Comments Add Comment

एक वर्षमा झन्डै २३ हजार नेपाली विद्यार्थी अष्ट्रेलिया पुगे

सिड्नी । सन् २०१६ मा नेपालबाट २२ हजार ८ सय १२ जना विद्यार्थी अष्ट्रेलियामा पढ्न आएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा १५.९ प्रतिशतले बढि हो ।

सन् २०१५ मा नेपालबाट १९ हजार ६ सय ८२ जना विद्यार्थी अष्ट्रेलिया पढ्न आएका थिए । २०१६ मा धेरै संख्यामा अष्ट्रेलिया पढ्न आउने विद्यार्थीको सुचीमा नेपाल आठौं स्थानमा छ ।

अष्ट्रेलियाको शिक्षा तथा तालिम विभागले प्रकाशित गरेको तथ्यांक अनुसार २०१६ मा धेरै संख्यामा अष्ट्रेलिया पढ्न आउने विद्यार्थीहरुको सुचीमा नेपाल आठौं स्थानमा रहेको छ । यो वर्ष विश्वभरबाट जम्मा ५ लाख ५४ हजार १ सय ७९ विद्यार्थीहरु अष्ट्रेलियामा पढ्न आएका छन् । यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च भएको विभागले जनाएको छ । २०१५ को तुलनामा बिदेशी बिद्यार्थीको संख्यामा यो बर्ष १०.९ प्रतिशतले बृद्धि भएको छ ।

सन् २०१६ मा सबैभन्दा बढी विद्यार्थी चीनबाट आएका छन् । चीनबाट आएका विद्यार्थीको संख्या १ लाख ९६ हजार ३ सय १५ रहेको छ । यो २०१५ को तुलनामा १५.७ प्रतिशत बढि हो । यसैगरी दोस्रो स्थानमा भारत रहेको छ, जहाँबाट ७८ हजार ४ सय २४ विद्यार्थीहरु आएका छन् । यो २०५ को तुलनामा ८.९ प्रतिशतले बढि हो । टप ५ मा पर्ने अन्य देशहरुमा कोरिया, थाइल्याण्ड र भियतनाम रहेका छन् ।

अष्ट्रेलियाका शिक्षा तथा तालिम मन्त्री सिमोन बिर्मिङ्घमले भने, ‘विदेशबाट आउने विद्यार्थीहरुको कीर्तिमानी संख्या र उनीहरुले प्राप्त गरेको सन्तुष्टीका आधारमा अष्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षामा २०१६ ऐतिहासिक रह्यो र यसले हाम्रो देशको राष्ट्रिय अर्थतन्त्र र सामाजिक समृद्धिमा महत्वपूर्ण योगदान गरेको छ ।’

अष्ट्रेलिया नेपाली बिद्यार्थीका लागि मूख्य गन्तब्य बन्दै गइरहेको छ । सन् २०१५ मा अष्ट्रेलियाले भिषा नीतिमा परिवर्तन गर्दै नेपाललाई कम जोखिमयुक्त सूचीमा अपग्रेड गरेपछि नेपाली बिद्यार्थीको संख्या झनै बढ्दोक्रममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment