Comments Add Comment

प्रमुख निर्वाचन आयुक्त यादव भन्छन्ः हेर्दै जानोस् मधेसी मोर्चा चुनावमा आउँछ (भिडियोसहित)

'मोर्चा नआए पनि चुनाव सफल हुन्छ'

१२ चैत, बिराटनगर । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मधेसी मोर्चा चुनावमा आउने दाबी गरेका छन् । शनिबार बिराटनगर आइपुगेका प्रमुख आयुक्त यादवले पत्रकारहरुसँग भने- ‘तपाईंहरु हेर्दै जानोस्, मोर्चा पनि आउँछ निर्वाचनमा ।’
केही साताअघि सप्तरीमा आफ्नो घरमा मधेसी मोर्चाका कार्यकर्ताले तोडफोड गरेको घटनालाई यादवले ‘सामान्य’ भन्दै चुनावमा त्यस्ता घटनाहरुलाई ठूलो रुपमा लिन नहुने बताए ।तर, मधेसी मोर्चा चुनावमा आएन भने पनि चुनाव सफल भईछाड्ने यादवले बताए । उनले भने- ‘मोर्चाको सहभागिता नभए पनि निर्वाचन त सफल हुन्छ ।’

यादवको भनाइ उनकै शब्दमाः

अघिल्लोपटक काठमाडौंमा गाडीको सिसा पनि फोडियो, त्यतिबेला पनि निर्वाचन गरेकै हो । म त्यसबेला निर्वाचन आयोगको सदस्यका रुपमा निर्वाचन कार्यमा सहभागी भएको थिएँ ।

यसपालि पनि मधेसी साथीहरु, तपाई पत्रकार साथीहरुले पनि यो कुरा बुझिराख्नुभएको छ, अब आन्दोलन गर्दाखेरि कसको के-के हुन्छ, म काठमाडौंमा थिएँ, मेरा केटाकेटीहरु राजविराजमा थिए । घरमा अब त्यस किसिमको घटना भयो । अब त्यसैलाई निहुँ बनाउन पनि भएन । त्यो एउटा आक्रोश थियो, भयो । त्यसलाई हामीले अन्यथा लिएका छैनौं ।

विभिन्न राजनीतिक दलहरुको उपस्थिति कहाँ छ छैन भन्ने कुरामा हाम्रो ‘कन्सर्न’ भन्दा पनि निर्वाचनको बेलामा राजनीतिक दलहरु सबै आउनुपर्छ ।

अहिले मधेसमा जुन समस्या छ, त्यो समस्याको समाधानका लागि पनि हामी सबैले ‘एप्रोच’ गरिराखेका छौं । किनकि निर्वाचन आयोगको पनि एउटा कर्तव्य के हो भने राजनीतिक दलहरुवीच सहमति, समन्वयन र सहकार्य हुनुपर्छ । किनकि, दलीय आधारमा स्थानीय तहको निर्वाचनको जो कल्पना गरिएको छ र संविधानमा जुन व्यवस्था छ, त्यसमा दलको सहभागितालाई प्राथमिकतामा राखिएको छ ।

दलहरुवीचको सहयोग, समन्वय सदभावलाई हामीले बढीभन्दा बढी ‘प्रमोट’ गर्नुपर्छ । त्यसका लागि हामीले आह्वान गरिराखेका छौं ।

अब कुन दलले कहाँ भाग लिन्छ, लिँदैन, अवस्था कमजोर छ, यो बलियो अवस्था हुँदै जान्छ क्रमशः । यसलाई जीर्ण नपारौं, बलियो पारौं । यसका लागि सबैले सहयोग गरौं ।

मोर्चाको सहभागिता नभए पनि निर्वाचन त सफल हुन्छ । तपाईहरु हेर्दै जानोस् न, मोर्चा पनि आउँछ निर्वाचनमा । म विश्वस्त छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment