७ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सह–संयोजक माधवकुमार नेपालले सरकारका कामकारबाहीले सबैलाई सशंकित पारेको टिप्पणी गरेका छन् । बिहीबार समाजवादी प्रेस संगठनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले सरकारको काम गर्ने शैलीका कारण देश संकटमा पर्ने चिन्ता बढेको बताएका हुन् ।
‘सगरमाथाको देश यो नेपाल, पर्यटकको गन्तव्यका रूपमा रहेको नेपाल शान्तिपूर्ण रूपमा रहिरहन सक्छ कि सक्दैन ? विदेशीहरूको हालीमुहाली चल्ने त होइन ? यसले नेपालीहरूलाई चिन्तित बनाएको छ,’ नेता नेपालले भने, ‘अहिलेको सरकार कामकारबाही, बोली, व्यवहारहरू ती सबैले मान्छेलाई अत्यन्तै सशंकित बनाइरहेको छ ।’
यस्तो अवस्थामा नेकपाले सजगता, तत्परता र पहलकदमी लिनुपर्ने आवश्यकता रहेको उनले बताए । ‘हामी त्यत्तिकै तमासा हेरेर बस्न सक्दैनौं । नेपाली जनताले कहिल्यै पनि तमासा हेरेर बसेनन् । चुनौतीको सामना गरे, इतिहासको धारलाई परिवर्तन गरिदिए,’ उनले भने ।
अहिलेको अवस्थामा देश कतै निकै ठूलो द्वन्द्वतिर त फँस्ने होइन भन्ने चिन्ता बढेको पनि उनले बताए । उनले भने, ‘हाम्रो देशको लोकतन्त्रमाथि कतै गम्भीर संकटमा पर्ने त होइन ? हाम्रो संविधान नै कतै धरापमा पर्ने त होइन ? हाम्रो संघीयताको बारेमा, गणतन्त्रको बारेमा कतै षडयन्त्र त भइरहेको छैन ? यी प्रश्न उठिरहेका छन् ।’
यसलाई प्रष्ट बनाउने र जनतालाई ढुक्क बनाउने जिम्मा सत्तामा बस्नेहरूको उनले बताए । ‘तर, उनीहरूकै गतिबिधिले आशंका उत्पन्न हुन्छ भने त्यस्तो अवस्थामा अरू पार्टीले आफ्नो कर्तव्य महशुस गर्ने कि नगर्ने ?’, उनले प्रश्न गर्दै भने, ‘दु:खको कुरा विभिन्न पार्टी आन्तरिक द्वन्द्वमा फसेका छन् । हामी चाहन्छौं त्यो द्वन्द्वबाट बाहिर निस्किउन ।’
संविधान, देश, परिवर्तनलाई केन्द्रमा राखेर सोच्न अन्य दललाई उनले आग्रह गरे ।
प्रतिक्रिया 4