Comments Add Comment

बाल उद्यान विवादः उद्योग वाणिज्य संघ चितवनको नाममा निषेधाज्ञा

chitwan-district-court

२१ मंसिर, चितवन । टेण्डर बिनै बाल उद्यान सञ्चालन गर्न दिन उद्योग वाणिज्य संघ चितवनलाई जिल्ला अदालतले आदेश दिएको छ ।

ठेक्का सम्झौता रद्ध गरी संघले टेण्डर प्रकाशित गरेपछि राजधानी अम्युजमेन्ट राईटस् नेपाल काठमाडौंका अर्जुन चौधरीले जिल्ला अदालत चितवनमा निषेधाज्ञाको माग गर्दै उजुरी दिएका थिए । न्यायाधीश उमानाथ गौतमको एकल इजलासले बिना टेण्डर नै गरिएको सम्झौता बमोजिम काम गर्न भन्दै संघका नाममा निषेधाज्ञा जारी गरेको हो ।

उद्योग वाणिज्य संघ चितवनले आगामी पुस २५ गतेदेखि माघ ५ गतेसम्म सञ्चालन गर्न लागेको चितवन महोत्सवमा राखिने बाल उद्यानको सम्झौता बिना टेण्डर राजधानी अम्युजमेन्ट राईटससँग गरेपछि विरोध भएको थियो । विरोध पछि ठेक्का सम्झौता रद्द गरिएको भन्दै उद्योग वाणिज्य संघले नयाँ टेन्डर आह्वान गरेको सूचना प्रकाशित गरेको थियो । त्यसविरुद्ध राजधानी एम्युजमेन्ट राईटस् नेपाल काठमाडौंका अर्जुन चौधरीले कानुनी उपचार खोजेका थिए ।

अदालते चितवन महोत्सव २०७३ को सचिवालय र संघका अध्यक्ष राजन गौतमका नाममा निषेधाज्ञा जारी गरेको अदालतका नायव सुब्बा कृष्ण लामिछानेले जानकारी दिए । ‘टेण्डरको कुरा अदालतले जान्ने कुरा भएन,’ लामिछाने भने, ‘अदालतले विधि र कानुन सम्मत कुरालाई मात्रै हेर्दछ ।’

उद्योग वाणिज्य संघलाई सार्वजनिक खरिद ऐन आकर्षित नहुने लामिछानेको भनाई छ ।

संघले बिना टेण्डर गत असार ९ गते राजधानी एम्युजमेन्ट राईटस् नेपाल काठमाडौंका अर्जुन चौधरीसँग १५ लाख रुपैयामा बाल उद्यान सञ्चालन गर्न दिने सम्झौता गरेको थियो । त्यसबाफत् चौधरीले संघलाई पेश्की स्वरुप १ लाख रुपैयाँसमेत दिइसकेका थिए ।

जिल्ला विकास समिति चितवन, भरतपुर उपमहानगरपालिका र रत्ननगर नगरपालिका सहआयोजक रहँदै आएको चितवन महोत्सवमा सार्वजनिक खरिद ऐन अन्तर्गत कुनै पनि प्रक्रिया अगाडि नबढ्दा सहआयोजक स्थानीय निकाय पनि अप्ठ्यारोमा परेका छन् ।

लुकाउने सम्झौता १५ लाखको, देखाउने २२ लाखको

चितवन महोत्सवमा राखिने बाल उद्यानका लागि राजधानी अम्युजमेन्ट राईटस् नेपाल काठमाडौंसँग २ थरीका एकै प्रकृतिका सम्झौता गरिएको छ । संघका अध्यक्ष राजन गौतमले सम्वन्धित कम्पनीसँग २२ लाख रुपैयाँ उद्योग वाणिज्य संघले पाउने गरी सम्झौता भएको बताए पनि राजधानी अम्युजमेन्ट राईटस् नेपाल काठमाडौंले १५ लाख रुपैयाँमात्र दिने गरी संघसँग भएको सम्झौताको कपी अदालतमा पेश गरेको छ ।

उद्योग वाणिज्य संघले परम्परागत रुपमा बाल उद्यान सञ्चालनको जिम्मा यही कम्पनीलाई दिँदै आएको देखिएको छ । सधैं एकै ब्यक्तिलाई र दुई थरी सम्झौता गरेर कमिसन खाने काम भएको आरोप उद्योग वाणिज्य संघ माथि लाग्दै आएको छ ।
‘सम्झौता गरिएको कम्पनीलाई अरु कारोवार गर्न सजिलो होस् भनेर दुई थरी सम्झौता गरिएको हो,’ संघका अध्यक्ष राजन गौतमले भने, ‘अब उसले बेइमानी गर्छ भन्ने के थाहा ?’

टेण्डर अझै खुलेन

बिना टेण्डर सम्झौता गरेको भनेर सञ्चारमाध्यमहरुमा समाचार आएपछि उद्योग वाणिज्य संघ चितवनले सम्झौता रद्ध गरी गत कात्तिक २९ गते १५ दिनको म्याद राखी बोलपत्र आहृवान गरेको थियो । अदालतमा मुद्दा परेको भन्दै तत्कालका लागि टेण्डर स्थगित गरिएको संघ निकट स्रोतले जानकारी दियो ।

टेण्डर हाल्न भन्दै ४ वटा संस्थाले फारम लगेको संघका अध्यक्ष राजन गौतमले जानकारी दिए । ‘अब टेण्डर के गर्ने भन्ने बारेमा संघमा छलफल जारी छ,’ अध्यक्ष गौतमले भने, ‘अदालतको आदेशबिरुद्ध पुनरावेदन जाने बारेमा पनि छलफल भएको छ ।’

टेण्डर प्रक्रियामा गर्नुपर्ने काम सहमतिमा गरेर वर्षौंदेखि एउटै व्यक्तिलाई दिइएपछि उद्योग वाणिज्य संघ चितवनको आलोचना समेत भएको छ ।

उद्योग वाणिज्य संघ चितवनले आगामी पुस २५ देखि माघ ५ गतेसम्म चितवन महोत्सव गर्दै छ । संघले प्रत्येक दुई-दुई वर्षमा गर्दै आएको चितवन महोत्सवमा करोडौंको कारोबार हुने गरेको छ ।

–  सुवास पण्डितबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment