Comments Add Comment

बहुमतको सरकार गठनको आज अन्तिम दिन, नजर माधव नेपाल पक्षतिर

३० वैशाख, काठमाडौं । दुई वा दुई भन्दा बढी दल मिलेर बहुमतको आधारमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमा आज सकिंदैछ । तर राजनीतिक दलहरुबीच नयाँ सत्ता गठबन्धन बन्न सकिरहेको छैन ।

सत्ता समीकरणमा निर्णायक जस्तो देखिएको जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार गठनको विषयमा दुई धारमा विभाजित भएपछि नयाँ सरकारको नेतृत्व गर्न कस्सिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अप्ठ्यारोमा परेको छ । त्यसैले कांग्रेस अब एमालेको माधव नेपाल पक्षसँग सहकार्यको हात बढाउने रणनीतिमा जुटेको छ ।

कांग्रेस नेता एनपी साउदले एमालेभित्रको अन्तरविरोधलाई नजिकबाट नियालिरहेको र सभापति शेरबहादुर देउवाले माधव नेपाल पक्षका नेताहरुसँग छलफल जारी राखेको बताए । नेता साउदले अनलाइनखबरसँग भने, ‘हामी सबै पक्षलाई मिलाएर अघि बढ्न चाहन्छौं यसैक्रममा एमालेभित्रको उत्पीडित र असन्तुष्ट पक्षसँग पनि हाम्रो छलफल भइरहेको छ ।’

यद्यपि नयाँ सत्ता समीकरण बन्ने गरी प्रगति नभइसकेको उनले स्वीकार गरे । नेता साउदले भने, ‘जसपाले एक ढिक्का भएर निर्णय गरिसकेको छैन । यहीबीचमा डा. बाबुराम भट्टराईको पछिल्लो धारणाले संशय पैदा गरेको छ ।’ डा. भट्टराईले पूर्व र बहालवाला प्रधानमन्त्री बाहेकको नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने धारणा ट्वीटरमार्फत सार्वजनिक गरेका थिए ।

दुई वा दुईभन्दा धेरै दल मिलेर बहुमतको सरकार बनाउन नसके संविधानको धारा ७६ को उपधारा ३ अनुसार सबभन्दा ठूलो दलको हैसियतले फेरि ओलीकै नेतृत्वमा सरकार बन्ने सम्भावना छ ।

तर ओलीले फेरि पनि ३० दिन भित्र विश्वासको मत लिनुपर्छ । विपक्षीको अहिले अहिलेसम्मको स्थितिलाई हेर्दा ओलीको पक्षमा विश्वासको मत पुग्ने देखिंदैन । संसदमा कसैको पनि बहुमत नपुग्ने स्थिति आएमा संसद विघटन गरी देश पुनः चुनावमा धकेलिने नेताहरु बताउँछन् ।

बहुमतको सरकार बन्ने एउटा सम्भावना

बहुमतको आधारमा नयाँ सरकार गठन हुने एउटा सम्भावना एमालेको विभाजन हो । ओली नेतृत्वको सरकारलाई विस्थापन गर्नुपर्ने पक्षमा उभिएका माधव नेपाल पक्षका सांसदहरुले राजीनामा दिए भने त्यो सम्भावना रहन्छ ।

प्रतिनिधिसभामा हाल कायम संख्या २७१ हो । नेपाल पक्षका २८ सांसद छन् । उनीहरुले राजीनामा दिएमा संसदमा तत्काल कायम संख्या २४३ हुन्छ । १२१ मत पाएमा बहुमत पुग्छ र विपक्षी गठबन्धनको नयाँ सरकार बन्न सक्छ ।

यसअघि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन गत सोमबार नै नेपाल पक्षका सांसदहरुले राजीनामा दिने चर्चा चलेको थियो । यद्यपि उनीहरुले तत्कालको अवस्थामा संसदमा अनुपस्थित भएर ओलीलाई असहयोग गर्ने निर्णय गरेका थिए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन गत सोमबार एमालेको माधव नेपाल पक्षका २८ सांसदहरु संसदमा अनुपस्थित भएका थिए । विश्वासको मतमा मतदान गर्ने बेलामा जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए भने अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षकाले विपक्षमा मतदान गरेका थिए । कांग्रेस र माओवादी केन्द्र पनि विपक्षमै उभिएका थिए ।

गत सोमवार प्रधानमन्त्री ओलीको विश्वासको मतमा ९३ मत र उनको विपक्षमा १२४ मत आएको थियो । संसदमा तत्काल कायम संख्याको आधारमा बहुमत प्राप्त गर्न १३६ मत ओलीलाई आवश्यक थियो । तर ओलीले विश्वासको मत पाउन सकेनन् र सरकार कामचलाउमा परिणत भएको छ ।

गत सोमबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएका थिए । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बहुमतको सरकार गठनका लागि तीन दिनको समयसीमा दिएकी थिइन्, जुन वैशाख ३० गते सकिंदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment