Comments Add Comment

होहल्लाका बीच महेश्वर दाहाल प्रेस सेन्टरको अध्यक्ष घोषित

९९ सदस्यीय कार्यसमितिका अन्य पद खाली राखियो

१४ असोज, काठमाडौं । माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको बन्दसत्रमा होहल्लाका बीच महेश्वर दाहालको अध्यक्षमा ९९ सदस्यीय नयाँ केन्द्रीय समिति घोषणा गरिएको छ । दाहाल नेतृत्वको कार्यसमितिमा असन्तुष्टि जनाउँदै केही प्रतिनिधिहरु होहल्ला गर्दै बन्दसत्रबाट बाहिरिएका छन् ।

Maheshwor-Dahal
महेश्वर दाहाल

दाहाल तत्कालीन माओवादी निकट क्रान्तिकारी पत्रकार संघको संस्थापक अध्यक्षसमेत हुन् । एक दशकपछि भएको पहिलो महाधिवेशनमा अध्यक्षका आकांक्षीहरु बढेर विवाद भएपछि मध्यमार्गी विकल्पको रुपमा दाहाललाई नै अघि सारिएको हो ।

दाहाल नेतृत्वको ९९ सदस्यीय नयाँ कार्य समितिमा पूर्वअध्यक्ष गोविन्द आचार्य र पूर्वमहासचिव ओम शर्मा पनि छन् । यसैगरी अहिलेको महाधिवेशनमा अध्यक्षमा दावी गर्दै आएका बलराम थापा, विष्णु सापकोटा ‘जुगल’, गोविन्द रोका ‘सचिन’, दीपक मैनाली, दिपेन्द्र रोकाया लगायत पनि छन् । तर, उनीहरु कसैको पनि पद खुलाइएको छैन । दाहाल नेतृत्वको नयाँ कार्यसमितिको बैठक बसेर पद तथा जिम्मेवारी टुंगो लगाउने भनिएको छ ।

बन्दसत्रमा होहल्ला

दाहालको नेतृत्वमा नयाँ कार्यसमितिप्रति माओवादी पत्रकारहरु असन्तुष्ट छन् । केही पत्रकारहरु नयाँ कार्यसमितिको विरोध गर्दै होहल्ला गर्दै बन्दसत्रबाट बाहिरिएका छन् ।

लोकतान्त्रिक विधि र प्रक्रियाबाट नयाँ नेतृत्व चयन नगरेर पार्टीका नेताहरुको हस्तक्षेपबाट दाहाललाई पुनः थमौति गरिएको असन्तुष्ट पक्षको भनाइ छ ।

दाहाल पार्टी बिभाजन भएपछि मोहन वैद्य नेतृत्वको माओवादीमा गएका थिए तर, बादलको नेतृत्वमा तत्कालीन एमाओवादीसँग उनी पार्टी एकता प्रक्रियामा आएका थिए ।

हाल माओवादी केन्द्रको पोलिटव्युरो सदस्य समेत रहेका दाहाल तत्कालीन क्रान्तिकारी पत्रकार संघको अध्यक्ष हुँदा पार्टीको मुखपत्र जनदिशा पत्रिकालाई टाट पल्टाएको, आर्थिक हिनामिना गरेको र संगठनको गरीमा घटाएको आरोप लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment