Comments Add Comment

लागुऔषध तस्करीमा तानिए पूर्वसभासद् अग्रवाल

१३ असोज, काठमाडौं । औषधि बनाउन आयात गरिएको प्रिकर्सर रसायन (सिउडोइफेड्रिन) अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीलाई बिक्री गरेको आरोपमा पूर्वसभासद् मधुसुदन अग्रवाल छानबिनमा तानिएका छन् ।

Drugsअनुसन्धानको क्रममा अग्रवालद्वारा सञ्चालित एसआर फर्मास्युटिकल्स तथा टौरस फर्मा ल्याबले प्रिकर्सर रसायन दुरुपयोग गरेको पुष्टि भएपछि कम्पनीको गुड मेनिफेक्चिरिङ प्रोडक्ट (जिएमपी) लाइसेन्स रद्द भएको छ ।

प्रहरीले अनुसन्धान अघि बढाएपछि अग्रवाल तथा उनका अन्य व्यावसायिक साझेदार फरार छन् । औषधि व्यवस्था विभागले मंगलबार कम्पनीको जिएमपी लाइसेन्स रद्द गरेको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

‘उनीहरूले ल्याएको प्रिकर्सर रसायन र उत्पादन गरेको औषधिमा धेरै तलमाथि देखियो,’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले भने, ‘रसायन डाइभर्सन भएको पुष्टि भएपछि कारबाहीस्वरूप लाइसेन्स रद्द गरेका हौँ, थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।’

अनुसन्धान सुरु भएलगत्तै अग्रवाल फरार छन् । उनी पहिलो संविधानसभामा मधेसी जनअधिकार फोरमबाट समानुपातिक सभासद् थिए ।

लामो समयदेखि अग्रवालको कम्पनीले रसायन आयात गरेर अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीहरूलाई बिक्री गर्दै आएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार छानबिन सुरु भएपछि कम्पनीले औषधि व्यवस्था विभागमा नक्कली ब्याच मेनिफेक्चिरिङ रिपोर्ट (बिएमआर) बुझाएका थिए

। त्यससम्बन्धी फाइलहरू लिएर लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले अनुसन्धान अघि बढाएको छ । विभागबाट फाइल ल्याएर अनुसन्धान भइरहेको र सञ्चालकहरू फरार रहेको ब्युरोका डिआइजी जयबहादुर चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment