Comments Add Comment

हामी नेपाली लगायत बहुसांस्कृतिक समुदायको हितमा केन्द्रित हुनेछौं : जोडी म्याकी

 आगामी मार्च २३ मा न्यु साउथ वेल्स राज्यमा राज्य सभाको चुनाव हुँदैछ । बिगतमा जस्तै यो चुनावमा पनि यहाँका उम्मेदवारहरुले नेपाली मुलका मतदाताहरुलाई आकर्षित गरिरहेका छन् ।

न्यु साउथ वेल्सको स्टार्थफिल्ड चुनाब क्षेत्र कि एक उमेद्वार हुन् जोडी म्याकी । उनी यहाँको लेबर पार्टीकी नेत्री पनि हुन् । न्यु साउथ वेल्स राज्य संसदकी सांसद पनि हुन् । उनले रंगशाला होइन स्कुल र अस्पताल बनाउने आफ्नो नारा अगाडि सारेकी छिन् ।

प्रस्तुत छ उनीसंग अनलाइनखबरले गरेको कुराकानी :

मिस जोडी, तपाईको चुनावी अभियान कसरी अगाडि बढ्दै छ ?

एकदमै राम्रो तरिकाले अगाडि बढ्दै छ । गत हप्ताभरि नै चुनावभन्दा पहिला गरिने सर्वेक्षणमै व्यस्त रह्यौं । सोमबारदेखि मतदान केन्द्रहरु खुला भए र मानिसहरुले यही मार्च २३ सम्म भोटिङ गर्न पाउनेछन् । चुनावी अभियान एकदमै सकारात्मक ढंगले अगाडि बढिरहेको छ । मार्च २३ लाई ठूलो दिनको रुपमा लिदै यसको तयारी गर्दै छौं । विगत चार वर्षदेखि अहिलेसम्मको हामीले गरेका कडा मिहिनेतका कारण पनि यसपटक सफलता हासिल गर्नेमा एकदमै विश्वस्त छौं ।

तपाईको निर्वाचन क्षेत्रमा नेपाली समुदायको उपस्थितिलाई कसरी हेर्नुभएको छ ?

अहिलेको सन्दर्भमा मेरो निर्वाचन क्षेत्रमा नेपाली समुदाय एकदमै छिटो वृद्धि भएको समुदायमा पर्दछ । स्थायी बसोबास पाएका, नागरिकता पाएका नेपालीहरुको मात्र कुरा होइन, यहाँ पढ्न आउने विद्यार्थीहरुको संख्या पनि त्यसरी नै वृद्धि भइरहेको छ । सिड्नी युनिभर्सिटी, यूटीएस जस्ता प्रख्यात विश्वविद्यालयहरु मेरो निर्वाचन क्षेत्रबाट तुलनात्मक रुपले नजिकै पर्ने भएकोले पनि यो क्षेत्रमा विद्यार्थीहरुको उपस्थिति बाक्लिदो छ । मैले प्रतिनिधित्व गर्ने विभिन्न समुदायहरु मध्ये नेपाली समुदाय पनि एउटा महत्वपूर्ण अंग हो । नेपालीहरुको समुदायमा हुने सकारात्मक स्प्रिट, काम गर्ने इच्छाशक्ति, आफ्नै समुदायभित्र पनि एक अर्काप्रतिको सहयोगी भावनाका कारणले पनि नेपालीहरुसँग काम गर्न मन पर्छ ।

तपाईलाई नेपाली लगायत अन्य आप्रवासी समुदायले भोट किन गर्ने ?

फरकफरक समुदायहरु बसोबास गर्ने क्षेत्रहरु मध्ये मेरो क्षेत्र पनि अग्रस्थानमा पर्छ । चाइनीज, नेपाली, कोरियन, इण्डियन, भियतनामीलगायतका समुदायहरु एकदमै छिटो वृद्धि भइरहेको समुदायमा पर्छ । सबैलाई समान अवसर दिनुपर्छ भन्ने कुरामा म निश्चिन्त छु । म हरेक समुदायका कार्यक्रमहरुमा सहभागी भइरहेको हुन्छु र हरेक समुदायका आफ्ना आफ्ना भाषाका विद्यालय खोल्ने कुरामा मेरो पूर्ण समर्थन छ र त्यही प्रकारले सहयोग पनि गर्न तयार छु । स्थायी बसोबास नपाएका नेपालीहरुलाई पनि धेरै सहयोग गर्नुपर्ने छ । म गत सप्ताहन्तमा घरेलु हिंसामा परेका महिलाहरुलाई मेडिकल सहयोग गरेको वुमन्स फोरममा पनि सहभागी भए । मैले देखिरहेको छु कि नेपाली समुदाय एक अर्कामा इन्गेज्ड छन् र साथसाथै चलायमान पनि, त्यसैले नेपालीहरुमा रहेको यो स्पिरिटलाई कायम राखिराख्न मैले आफ्नो ठाउँबाट नेतृत्व लिनेछु ।

भिक्टोरिया राज्यले विभिन्न समुदायसँग एक विशिष्ट अन्तर्राष्टिय सम्बन्ध विस्तार गरेको सुन्नमा आएको छ । न्यु साउथ वेल्स राज्य र नेपाल सरकारबीच सम्बन्ध जोड्न यहाँको धारणा के छ ?

मलाई लाग्छ यो एकदम महत्वपूर्ण कुरा हो । करिब पाँच वर्षसम्म यो विषयमा केही सोचिएको पनि थिएन र अब सोच्ने बेला आयो जस्तो लाग्छ । नेपालीहरुको बढ्दो संख्यासँगै भिक्टोरियाले यस्तो कदम चालेको हो । यो विषयलाई संस्थागत गर्ने अवसर हामीलाई पनि आएको हो कि भन्ने अनुभूति हुन्छ । अन्तर्राष्टिय विद्यार्थीहरु अस्टेलिया आएर उच्च शिक्षा हासिल गर्ने मात्र भन्दा पनि यहाँको युवा पुस्तासँग आजीवन सम्बन्ध स्थापित गर्न सक्छन् । यही कुरालाई मध्यनजर गर्दै अन्तर्राष्टिय विद्यार्थीहरुलाई पनि सहयोग पुग्ने किसिमको संस्थाको स्थापना गर्न एकदमै महत्वपूर्ण हुन्छ र सरकारले यस विषयमा चासो राख्नुपर्छ र राख्नेछ ।

अस्टेलियामा उच्चस्तरीय जीवनयापनका लागि नेपाली र अन्य दक्षिण एसियाली मुलुकहरुबीचको एकतालाई बलियो पार्न तपाईसँग के कस्ता नीतिहरु छन् ?

अन्य समुदायहरुको जस्तै नेपाली समुदायको चिन्ता र चासो पनि एकदमै महत्वपूर्ण हो । नेपाली समुदायलाई यस्तो समुदाय चाहिएको छ जुनमा एक किसिमको एकता र एकरुपता होस । तर, यो सँगसँगै बढ्दो भीडभाड, महँगी, अधिविकासलगायतका समस्याहरुबाट ग्रसित छन् । अन्य समुदायलाई जस्तै नेपाली समुदायका बालबालिकाहरुको स्कुल खर्च, बढ्दो यातायात खर्च, बढ्दो विद्युत दर लगायतका अन्य समस्याहरुले उनीहरुको जनजीवन कष्टकर बनाउँदै लगिराखेको छ, जुन कुरामा हामीले विशेष ध्यानाकर्षण गरेका छौं । सबैकोलागि भाषा एकदमै महत्वपूर्ण कुरा हो । सामुदायिक भाषा विद्यालय स्थापनामा हामीले ठूलो लगानी गर्दैछौं । सबै विद्यालयले विभिन्न भाषामा अध्यापन गराउन त सक्दैन तर हामीले बनाउने भनेको बहुसाँस्कृतिक सिड्नी र वहुसाँस्कृतिक न्यु साउथ वेल्स हो । आफूलाई मन लाग्ने भाषा बोल्न, पढ्न पाउनु र आफ्नो संस्कृति जगेर्ना गर्न पाउनु सबैको अधिकार हो र यो कुरामा हामी एकदम सकारात्मक छौं र त्यसका लागि हामी काम पनि गरिरहेका छौं । सबैका आफ्ना आफ्ना समस्याहरु छन्, तर कुनै समुदायमुदायलाई आवश्यक परेको खण्डमा आफ्नो समुदायको समर्थन गर्न म सदैब तयार छु ।

अन्त्यमा, आफ्ना मतदाताहरु साथै नेपाली समुदायलाई तपाई के सन्देश दिन चाहनुहुन्छ ?

हामी यो सुनिश्चित गर्न चहन्छौं कि सरकारको तर्फबाट सबैलाई समान र निष्पक्ष सहयोग पुग्नेछ । पूर्वाधारमा सबैलाई समान पहुँच गराउने कुरा पनि म सुनिश्चित गर्न चाहन्छु । जसमा मुख्य पूर्वाधार विकासका योजनाका लागि सरकारले १४ अर्ब डलर लगानी गरेको छ । रंगशाला निर्माणका लागि साढे दुई अर्ब डलर खर्च गर्दैछौं । साथसाथै विद्यालय र अस्पतालका लागि पनि हामीले त्यही मात्रामा लगानी गर्दैछौं । हामीलाई थाहा छ यहाँको जीवन यापन खर्च एकदमै महँगो छ । विद्यार्थीका लागि नि:शुल्क यातायात तथा सबै विद्यालयमा एयर कन्डिसनको व्यवस्था गर्ने कुराहरु महत्वपूर्ण छन् । त्यस्तै, हजारौं संख्यामा नर्सहरु थप्नु पर्ने आवश्यकता छ । त्यसैले नेपाली समुदाय लगायत सबैलाई के विश्वास दिलाउन चाहन्छु भने यस्ता विषयहरुलाई हामीले समयमै सम्बोधन गर्नेछौं ।

तपाईको समयको लागि धेरै धेरै धन्यवाद

तपाईलाई पनि सुन्दर प्रश्नहरु सोध्नुभएकोमा धेरै धेरै धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment