Comments Add Comment

भरत सिटौलाको सेकेन्ड इनिङ

सात वर्ष संगीतक्षेत्रबाट हराएका गायक आफ्नो ठाउँ खोज्दै

Bharat Sitaula_810

५० देखि ६० सम्मको दशक नेपाली पप संगीतको स्वर्णकाल नै थियो । त्यसबेला नवीन के भट्टराईदेखि दीपेश किशोर, निमा रुम्बा, सुगम पोखरेल, अनिल सिंह लगायतका पपस्टारहरुको लगालग एकपछि अर्को गरी जगजगी थियो । त्यही समयमा चम्किएको एउटा नाम हो, भरत सिटौला ।

६० को मध्य समयमा सिंगो नेपाली पप संगीतसँगै धेरै गायक-गायिकाको करिअर पनि ओरालो लाग्यो । ०६० सालसँगै उदाएर भर्खर-भर्खर चर्चाको शिखरतिर लम्किँदै गरेका बेला बजार सेलाएपछि भरतलाई फसाद पर्‍यो । ‘अचानक आज तिमीलाई’, ‘कहिले आगो कहिले पानी’ जस्ता हिट गीत गाएका गायकले सांगीतिक करिअरमा अचानक पानीको चिस्यान खेपे ।

बीचमा गुजाराको मेलोमा उनी जागिर खानतिर लागे । त्यस क्रममा चटक्कै छुट्यो संगीत कर्म । सात वर्षको अन्तरालमा अहिले फेरि उनी संगीतको नयाँ ट्रेन्ड पछ्याउँदै नयाँ एल्बम तयार पारेर देखिएका छन् ।

समय फेरियो, संगीतको स्वाद पनि फेरियो र मुख्य कुरा यो दश वर्षमा संगीत सुन्ने एउटा पुस्ता नै फेरियो । हिजोको एउटा ६ वर्षे बालक यो समयमा १६ वर्षको लक्का जवान भइसकेको छ । एक समय नाम र चर्चाको स्वाद चाखेर हराएका गायक आजका तिनै नयाँ पुस्ताको माझमा बिलकुल नयाँ गायक झैं बनेका छन् । यो अवस्थामा भरत केही गर्छु भन्दै संगीतको रफ्तारमा हेलिएका छन् । जुन उनको सेकेन्ड इनिङ हो ।

यो सेकेन्ड इनिङमा मैदानमा उत्रिँदा पहिलो चरणमा उनी आफ्नै समयका श्रोतालाई रिझाउने प्रयासमा छन् । ‘त्यो बेला मेरो गीत सुन्ने श्रोताहरु अहिले आ-आफ्नै ठाउँमा सेटल भइसकेका छन्,’ उनी भन्छन्, ‘उनीहरुलाई क्लिक गरेर मेरो संगीतमा फर्काउन सकेँ भने त्यसको सपोर्टमा नयाँ पुस्तासम्म फैलिन सक्छु कि भन्ने लागेको छ ।’

नभन्दै उनले पाँच महिना अघि ल्याएको ‘बैंशमा’ गीत नयाँ पुस्ताको पनि रोजाइमा पर्न थालेको छ ।

बैंशमा म पनि घोर्ले तिमी’नि च्वाँक हुँदी हौ
अहिले त उमेर ढल्किँदै गयो, तिमी’नि छक पर्दी हौ ।

भरतलाई लाग्छ, बैंशका पुराना दिनको नोस्टाल्जियामा फर्काउने गीतको शब्द र संगीतमा गरिएको नयाँपनले युवा पुस्तालाई पनि छोएको हो । आजको समयमा लोकप्रियताको सूचक मानिने युट्युब भ्यूमा उनको यो गीत हेर्नेको संख्या उकालो चढ्दै छ ।

अनौठो मोडदेखि घोर्ले बैंशसम्म

ताप्लेजुङको निघुरादिनमा मध्यमवर्गीय परिवारमा जन्मिएका भरत झापामा परिवारको थातबास सरेपछि त्यहाँबाट काठमाडौं आए । काकासँग बसेर विजय मेमोरियल मावि, डिल्लीबजारमा कक्षा ६ देखि पढ्न थाले ।

स्कूले बेलामा संगीतको रस खासै बसेन । साथीहरु बरु गाउँथे । उनी चाहिँ बढीजसो हाजिरीजवाफ, कविता प्रतियोगितामा सहभागी हुन रुचाउँथे । अझ रेडियो नेपालमा वासुदेव मुनालले चलाउने बाल कार्यक्रममा कविता पढ्न र नाटक खेल्न जान भनेपछि बुर्कुशी मारेर पुग्थे । अभिनयतिर मन रमाउन थालेको थियो । हल्काफुल्का गाउँथे पनि । तर, राम्रो गाउँछु भन्ने आत्मविश्वास फिटिक्कै थिएन ।

ती स्कूले साथीहरु अचेल कतै भेट हुँदा छक्क पर्दै सोध्ने गर्छन्, ‘अरे यार, गीत त हामी पो गाउँथ्यौं । तँ गायक कसरी बनिस् ?’

जीवन नसोचेका मोड र संयोगहरुको कथा हो । भरतसँग पनि यस्तै मोडको अनुभव छ । संयोगको किस्सा छ ।

०५२ सालको एसएलसी हो उनको । त्यसपछि नेपाल कमर्श क्याम्पसमा भर्ना भए । उनी सधैं सोच्थे, पढ्नु चाहिँ पर्छ । मध्यमवर्गीय परिवारका छोराछोरीको सामु अरु विकल्प पनि हुँदैन । कि त राम्ररी पढेर जागिर खाने, कि त विदेशतिर भास्सिने ।

उनी चाहिँ पढेर केही काम ध्याउन्नले घोटिएर लागेका थिए । पढाइमा राम्रै पनि थिए । तर, दुर्भाग्यको कुरा, आईकम दोस्रो वर्षमा एउटा विषय ब्याक लागिदियो । त्यसबेलासम्म जीवनमा कहिल्यै फेल भएका थिएनन् । ब्याक लागेर एक वर्ष ग्याप हुनु भनेको अरु साथीहरुभन्दा धेरै पछाडि पर्नु हो भन्ने खालका निराशा बढ्न थाल्यो ।

त्यस्तो बेला निराशा मेट्ने माध्यम बन्यो गीत-संगीत । ‘त्यो एक वर्षको खाली समय मेरो लागि म्युजिकको टर्निङ प्वाइन्ट भइदियो,’ उनले भने ।

कविता त पहिल्यैदेखि लेख्थे उनी । अब गीत लेख्न थाले । जानीनजानी गिटार पनि बजाउन थाले । साधना कला केन्द्रमा तीन महिना जति सिकेका थिए । ०५६/५७ ताका उनी डिल्लीबजारमा फुपू दिदीको घरमा बस्थे । पूर्वतिरका मान्छे बढीजसो मैतीदेवी क्षेत्रमा बस्ने भएकोले साँझपख साथीभाइ र आफन्तसँग भलाकुसारी गर्न त्यता गइरहन्थे । जाने क्रममा देखे, ओमेगा डिजिटल स्टुडियो । गीत रेकर्ड गराउने ठाउँ यो रहेछ भनेर झ्वास्स दिमागमा पस्यो ।

एक दिन स्टुडियो छिरे उनी । आफूले गीत बनाएको सुनाए । त्यहाँ सम्राट थापा नामका एरेन्जर थिए । छेउछाउमा अरु पनि थिए । गीत सुनाउन भनेपछि उनले ‘ओ बोल न’ बोलको गीत सुनाए । गीत राम्रो छ, एरेन्ज गरेर रेकर्ड गर्न २५ सय रुपैयाँ खर्च लाग्छ भन्ने कुरा आयो ।
‘पैसा त आफूसँग थिएन । घरमा गीतको लागि पैसा माग्दा पक्कै पाइन्थेन,’ उनले सुनाए ।

जहाँ इच्छा त्यहाँ उपाय भने झैं उनले पैसा जम्मा गर्न काम गर्ने जुक्ति लगाए । कालिकास्थानकै एउटा फाइनान्समा मासिक १८ सय रुपैयाँको जागिर खाए । जम्मा तीन महिना काम गरेर पैसा जुटेपछि छाडिदिए ।

Bharat Sitaula (6)

स्टुडियोमा गीत रेकर्ड गर्न आउने नाम चलेका गायकहरुको गफ सुन्दा उनी बेपत्तासँग रमाउँथे । उनीहरुको गफ सुन्न पाउँदा यो फिल्डमा चाहिँ मान्छे खुशी हुँदो रैछ है भनेर संगीतको मोहनी-गाँठो मनैमन कसिँदै थियो । जुनसुकै पेशा अपनाए पनि त्यसमा भित्रैदेखि रमाएर डुब्न सकूँ भन्ने सोच त पहिल्यैदेखि थियो नै ।

स्टुडियोले गीतमा भोकल गर्ने डेट दिए पनि उनी सारिरहन्थे । ‘भोकल दिइसकेपछि स्टुडियो जाने बाटो टुट्ला र गायकहरुको गफ सुन्न नपाइएला भनेर विभिन्न बहाना बनाउँथेँ’, उनले भने । त्यस क्रममा १०-१५ दिनमै सकिने काम उनले दुई महिना लगाइदिए ।

गीत रेकर्ड भएपछि पहिलो चोटि आफ्नो स्वर बाजामा सुन्दा गजब त लाग्ने नै भयो । उनले करिब हजार चोटि सुने होलान् त्यो गीत । तर, जति सुन्दै गयो, आफ्ना कमी-कमजोरी भेट्दै गए । पप गीतको एकदमै माहौल भएको त्यो बेला अरुका गीतहरुसँग तुलना गर्दा त झन् आफ्नोमा कुनै दम देखेनन् । गीत सार्वजनिक नै गरेनन् उनले ।

उनी त्यतिबेला औपचारिकताको लागि गरिने तारिफको सिकार भएका रहेछन् ।

‘हामीकहाँ कुनै पनि सिर्जनाबारे यत्तिकै राम्रो भनिदिने चलन छ,’ उनले भने, ‘यहाँनेर सुधार्दा राम्रो हुन्छ भनेर क्रिटिकल्ली नभनिदिने गर्दा धेरै गायकहरु बिगि्रएका छन् ।’

पहिलो प्रयासलाई नै सबैले राम्रो भनिदिँदा अब गायक हुन सक्ने रै’छु भनेर मक्ख थिए उनी । तर, आत्मसमीक्षाबाटै खोटहरु फेला पारे । उनले आफ्नो दुर्बलता देखे पनि कोही रहेछ, जसले उनीभित्रको क्षमता चिन्यो र विश्वास गर्‍यो ।

त्यो स्टुडियोमा गीतकार रमेश अधिकारी पनि आइरहन्थे । उनले याद गरेका रहेछन् भरतलाई । उनको गीत पनि मन पराएका रहेछन् । एक भेटमा रमेशले प्रस्ताव राखे, ‘म लगानी गर्छु, भाइको एल्बम निकालौं । एल्बमबाट पैसा कमाइएछ भने बाँडीचुँडी गरौंला ।’

भर्खर सांगीतिक फाँटमा पाइला टेक्दै गरेको एउटा गायकलाई त्यति भनेपछि अरु के चाहियो ! त्यो बेलामा एउटा अडियो एल्बम निकाल्न ५०/६० हजार खर्च लाग्थ्यो । त्यति रकम निकै ठूलो कुरा थियो । म्युजिक कम्पनीहरुले एल्बम किनिदिन्थे । एल्बम चल्यो भने रोयल्टी वापत कलाकारले राम्रो पैसा कमाउँथे ।

०६० मा आयो भरतको पहिलो एल्बम ‘मोडः द टर्निङ प्वाइन्ट’ । एल्बमका ‘अचानक आज तिमीलाई’ र ‘माया लाउन त धेरैले लाए’ गीत हिट भए । त्यही वर्ष हिट्स एफएमको म्युजिक अवार्डमा बेस्ट न्यु आर्टिस्ट अफ द इयर बने उनी । त्यसको तीन वर्षपछि दोस्रो एल्बम ‘म अनि तिमी’ निस्कियो रेबल क्रिएसनबाट । त्यसको पनि ‘कहिले आगो कहिले पानी’ र ‘ओ रिया’ निकै चले ।

यसले उनलाई थप हौस्यायो । पप संगीतमा जम्ने विश्वास दिलायो । यसै क्रममा ०६६ सालमा ‘महिमा’ एल्बम निकाले । त्यसमा उनले ‘हरे राम हरे कृष्ण’ लाई नयाँ स्वादमा पस्किए पनि भारतीय भजनको प्रभाव परेको भन्दै श्रोताले खासै पत्याएनन् ।

त्यही बेला संगीत क्षेत्रमा एल्बमको व्यापार चौपट हुन सुरु भयो । क्यासेट र सीडी बिक्न छाडे । पप गीतमाथि आधुनिक र त्यसभन्दा पनि लोक गीतको पल्ला भारी भयो । त्यो बेलासम्म कम्पनीहरुले एल्बममा आफैं लगानी गरिदिएर म्युजिक भिडियो बनाउनुका साथै प्रोमोसन समेत गरिदिन्थे । तर, एल्बम नचलेर कम्पनीहरु पनि डुब्ने अवस्था आएपछि कलाकारले गाएर मात्र नपुग्ने अवस्था आयो । त्यसपछि उनी जागिरे जिन्दगीको दौडमा लागे ।

जागिर खाएको सात वर्षमा संगीत क्षेत्रमा आफू निकै पछि परेको महसुस भएपछि भरत सबै झमेला छाडेर अहिले संगीतमै केन्दि्रत भएका छन् । अर्थात् उनको सांगीतिक बैंश फर्किएको छ । अर्थात् उनले ‘बैंशमा’ एल्बमबाट पुराना र नयाँ श्रोता-दर्शकलाई कुतकुत्याउन खोजेका छन् ।

Bharat Sitaula (19)

जागिरले खाएको जुनी

गाएर मात्र नपुग्ने अवस्था भएपछि उनी हिमालय टिभीमा आबद्ध भए । कार्यक्रम निर्माताको जिम्मेवारी पाएका उनले सांगीतिक कार्यक्रमहरु उत्पादन गर्नुका साथै आफैं पनि भीजे भएर कार्यक्रम चलाए ।

‘जागिर खाइसकेपछि जतिसुकै तनाव लिन्नँ भने पनि प्रेसर त भइ नै हाल्दो रै’छ’, जागिरले आर्थिक समस्या सुल्झाए पनि मन रमाउन नसकेको पाटो खोले उनले । त्यस क्रममा धेरै गायक साथीभाइहरुको गीतहरु बजाए उनले । आफ्नै हात जगन्नाथ गर्ने खालका प्राणी थिएनन् उनी । त्यसैले आफ्नो गीत छायामा रहिरह्यो । अरुहरूको कला हेर्ने र पस्किने क्रममा आफ्नो नयाँ सिर्जना पनि मनभित्रै गुम्सिरह्यो । कस्तो भने, कार्यक्रम चलाइरहँदा र संगीतकर्मी साथीहरुको अन्तर्वार्ता लिइरहँदा उनको मनमा सधैं भक्कानो फुटिरहन्थ्यो, ‘म म्युजिककै मान्छे हो, म गायक र कम्पोजर नै हो । मैले गीतै लेख्नुपर्छ र श्रोतामाझ नयाँ चिज ल्याउनुपर्छ ।’

टिभीमा काम गर्दाको अनुभव उनलाई कामै नलागेको भने होइन । संगीतसम्बन्धी कार्यक्रम उत्पादन गर्ने र म्युजिक भिडियोहरु बजाउने क्रममा उनी संगीतकै वातावरणमा थिए । एउटै फिल्डका साथीभाइसँग भेटघाट भइरहन्थ्यो । नयाँ पुस्ताका गीतहरु एकमुष्ठ सुनेर नयाँ टे्रन्ड पनि बुझ्न पाइरहेका थिए । ‘तर, आफू म्युजिकमै छु भन्ने लागे पनि कतै हराइरहेको र छुटिरहेको रहेछ’, त्यतिबेलाको उकुसमुकुस पोखे उनले ।

बितेका सात वर्ष गीत नगाई बस्नुलाई करिअरको ठूलो समय गुमाएको मान्छन् उनी । उनको स्वीकारोक्ति छ, ‘म झुरै गीत त गाउने मान्छे होइन । होला, औंसत गीत गाउँछु । तर, त्यतिबेला निरन्तरताको लागि औंसत गीत समेत निकालिनँ ।’

टिभीको क्रेज भएको समयमा काम थाल्दा साथी सर्कलमा इज्जत भए पनि उनीमा भने बिस्तारै मोनोटोनस बढ्दै गयो । जागिरे मानसिकताले सिर्जनशीलता छुट्दै गयो । मुख्य कुरा, त्यसले श्रोताहरुसँग ग्याप बढ्दै गएको थियो । ग्याप भएपछि मनमा डरले घर बनाउँदै जाने अनुभूति पनि गरे उनले । नयाँ गीतहरु बनाए पनि आफूले सुन्दै जाँदा त्यो गीत अहिले चल्नेमा आफैंलाई शंका हुन्थ्यो ।

‘जति ढिलो गर्‍यो, बजारमा राम्रा र ट्यालेन्टेड गायकहरु देखिन्थे । उनीहरुसँग प्रतिस्पर्धा गर्न आफ्नो सिर्जना पनि त्यो खालको हुनुपर्छ भन्ने डरले खाइरहँदा झन् ग्याप भइरह्यो’, त्यतिखेरको अत्यास सुनाउँछन् ।

त्यो उकुसमुकुसले अति पिरेपछि ७ वर्षदेखिको टेलिभिजन यात्रा उनले गत साउन १ गते टुंग्याए । अब फुलटाइमर म्युजिसियन बन्ने सोचले उनी अघि बढिरहेका छन् ।

अबको रफ्तार

‘बैंशमा’ गीत ल्याएपछि उनलाई याद भयो, आफ्नो धेरै कुरा छुटिसकेको रहेछ । मुख्य कुरा श्रोता र मिडियाहरुसँगको कनेक्सन छुटेको रहेछ । ०६० सालमा पहिलो एल्बम निकाल्दा जसरी जिरो लेभलबाट सुरु गरेका थिए, अहिले त्यही अवस्थामा पाएका छन् आफूलाई ।

प्रविधिको धागोले विश्व एउटै आँगन जस्तो भइरहँदा अहिले श्रोताको संगीतको स्वाद विश्वव्यापी भएको छ । युट्युबले विश्वको संगीत हातहातमा ल्याइदिएको छ । नयाँ पुस्ता फरक सोच र शैली बोकेर त्यत्तिकै आइरहेका छन् । यस्तो भरतलाई आफूले ठीकै समयमा कम ब्याक गरेछु भन्ने लाग्छ । भन्छन्, ‘अहिले बैंशमा गीत निकालेको थिइनँ भने मलाई एकदम गाह्रो हुने रहेछ । म्युजिक फिल्डमा प्रतिस्पर्धा निकै बढेको रहेछ ।’

Bharat Sitaula (9)

अबको संगीत कर्मबाट उनलाई पहिलाको जति नै नाम फर्काउन सक्छु भन्ने लागेको छैन । तर, एक समय आफ्नो गीतले श्रोताहरुको मन-मस्तिष्कमा सुरक्षित गरेको ठाउँ केही न केही बनाउँला भन्ने उनको आशा छ ।

नयाँ गीतले माया पाउन थालेपछि उनको गुमेको आत्मविश्वासले पनि शिर ठाडो पार्न थालेको छ । भन्छन्, ‘अहिले चाहिँ मलाई के कन्फिडेन्ट भयो भने राम्रो गीत निकाल्न सक्यो भने ढिलो-चाँडो क्रेज फेरि कमाउन सकिँदो रहेछ ।’ पहिले उनलाई नसुनेकाहरु पनि जोडिएका छन् । अर्थात् हिजोको ६ वर्षे बालक आज १६ वर्षे पट्ठो उमेरमा भरतको ‘बैंशमा’ तरंगित भइरहेको छ ।

समय अनुसार संगीत सुन्ने पुस्ता फेरियो । मायाको परिभाषा पनि फेरियो । पहिला फिल्ममा प्रेमालाप दर्शाउनुपरेमा फूलका दुई गुच्छा ठोक्काइन्थ्यो, अहिले कतिसम्म अग्रगामी प्रेम छ भने, दुई युगल ओठहरु खुलमखुला घमासान कुस्तीमा उत्रिन्छन् । मन पराएको केटा वा केटीलाई बाटोमा रुँगेर कति आँट जुटाएर चिठी दिइन्थ्यो । अहिलेका पुस्ता फेसबुकमा सजिलै ‘आई लभ यू’ भन्दै इमोजीबाट मुटुका डल्ला ठेल्छन् । उताबाट ‘यस’ वा ‘नो’ तुरुन्तै जवाफ आउँछ । नो भनेरै जवाफ आए पनि गहिरो दुःख नमानी अर्को निशाना ताक्न कम्मर कस्छन् ।

समयसँगै फेरिएको मायाको परिभाषा अनुसार शब्द लेख्ने तरिका पनि नफेरे अब संगीत बजारमा पछि परिने उनलाई लाग्छ । यसैले आफ्नो नयाँ गीतमा घोर्ले र च्वाँक जस्ता शब्दलाई बुनेका छन् ।

अहिले गीतहरु चले पनि पछिल्ला गीतहरुको आयु एकदम कम हुने उनलाई लाग्छ । तीन महिनाभित्रमा कुनै गीतले हल्लाखल्ला मच्चायो भने मच्चायो, नत्र फेरि अर्कै नयाँ गीततिर लाग्नुपर्ने अवस्था छ । मान्छेहरुले मेलोडी मन पराउने भए पनि एरेन्जमेन्ट प्याटर्नहरु बदल्न सकेन भने गीतले जादु गर्दैन ।

अहिले कलाकारहरु बाँच्ने मुख्य आधार भनेको देश-विदेशका कन्सर्टहरु नै हुन् । संगीतमा आउने र हराउने क्रम र बीचमा ग्याप भएकाले भरतले त्यति धेरै विदेश जाने मौका पाएका छैनन् । युरोप, जापान, हङकङ जस्ता केही ठाउँ गएका उनी फेरि युरोप जाँदै छन् । भन्छन्, ‘बैंशमा गीत आएपछि चाहिँ मलाई अफरहरु आइरहेका छन् ।’

पहिला सीडी बिक्रीबाट राम्रै पैसा हुने गरी पनि अहिले शून्य छ । नयाँ एल्बम तयार भए पनि कहाँ लगेर कसलाई बेच्ने भनेर अलमलिएका छन् भरत । सीडी बजाएर सुन्ने सीडी प्लेयरको जमाना पनि रहेन । अबोध मुस्कान छर्दै भने, ‘बाहिर जान पाइयो भने साथीहरुलाई गिफ्ट दिने हो । सीडी बेच्नेभन्दा पनि गिफ्ट नै दिनुपर्ने अवस्था छ ।’

कुनै अडियो क्यासेट पायो भने रिल नचुँडिँदासम्म सुनेर सबै गीत कण्ठाग्र पार्ने पुस्ताका हुन् उनी । उतिबेला मनबाट संगीत सुन्ने समय थियो, अहिलेको पुस्ता दिमाग ‘साइको’ पार्ने गीत सुनेर तीव्र रुपमा छलाङ मार्छ ।

पपको समय फर्केला ?

पप गीतमा राम्रो गर्न सक्यो भने उनी त्यति धेरै प्रतिस्पर्धा पनि देख्दैनन् । ‘अहिले पप सिंगरहरु त्यति धेरै स्थापित छैनन्,’ उनले भने, ‘त्यसैले राम्रो गीत ल्याउन सक्यो भने त्यो खाली ठाउँ लिन सक्ने सम्भावना देख्छु ।’

Bharat Sitaula_455पप गायकहरु बीचमा विभिन्न कारणले कता-कता हराए पनि अहिले सबै जना संगीत गरिरहेका छन् । यो देख्दा उनलाई साह्रै खुशी लागेको छ । नवीन भट्टराईदेखि सुगम पोखरेल, अनिल सिंह सबै जना फेरि एकचोटि आ-आफ्नो तवरमा कस्सिएका छन् । एउटा गायकको सक्रियताले गर्दा अर्कोलाई हुटहुटी हुने उनले बुझेका छन् । यही लहरमा भरत पनि अघि बढेका छन् ।

अब पनि नगरे एकदम ढिलो हुन्छु भन्ने सोच त छ नै, पप संगीत पछि परेको देखेर पनि उनमा जोश भरिएको छ । पप संगीतमा आफ्नो पुस्तासम्म जुन हिसाबले लगालग क्षमतावान् गायकहरु आइरहेका थिए, त्यसपछि पप गीतको चार्म एकदमै घटेको उनी चिन्तित छन् ।

‘हाम्रो पुस्ता भनेको पप म्युजिकमा स्टारडमको स्वाद अन्तिम थोपासम्म चाख्न पाउने पुस्ता हो’, उनी बताउँछन् । त्यो विरासतलाई निरन्तरता दिने नयाँ प्रतिभाको लामो समय खडेरी छाइरहँदा बीचमा धेरैपछि कमल खत्री ‘नोटिस’ भए ।

अहिले मान्छेहरुले संगीतको स्वाद अलि फरक खोजिरहेको उनले देखिरहेका छन् । त्यसले पप संगीतको पहिलाको जस्तै चार्म फर्किन्छ कि भन्ने आशा जगाएको छ । अहिलेका अडियन्सले संगीतमा आफ्नोपन खोजिरहेका छन् । उनको विश्लेषण छ, पहिले आइडियल मानेका पप गायकहरु कहीँ न कहीँ प्रभावित नै लाग्छन्, अबको बाटो पप संगीतलाई पश्चिमा छापबाट मुक्त गर्दै मौलिक स्वाद खोज्नतिर लाग्नुपर्छ ।

उनले बुझेका छन्, सधैं एउटा मान्छे चुचुरोमा बस्न सक्दैन र हरेक मान्छेको आफ्नो एउटा समय हुन्छ । तर, आफ्नो समयमा एक तहको चर्चा चाख्न नपाए पनि आफू चुचुरोमा भने पुग्न नपाएको एउटा तिर्खा छ यी गायकसँग ।

उनले त्यो बेला पप संगीतको आरोहणमा माथिल्लो आधार शिविर टेक्न भ्याए । अब दोस्रो इनिङमा उनले चुचुरो टेक्लान् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment