Comments Add Comment

सफलताको कथाः सम्बन्ध टुट्यो, पार्टनरसिप छुटेन

१३ चैत, काठमाडौं । सम्बन्धबिच्छेदपछि कैयन जोडीहरुको भेटघाट मात्रै होइन, बोलीचाली नै बन्द भएको भेटिन्छ । सम्बन्धबिच्छेद पछि कैयनको जिन्दगी त समस्या नै समस्याको भूमरीमा फस्छ ।

पत्याउनै गाह्रो हुने र अचम्म लाग्ने अष्ट्रेलियन एक डिभोर्सी जोडीले भने बोलचाल र भेटघाट मात्रै होइन, सँगै मिलेर चर्चित जुत्ता कम्पनी नै सञ्चालन गरिरहेको भेटिएको छ ।

सिड्नीमा जुत्ता कम्पनी प्रे स्थापना गरेको तीन वर्ष बित्न नपाउँदै माइकल र जोडी फक्सको बैबाहिक जीवन डिभोर्समा परिणत भएको थियो । तर, उनीहरु अहिले पनि सँगै बसेर काम गरिरहेका छन् ।

पहिलेको श्रीमान-श्रीमतीको सम्बन्ध अहिले व्यवसायिक पार्टनरमा बदलिएको छ । उनीहरु एक अर्कालाई साथी मान्छन् र व्यवसायिक साझेदार ।

२० वर्ष नै नपुग्दै बिहे गरेको यो जोडीको घरबार भने बनेन । दुईबीच मनमुटाब बढ्दै गएपछि छुटि्टएर बस्ने निर्णय गरेको यो जोडीले व्यवसाय भने सँगै गर्ने सोच बनायो ।

कम्पनी स्थापना गर्न लाग्दै गर्दा जोडी र माइकलबीचकोे सम्बन्ध राम्रो थिएन । तर, उनीहरुको बिग्रेको सम्बन्धले कम्पनीलाई भने कुनै असर गरेन । किनकि उनीहरुको कम्पनीमा अर्का संस्थापक माइक पनि संस्थापक लगानीकर्ताका रुपमा रहेका छन् । माइकल र जोडीले माइकलाई कानून अध्ययनको क्रममा भेटेका थिए ।

पहिले साथी, श्रीमती अनि फेरि साथी

माइकल र जोडीको भेट कानुनको अध्ययन गर्ने क्रममा बि्रसबेनमा भएको थियो । साथीको सम्बन्ध प्रेमपछि बिबाहमा परिणत भएको थियो । प्रेम सम्बन्धका कारण नै उनीहरुले २० वर्ष नपुग्दै बिहे गरेका थिए ।

तर, कम उमेरमा बिहे गरेको यो जोडीको बिहे पनि कम समयमै टुट्यो । बिबाह पश्चात उनिहरु फेरि एक अर्कालाई साथी र व्यवसायी पार्टनरका रुपमा हेर्न थाले ।

कसरी जन्म्यो जुत्ता कम्पनी प्रे ?

जोडी २५ वर्षको हुँदा उनले सिड्नीमा मार्केटिङको काम गर्ने गर्थिन् । यसैक्रममा नै उनले एकदिन एक जुत्ताको डिजाइन गरिन् । उनको डिजाइन उनका कैयन केटी साथीहरुलाई मन पर्‍यो ।

जोडीले भनिन् ‘मलाई जुत्ता मन पर्छ, तर मैले जुत्ता डिजाइन नगर्दासम्म मलाई के मन पर्छ भन्ने नै थाहा थिएन, मेरा साथीहरुले मेरो डिजाइन मन पराएर आफ्ना लागि पनि डिजाइन गरिदिन आग्रह गरेका थिए । ‘

माइकल र माइकले जोडीको यो जुत्ता डिजाइन गर्ने सीपलाई नै व्यवसाय बनाउने सोच बनायो । तीनजना मिलेर यसलाई व्यवसायमा बदल्ने निधो गरे । व्यवसाय सुरुवातका क्रममा उनीहरुले वेबसाइट मार्फत जुत्ता डिजाइन गरेर पठाउने काम गरे ।

तर, अहिले उनीहरुको कम्पनीमा अहिले १२ सेपको १ सय ७० भन्दा बढि रङ डिजाइनमा जुत्ता छान्न सकिन्छ । किनकि दुई महिनाभित्रमा नै उनिहरुको कम्पनीले चर्चा कमायो । त्यस्तै दुई वर्षमा भने यसले लाखौ डलर बराबरको रकम संकलन गर्न सफल भयो ।

गत वर्ष मात्रै उनीहरुले आफ्नो मुख्य कार्यालयलाई अष्ट्रेलियाबाट अमेरीकामा सारेका छन् ।

डिभोर्सी जोडीको बेलाबेलामा मिटिङ

कम्पनीमा उनीहरुको मनमुटावले कहिले असर गरेन । डिभोर्सपछि उनीहरु पार्टनर र साथी बने । र, एक अर्कासँग राम्रो व्यवहार गर्न सके, जसका कारण नै उनीहरुको जुत्ता कम्पनी अहिले चर्चित जुत्ता उत्पादक कम्पनीको रुपमा चिनिएको छ ।

२० वर्ष पुग्नु अगावै बिहे गरेको यो जोडीको सन् २०१२ मा डिभोर्स भएको थियो । उनीहरु बिहेपछि घरबारको रुपमा छुटि्टए । तर, व्यवसायमा भने संगै रहे ।

अहिले कम्पनीमा जोडी चिफ क्रियटिभ अफिसरका रुपमा रहेकी छन् भने माइकल कम्पनीको सीइओ छन् ।

३४ वषर्षीया जोडी भन्छिन् ‘माइकलसँग सँगै काम गर्दा अचम्ममा परेकी छु , संगै काम गर्न पाउँदा मैले आफूलाई भाग्यमानी ठानेको छु । डिभोर्सपछि कैयन जोडीहरु बोलचाल समेत गर्दैनन्, तर हामी भने सौहार्दपूर्ण वातावरणमा मिटिङ बस्छौं ।’

डिभोर्सपछि जोडीका केही दिनहरु सहज हुन सकेनन् । जसका कारण उनी डिप्रेसनमा नै परिन् । तर, अहिले भने उनी लस एन्जेल्समा बस्छिन् र उनको स्वास्थ्यको अवस्था पनि राम्रो छ ।

उनले भनिन् ‘एक व्यवसायीका लागि असफलता भनेको ठूलो कुरा हो, म पटक-पटक असफल भएँ । तर, हार खाइनँ । जसका कारण नै आज सफलतामा छुजस्तो लाग्छ ।

सन् २०१३ सम्म उनीहरुको कुनै उत्पादन तथा बिक्री कक्ष थिएन । उनीहरु डिजाइन मात्रै तयार पार्दथेे । तर, सन् २०१३ मा भने उनीहरुले आफ्नो बिक्री कक्ष नै खोले ।

जोडी भन्छिन् ‘ कैयन ग्राहकहरुले हाम्रो अफिसमा आएर जुत्ता लगाएरै परीक्षण गर्न खोजे, जसका कारण हामीले डिपार्टमेन्ट स्टोरमा पसल नै खोल्यौं ।’

अहिले भने प्रेको अमेरिकामा मात्रै ५ वटा स्टोर रहेका छन् । साथै प्रेले अहिले २२० जना भन्दा बढी कामदारलाई रोजगारी समेत प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment