+
+

फेकुको आत्महत्या होइन, हत्या भन्दै चक्काजाम

एस.के. शान एस.के. शान
२०७४ जेठ २४ गते १९:५६

२४ जेठ, सप्तरी । सप्तरीको कंचनरुप नगरपालिका ९ रुपनगरस्थित पूर्व पश्चिम राजमार्गमा चक्काजाम भयो ।

सडकमै केहि बेन्चहरु राखिएको थियो । बेन्च अगाडि एक महिला सुतिरहेकी थिइन् भने अर्की महिला बच्चा बोकेर बसेकी थिइन् । उनीहरुको माग थियो, ‘हाम्रो मान्छेको हत्या भयो, हत्यारालाई पक्राउ गरी कार्वाही गरियोस् ।’

मंगलबार दिउँसो घर नजिकैको आँपको बोटमा झुण्डिएको अवस्थामा मृत भेटिएका कंचनरुप नगरपालिका ९ रुपनगर निवासी फेकु यादवले आत्महत्या गरेको नभई हत्या भएको भन्दै उनको परिवारजन सडकमै सुतेर चक्काजाम गरेका छन् । बिहान ८ देखि ९ बजेसम्म एक घण्टा सडक जाम गरे उनको परिवारजन र स्थानीयहरुले । दुई महिलालाई अगाडि राखेर स्थानीयहरु एक घण्टा सडकमा बसे ।

मृतककी छोरी किनादेवीले आफ्नो बुवाको हत्या भएको बताइन् । उनले भनिन्, ‘सोमबार मात्रै जग्गा सम्बन्धमा स्थानीय केही व्यक्तिसँग झगडा भएको थियो । झगडा भएको केहि घण्टामै बुवा झुण्डिएको अवस्थामा फेला परेकाले आत्महत्या नभई हत्या हो ।’

उनले आफ्नो बुवाको हत्या गरेको सम्बन्धमा तीन जनाबिरुद्व किटानी जाहेरी तयार पारेकी छन् । स्थानीय लखन यादव, भोला यादव र शत्रुद्यन यादवले हत्या गरेको उनीहरुको दाबी छ । र, तीनै जनालाई पक्राउ गर्दै माग गर्दै चक्काजाम गरेका हुन् ।

इलाका प्रहरी कार्यालय कंचनपुरबाट आएको टोलीले घटनाको अनुसन्धान गर्ने र दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्वता व्यक्त गरेपछि उनीहरुले चक्काजाम खोलेका थिए ।

घटनाको अनुसन्धान हुँदैछः प्रहरी

फेकु यादवको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं डिएसपी यादवराज उप्रेतीले पोष्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने बताए ।

उनले फेकु र आरोप लगाइएका व्यक्तिबीच जग्गा विवाद सम्बन्धमा मंगलबार बिहान इलाका प्रहरी कार्यालयमा छलफल हुँदा नाप, नक्शा गराउने सहमति भएको र त्यसको केहीबेरमै उनी झुण्डिएको फेला परेको सम्बन्धमा अनुसन्धान गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?