Comments Add Comment

राजपाको बन्दले रौतहटको जनजीवन प्रभावित, यात्रु बस तोडफोड

३१ जेठ, रौतहट । राष्ट्रिय जनता पार्टी नेपालले आहवान गरेको चारदिने आम हडतालको दोस्रो दिन रौतहटको जनजीवन प्रभावित भएको छ । राजपा कार्यकर्ताहरुले एउटा यात्रुबाहक बस र भारतीय नम्बरको गाडी तोडफोड गरेका छन् ।

हिजो काठमाडौंबाट सशस्त्र प्रहरीको मद्दत लिएर सीमा सुरक्षा कार्यालय हजमिनिया आएको गाडी आज बिहान फर्किने बेलामा राजपा कार्यकर्ताहरुको निशानामा परेको हो । आम हडतालको अवज्ञा गरेको भन्दै राजपा कार्यकर्ताले ना ३ ख ५६२२ नम्बरको खाली गाडीलाई गौरको कबिर चोकमा ढुंगामुढा गरेर तोडफोड गरेका हुन् । खालि गाडि बसपार्कमा राख्न लाने क्रममा तोडफोड भएको बसका कर्मचारीले बताएका छन् ।

राजपाका कार्यकर्ताहरु आज विहानैदेखि सदरमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालय, अदालत, विपी चोक, भन्सार एरिया लगायत विभिन्न स्थानहरुमा टायर बालेर नारावाजीसहित प्रदर्शन गरिरहेका छन् ।

बन्दका कारण गौरबाट लामो तथा छोटो दुरीमा चल्ने यातायातका सवारीसाधनहरु पूर्णरुपमा बन्द हुँदा सर्वसाधारण यात्रुहरु मर्कामा परेका छन् । जिल्लास्थित सम्पूर्ण सामुदायिक विद्यालय, व्यापारिक प्रतिष्ठान, कलकारखाना बन्द रहेका छन् ।

बन्दको प्रभाव भने रौतहटको उतरी क्षेत्र चन्द्रनिगाहपुरमा भने परेको छैन । राजमार्गमा यातायातका साधनहरु संचालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment