News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेसँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेकाले यस विषयमा भ्रममा नपर्न आग्रह गरेका छन् ।
- उनले देशका सबै देशभक्त, क्रान्तिकारी र गणतन्त्र पक्षधर लोकतान्त्रिक शक्तिहरूलाई गोलबन्द गर्नु अहिलेको मुख्य कार्यभार रहेको बताए ।
- कोटेश्वरको पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले राष्ट्रिय हित, जनहित र गणतन्त्रको रक्षा गर्ने दायित्व आफ्नो पार्टीको रहेको दाबी गरे ।
६ असार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
शनिबार कोटेश्वरस्थित पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाहिर आएका हल्लाहरूको पछि नलाग्न कार्यकर्ता तथा बुद्धिजीवीहरूलाई आग्रह गरेका हुन् ।
समाचारमा आउने कतिपय विषयले बुद्धिजीवीहरू समेत प्रभावित हुने गरेको भन्दै वस्तुगत परिस्थितिको गहिरो विश्लेषण गर्नुपर्नेमा उनले जोड दिए ।
‘मलाई त फोनको जवाफ दिँदा–दिँदै हैरान भएको छु । तर यस्तो कुरा दुनियाँले पनि पत्याउने खालको छैन । एमालेसँग अहिले एकता सम्भव छ र ? सम्भवै छैन । त्यसैले यस विषयमा तपाईंहरू कोही पनि भ्रममा नपर्नुहोस्,’ उनले भने, ‘अहिले हाम्रो पार्टी जुन विचार र मान्यता लिएर अगाडि बढिरहेको छ, त्यसले अवश्य पनि देशमा रहेका सबै देशभक्त शक्तिहरूलाई गोलबन्द गर्नुपर्छ, सबै क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गर्नुपर्छ ।’
पार्टीको आगामी कार्यदिशाका बारेमा चर्चा गर्दै नेता नेपालले अहिलेको मुख्य कार्यभार देशभक्त, क्रान्तिकारी र गणतन्त्र पक्षधर लोकतान्त्रिक शक्तिहरूलाई गोलबन्द गर्नु रहेको बताए । उनले राष्ट्रिय हित, जनहित र गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको दाबी समेत गरे ।
‘सबै लोकतान्त्रिक शक्तिहरू र गणतन्त्रका पक्षधर शक्तिहरूलाई पनि साथमा लिएर जानुपर्छ । किनभने देशको रक्षा गर्ने जिम्मेवारी, राष्ट्रहितको रक्षा गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रो काँधमा छ । जनताको हितको पक्षमा उभिने दायित्व पनि हाम्रै हो,’ सहसंयोजक नेपालले भने ।
प्रतिक्रिया 4