् । मेरो कामको नतिजा सुरुमै देखिन नसक्ला । कम्तिमा २/३ महिना लाग्ला ।

म आफु पनि सुधार समितिमा बसेर काम गरिसकेको हुदाँ यो काम दुखपूर्ण तरिकाबाट हुन्छ भन्ने थाहा छ । सुधारका काम गर्न लामो समय लाग्ने र दुख हुने भएको तथा बाहिरको प्रेसर हुने हुँदा सामान्यतया यहाँ आउने मन्त्रीहरुलाई जनतामा आफ्नो छवि बनाउन तुरुन्त देखिने काम गर्ने परिपाटी यथावत छ । मलाई अझ बढी दबाव छ । तर, म त्यता नगएर औषधि र हस्पिटलको क्षेत्रमा थुप्रै परिवर्तन गर्न सकिन्छ भन्ने सोचमा छु ।

त्यस्तै, स्वास्थ्य विमाको ऐन थन्किएर बसेको रहेछ, जनस्वास्थ्यको ऐन, स्वास्थ्य नियमावलीका कुरा छन्, कर्मचारी तन्त्र छ, यी सबै कुरामा काम गर्न पनि मलाई कम्तिमा २/३ महिना लाग्छ । यदि मैले यता नहेरेर एउटा अस्पतालमा मात्र सीमित भएँ भने काम त देखिएला, तर मैले गर्न खोजेको काम छुट्न सक्छ । त्यसैले अहिले म सुधारका कार्यक्रममा नै केन्द्रित हुन चाहन्छु ।

बजेट पहिले नै पारित भइसकेको अवस्थामा अब नयाँ कार्यक्रम कसरी ल्याउनुहुन्छ ?

यसमा चुनौतीहरु त प्रशस्तै छन् । तर, मेरो योजना नयाँ कार्यक्रम ल्याउने भन्दा पनि भएकै कार्यक्रमलाई सीमित स्रोत साधन अनुसार कसरी सुधार गर्दै लैजाने भन्ने हो ।

अहिले कतिपय योजनाहरुमा मैले सम्झौता गर्नुपर्ने अवस्था छ । विशेषगरी योजनाहरुका सन्दर्भमा । अहिले बजेट बसिसकेका छन् । योजना निर्माण भैसकेका छन् । तर, त्यसले अहिले नतिजा नआए पनि अर्को वर्ष निश्चितरुपमा केही नजिता दिन्छ भन्ने थाहा छ ।

अन्त्यमा केही ?

यतिमात्र छ कि, म अलिकति बहकिएर छोटो समयका लागि तत्काल देखिने काम गर्न भन्दा पनि सुधारमा केन्दि्रत भएर पछिसम्मलाई हुने गरी केही काम गर्न चाहन्छु । त्यसका लागि केही समय कुरेर बसिदिन सबैमा आग्रह गर्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment