७ चैत, काठमाडौं । लिओनल मेस्सीको दुई गोलको मदतमा बार्सिलोनाले ला लिगामा भ्यालेन्सियालाई हराएको छ र, लिग लिडर रियल मड्रिडसँगको अंक दुरी २ मा झारेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित भ्यालेन्सियालाई ४-२ गोल अन्तरले हराएको हो ।
बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा भ्यालेन्सियाले २९ औं मिनेटमा मान्गालाको गोलबाट अग्रता लिएको थियो । तर, धेरैबेर जोगाउन सकेन ।
३५ औं मिनेटमा लुइस स्वरेजले बराबरी गोल गरे । ४४ औं मिनेटमा मान्गालाले रातो कार्ड पाए भने बार्सिलोनाले पेनाल्टी पायो, जसमा मेस्सीले सहजै गोल गरे ।
तर, लगतै मुनिरले पूर्व क्लब बार्सिलोनाविरुद्ध गोल गर्दैै खेललाई २-२ को बराबरीमा पुर्याए ।
दोस्रो हाफमा भने बार्सिलोना हावी भयो । ५२ औं मिनेटमा मेस्सीले गोल गर्दै घरेलु टोलीलाई ३-२ को अग्रता दिलाए । निर्धारित ९० मिनेटमा खेल सकिन एक मिनेट मात्र बाँकी छँदा आन्द्रे गोमेजले गोल गर्दै बार्सिलोनालाई ४-२ को जित दिलाए ।
जितपछि बार्सिलोनाको २८ खेलबाट ६३ अंक भएको छ भने लिग लिडर रियल मड्रिडको ६५ अंक छ र उसले एक खेल कम खेलेको छ ।