Comments Add Comment

अमेरिकी ग्रीनकार्डले गर्दा गुम्यो मेयरको टिकट !

रामेछाप कांग्रेसले फेर्‍यो मन्थली मेयरको उम्मेदवार

१९ बैशाख, रामेछाप । पार्टीले मेयरका लागि तय गरेको उम्मेदवार अमेरिकी ग्रीनकार्ड होल्डर भएपछि रामेछाप कांग्रेसले मनोनयन दर्ता गर्ने बिहान उम्मेदवार परिवर्तन गरेको छ । कांग्रेसले मन्थली नगरपालिकाको प्रमुखमा निर्णय गरेका युवराज भट्टराई अमेरिकाको ग्रीनकार्डधारी नागरिक भएको खुलेपछि उनको ठाउँमा गुञ्जबहादुर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसअघि आइतबार नेपाली कांग्रेस रामेछापले जिल्लाका २ वटा नगरपालिका र ६ वटै गाउँपालिकाका सबै पदाधिकारीहरुको नाम सार्वजनिक गरेको थियो । सो कार्यक्रममा युवराज भट्टराईलाई मन्थली नगरपालिकाको प्रमुख र मिना कार्कीलाई कांग्रेसले उपप्रमुख बनाएको घोषणा गरेको थियो ।

भट्टराई रामेछाप कांग्रेसका पुराना नेता हुन् । उनी कांग्रेस नेता गणेशमान सिंहका अनुयायी मानिन्छन् । गणेशमान सिंहको नेतृत्वमा २०५१ सालको मध्यावधि निर्वाचनमा नेपाली कांग्रेसमा विद्रोह हुँदा भट्टराई रामेछाप निर्वाचन क्षेत्र नम्बर १ बाट विद्रोही उम्मेदवार बनेका थिए ।

उनले त्यतिबेला २ हजार २ सयभन्दा बढी मत ल्याएका थिए । उनकै उम्मेदवारीका काण कांग्रेसका आधिकारीक उम्मेदवार लक्ष्मणप्रसाद घिमिरे एमालेका उम्मेदवार देवशंकर पौडेलसँग ११ मतले पराजित भएका थिए ।

सो निर्वाचनपछि जिल्ला छाडेका भट्टराई अमेरिका पुगेका थिए । उनले त्यहीँ बस्ने क्रममा अमेरिकाको ग्रीनकार्ड प्राप्त गरेका थिए । गि्रनकार्ड लिएका भट्टराई केही समययता पुनः कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए । गएको संविधानसभा निर्वाचनमा समेत उनले उम्मेदवारीको दावी गरेका थिए ।

अहिले पनि उनीसहित गुञ्जबहादुर श्रेष्ठ, विनोद कार्की, गंगा अधिकारी, कुमार श्रेष्ठ, शंकर अधिकारी, ध्रुव सुवेदी लगायतका नेताहरु टिकटका दावेदार थिए । सबैलाई पछि पार्दै भट्टराईलाई कांग्रेसले उम्मेदवार बनाएको एकदिन नवित्दै उम्मेदवार परिवर्तन गरेको छ ।

अहिले कांग्रेसले उम्मेदवार बनाएका गुञ्जबहादुर श्रेष्ठ शिक्षण पेशाबाट राजनीतिमा आएका हुन् । भाषा पाठशालादेखि शिक्षण पेशा गर्दै आएका श्रेष्ठले ६० वर्षे उमेरको हदवन्दिको कारण शिक्षण पेशाबाट राजिनामा दिएका थिए । त्यसपछि पनि उनी मन्थली सहिदस्मृती बहुमुखी क्याम्पसको प्रमुखको रुपमा काम गर्दै आएका थिए । उनले क्याम्पस प्रमुखबाट केही समय अघि राजिनामा गरेका थिए । उनी नेपाल शिक्षक संघको केन्द्रीय सदस्य भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment