Comments Add Comment

को हुन् मानबहादुर जिसी ? जसले पोखरामा कांग्रेस-माओवादी गठबन्धनलाई हराए

१२ जेठ, पोखरा । देशकै ठूलो महानगर पोखरा लेखनाथको चुनावमा कांग्रेस माओवादी एकातिर र एमाले एक्लै अर्कोतिर थियो । तर, सत्तारुढ गठवन्धनमाथि एमाले एक्लै हाबी भयो र, पोखराको पहिलो मेयर बन्न सफल भएका छन् मानबहादुर जिसी । को हुन् त जिसी ? जसले निकटतम प्रतिद्वन्द्वी रामजी कुँवरलाई झण्डै १४ हजार मतान्तरले पराजित गर्दै पोखराको नेतृत्वमा बाजी मारे ।

मानवहादुर जिसी एमालेका ‘लो प्रोफाइल तर हाइ मोराल’ भएका नेता हुन् । पोखराको मेयरको चुनाव जित्नु अघि उनले मिनी चुनाव जितिसकेका थिए । उम्मेदवार छनोटका लागि एमाले कास्कीले चुनाव गरेको थियो, जहाँ उनले पूर्व मेयर तथा पार्टी जिल्ला अध्यक्ष कृष्ण थापा, युवा संघका अध्यक्ष राजिव पहारीदेखि जिल्ला उपसभापति श्रीनाथ बराललाई पछि पारे ।

पार्टीभित्रको आन्तरिक चुनावमा जस्तै उनले पोखरा लेखनाथ महानगरको चुनावमा पनि शानदार जित निकालेका छन् । उनको राजनीतिक जीवनको यो आजसम्मकै सबैभन्दा ठूलो उपलब्धी हो ।

चार महानगरपालिकामा एमालेले शुरुमा पार्टीका पदाधिकारी वा स्थायी कमिटी तहका नेतालाई उठाउन खोजेको थियो ।

तर, अन्त्यमा सबैभन्दा माथिल्लो तहबाट उम्मेदवार बन्ने मानबहादुर जिसीमात्र भए । जिसी एमालेका बैकल्पिक केन्द्रीय सदस्य हुन् । अरु महानगरपालिकाका उम्मेदवार केन्द्रीय कमिटी सदस्य पनि होइनन् ।

पार्टीभित्र त्याग, इमान्दारिता र नैतिकताको हिसाबले सधै अगाडि रहेका जिसी अवसर पाउने सवालमा पछि पर्दै आएको टिप्पणी कार्यकर्ताले गर्थे । पछिल्लो समयमा खगराज अधिकारीको दपेटाइमा परेका जिसीलाई प्रभावशाली युवा नेता रविन्द्र अधिकारीले दह्रो साथ दिए । सिंगो पार्टी एकजुट भएर उनलाई जिताउन लाग्यो र पोखरामा एमालेले लालकिल्ला कायम राख्यो ।

को हुन् मानबहादुर जिसी ?

पोखराका नवनिर्वाचित मेयर जिसीको जन्म २०१७ साल भदौ १७ गते भएको हो । चार दाजुभाई मध्ये जिसी जेठो छोरा हुन् उनको स्थायी घर साविक कालिका गाविस तथा हालको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २८ मा पर्छ । उनी गत संविधानसभा निर्वाचनमा कास्की १ बाट उम्मेदवार बनी करीव डेढ सय मतले कांग्रेसका यज्ञबहादुर थापासँग पराजित भएका थिए ।

शिक्षा शास्त्रमा स्नातक गरेका जिसीले राजनीतिक यात्रा भने तत्कालिन माले निकट अखिलबाट सुरु भएको थियो । उनी २०३७ सालमा अखिलको पृथ्वीनारायण क्याम्पस प्रारम्भिक कमिटीका अध्यक्ष बनेका थिए ।

त्यसपछि २०३९ मा जिल्ला कमिटी उपाध्यक्ष हुँदै २०४१ मा पार्टीको संगठित सदस्यता लिएका थिए । जिसी तत्कालिन कालिका गाउँ कमिटीका सचिव, ईलाका कमिटी सचिव हुँदै २०५० मा जिल्ला कमिटी सदस्य भएका थिए । सोही समयमा उनी क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष बने ।

२०६८ मा जिल्ला कमिटी सचिव (प्रमुख) भएका उनी २०६६ सालबाट पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि जिल्ला अध्यक्ष बने । हाल उनी पार्टीका कास्की ईञ्चार्ज तथा वैकल्पिक केन्द्रीय सदस्य छन् ।

गाविस अध्यक्ष भएको २५ वर्षपछि मेयर

२०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जिसी साविक कालिका गाविसको अध्यक्ष चुनिएका थिए । गाविस अध्यक्ष निर्वाचित भएको २५ वर्षपछि एकैपटक देशको ठूलो महानगरको मेयरमा निर्वाचित भए ।

यो बीचमा उनले जनप्रतिनिधिको भूमिका निर्वाह गर्न पाएनन् । २०७० सालमा जिल्ला सुकुम्बासी आयोग कास्कीको ३ महिने अध्यक्ष समेत बनेका थिए । दोश्रो संविधानसभाको निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट चुनाव लडेका उनी कांग्रेसका यज्ञबहादुर थापासँग पराजित भएका थिए ।

के छन् जिसीका प्रतिबद्धता ?

पोखरा लेखनाथ महानगरपालिका बनाउँदा साविकको पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका र केही गाविसहरु जोडिएकाले यहाँ तीन खाले मनोविज्ञान रहेको मेयर जिसीको बुझाइ छ । त्यसैले एउटै महानगरको मनोविज्ञान तयार गर्ने उनको प्रतिबद्धता छ ।

साविकको उपमहानगरमा सहर, लेखनाथ नगरपालिकामा गाउँसहर मिश्रित र अन्य थपिएका गाविसहरुमा ग्रामिण मनोविज्ञान रहेको भन्दै उनले सबैलाई एउटै महानगरको मनोविज्ञान तयार गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताएका थिए । त्यसका लागि तीनै ठाउँलाई ३ केन्द्र मानेर काम गर्ने उनको योजना छ ।

पोखरा महानगरको अर्को मनोविज्ञान भनेको गुरुङ समुदाय हो, जसलाई मेयरमा विजयी जिसीकै पार्टी एमालेबाट उमपेयरमा निर्वाचित भएकी मन्जु गुरुङले समेट्ने अपेक्षा छ । यो टिम समावेशीताका हिसाबले समेत उत्कृष्ट रहेको एमाले सांसद रविन्द्र अधिकारीले बताउँछन् ।

मानबहादुर जिसीले चुनावी अभियानका क्रममा केही महत्वकाक्षी योजना पनि अघि सारेका छन् । महानगरका कुनैपनि ठाउँको बाटो बिग्रेको २४ घण्टा भित्र बनाइसक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हाल बाटो बिग्रेको जानकारी गराएको महिनौंसम्म पनि बाटो नबन्दा कैयन दुर्घटना भइरहँदा यो प्रतिबद्धता पूरा गर्नु मेयर जिसीका लागि फलामको च्यूरा चपाउनु सरह हुनेछ ।

त्यस्तै उनले फोहरमैला ब्यबस्थापन बैज्ञानिक तरिकाले गरेर त्यहिं रोजगारी सिर्जना गर्ने, समृद्ध महानगर, सुखी महानगरपालिकाबासी बनाउने आफ्नो घोषणा पत्रमा उल्लेख गरेका छन् ।

पर्यटकीय क्षेत्र लेकसाईड मात्रै हो भन्ने मानसिकता तोडेर महानगरका सबै क्षेत्रमा होटल, रेष्टुरेण्ट खोल्दै होम-स्टे अवधारणालाई गाउँगाउँ पुर्‍याउने पनि बताएका छन् ।

प्रदेशस्तरीय र महानगरस्तरीय गरी २ वटा बसपार्क बनाउने उनको घोषणा पत्रमा उल्लेख छ । पोखरा लेखनाथ महानगरका ३३ वटै वडालाई जोड्नेगरी सडक सञ्जाल बिस्तार गर्ने उनले घोषणा गरेका छन् । पोखरा र लेखनाथमा पर्ने सबै तालहरुलाई जोड्ने लिंकेज रोड बनाउने, पोखरा अन्र्तराष्ट्रिय बिमानस्थललाई ५ वर्षभित्रै निर्माण सम्पन्न गर्ने उनले चुनावी अभियानमा बताएका छन् ।

तर, ठूलो रोड तथा पोखरा अन्र्तराष्ट्रिय बिमानस्थल केन्द्र सरकारसँग जोडिएको विषय हुनाले नवनिर्वाचित मेयर जिसीले केन्द्र र प्रदेशसँग मिलेर कसरी काम गर्न त्यो हेर्न केही समय कुर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment