+
+

झापा गाउँपालिकामा मुस्लिम समुदाय निर्णायक

मुस्लिममैत्री जनप्रतिनिधिको खोज्दै स्थानीय

गौरव पोखरेल गौरव पोखरेल
२०७४ जेठ २९ गते ९:२४

२९ जेठ, झापा । पुरानो सदरमुकाम भए पनि विकासले गति लिन नसक्दा पछाडि परेको झापा गाउँपालिकामा आदिवासी, जनजाति, मुस्लिम, राजवंशी र अन्य पिछडिएका वर्गको बाहुल्यता छ । यहाँका हरेक समुदायभित्र आ–आफ्नै समस्या छन् ।

यी समुदाय शिक्षामा पछाडि छन् । उनीहरुमा चेतनाको खाँचो छ । सङ्ख्यात्मक रुपमा उल्लेख्य भए पनि यो समुदायको राजनीति पहुँच ज्यादै कमजोर छ । एकाध बाहेकका मानिसमा राजनीतिप्रति चासो पनि छैन ।

नेपाली मुस्लिम समुदायका लागि यो ठाउँ झनै विशेष छ । झापा गाउँपालिका सम्भवतः नेपालमै एकैठाउँ सबैभन्दा धेरै मदरसा भएको क्षेत्र हो ।

यहाँको सबैभन्दा पुरानो मदरसा स्लामिया रुहिमारी वि.स. २०३३ सालमा स्थापना भएको हो । त्यसपछि अहिलेसम्म यहाँ १८ वटा मदरसा खुलिसकेका छन् ।

जहाँ नेपाली मात्र नभई, भारतबाट समेत विद्यार्थी अध्ययन गर्न आउँछन् । तर, उच्च शिक्षाको लागि भने समस्या छ । यहाँ कक्षा ८ सम्म मात्र पढाई हुन्छ । त्यसपछि फेरि नेपाली विद्यालयमा पढ्नुको विकल्प छैन ।

‘८ कक्षाभन्दा बढी पढ्न चाहने भारतमा गएर पढ्छन्’, यहाँको एक मदरसाका शिक्षक मोहमद ताहिर भन्छन्, ‘कतिले त बीचैमा पढाई छाड्छन् । कोही भने नेपाली विद्यालयमा गएर भर्ना हुन्छन् ।’

मुलुकलाई दोस्रो चरणको निर्वाचनले छोपिसकेको वेला यहाँका मुस्लिम समुदाय भने आफ्नो हक, हित र अधिकारको खोजीमा छन् । यहाँ रहेका १९ हजार ५ सय ४८ मतदाता मध्ये ३६ सय मतदाता मुस्लिम छन् । तर, उनीहरु सधैँ ‘भोट बैंक’ को रुपमा प्रयोग हुँदै आएका छन् ।

यसपटक भने उनीहरु मुस्लिममैत्री जनप्रतिनिधिको खोज्दैछन् । ‘यसपटक अधिकार सम्पन्न स्थानीय सरकार बन्दैछ’, स्थानीय ज्याबुल हक भन्छन्, ‘त्यसैले हामी मुस्लिमहरुको समुदायको भावनालाई बुझ्न सक्ने उम्मेदवारलाई जिताउन चाहन्छौं ।’

मुुस्लिम समुदायको जीवनस्तर उकास्नेलाई आफूहरुले मत दिने उनले बताए ।

यहाँको मुस्लिम समुदाय निर्वाचन आसपास नेताहरुले दिने चिल्ला भाषणबाट आजित भएका छन् । उनीहरु अब विकास चाहन्छन् । समुदायको जीवनस्तर उकासिएको देख्न चाहन्छन् ।

मोहमद आफैं पनि झापा गाउँपालिका वडा नं. ४ को वडाध्यक्षमा उठेका छन् । उनी भन्छन्, ‘मैले जिते भने मुस्लिम समुदायको जीवनस्तरलाई उकास्नु मेरो पहिलो प्राथमिकता हुनेछ ।’

उनले गाउँपालिकामा निर्वाचित भावी अध्यक्षसँग मिलेर उच्च शिक्षासहितको मदरसामा खोल्ने योजना रहेको बताए । उनका अनुसार मदरसामा शिक्षकको अभाव छ । भौतिक संरचना राम्रो भए पनि चाहिने शैक्षिक सामग्री छैन ।

डेस्क, बेञ्चकै अभाव छ । आफूले जिते मदरसामा शिक्षकको दरबन्दी मिलाउने व्यवस्था गर्न पहल गर्ने योजना रहेको उनले सुनाए । र, मदरसालाई सुविधा सम्पन्न बनाउन कुनै कसर बाँकी नराख्ने उनले बताए ।

मुस्लिम समुदायकी महिला अगुवा रेजिया खातुनले आफ्नो समुदायको जीवनस्तर उकास्नका लागि पहिलो कदम भनेको शिक्षा नै हुनु पर्ने बताइन् ।

‘हाम्रो समुदायका व्यक्तिले उच्च शिक्षा पाएका छैनन्’, उनले भनिन्, ‘उच्च शिक्षाको लागि शिक्षालयको अभाव छ । गुणस्तरीय शिक्षालयको स्थापना पहिलो सर्त हो ।’

उनले मुस्लिम समुदायका महिलाको जीवनस्तर उकास्नका लागि चेतनामुलक कार्यक्रम आवश्यक रहेको बताइन् । ‘महिलाका लागि प्रशिक्षण, क्षमता अभिवृद्धि लगायतका कार्यक्रम आवश्यक छ’, उनले थपिन् ।

उनका अनुसार मुस्लिम समुदायका पुरुष स्वतन्त्र छन् । तर, महिलालाई बाहिर निस्किन परिवेशले दिँदैन ।

‘महिलाले बाहिर निस्किन धेरै चुनौति र अफ्ठ्याराहरु सामाना गर्नुपर्छ’, उनले सुनाइन्, ‘मुस्लिम समुदायका महिलाहरु स्वतन्त्र भएर बाँच्न पाउनु पर्छ ।’

उनले जसले यी कामहरु गर्न सक्छ, उसैलाई आफ्नो समुदायले भोट हालेर जिताउने उनले बताइन् ।

यहाँका अधिकांश जनता कृषि पेशामा आश्रित छन् । झापा गाउँपालिका मकै, पाटा, धान, सूर्यमुखी लगायतको खेतीका लागि चर्चित छ । तर, यहाँ कृषिका लागि राम्रो सुविधा छैन ।

खातुन भन्छिन्, ‘खेती गर्नको लागि पनि सुविधाको खाँचो छ । सिञ्चाईँको भरपर्दो प्रबन्ध छैन । कृषिजन्य सामग्रीको अभाव हुन्छ ।’

यसपटकको स्थानीय निर्वाचनमा यहाँको मुस्लिम समुदायलाई ‘भोट बैंक’को रुपमा मात्र प्रयोग गर्न राजनीतिक दललाई सहज हुने छैन ।

किनकि, उनीहरु सचेत छन्, ‘यस पटक मुस्लिममैत्री जनप्रतिनिधिलाई नजिताए आफ्नो समुदायले विकासको मार्गमा पहिल्याउन सक्ने छैन ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?