Comments Add Comment

बुटवल उपमहानगरः एमालेलाई कांग्रेस माओवादी गठबन्धनको चुनौती

५ नम्बर प्रदेशको राजधानी मुख्य एजेण्डा

४ असार, काठमाडौं । ५ नम्बर प्रदेशका चारवटा उपमहानगरपालिका मध्ये बुटवलको चुनावले मुलुकको ध्यान खिचेको छ । बुटवल उपमहानगरको चुनाव यस अर्थमा पनि चर्चामा छ कि ५ नम्बर प्रदेशको सीमाना हेरफेर गर्ने संविधान संशोधन प्रस्तावविरुद्ध आन्दोलनको नेतृत्व यही बुटवलले गरेको थियो ।

तीन ठूला पार्टीहहृरु एक्लाएक्लै लड्दा एमाले अगाडि रहने अनुमान थियो । तर, दुई ठूला पार्टीले एमालेलाई एक्लै पार्ने गरी गठबन्धन गरेपछि बुटवलको चुनाव थप रोचक बनेको छ ।बुटवलले राष्ट्रिय चर्चा यस कारण पनि पाएको छ कि यसपटक यहाँ एमालेविरुद्ध कांग्रेस र माओवादी केन्द्रले गठबन्धन बनाएका छन् ।

कुल १९ वडाहरु रहेको बुटवल उपमहानगरमा ६६ हजार ८४३ मतदाता छन् । जम्मा ९७ पदका लागि ४३९ जनाको मनोनयन दर्ता भएको छ । जसमा मेयरमा १५ जना र उपमेयरमा १२ जना छन् ।

साविक बुटवल नगरपालिकामा मोतिपुर र सेमलार गाविस थपिएपछि चुनावी अंकगणितमा पनि सामान्य फेरबदल आएको छ ।

अहिले सत्तापक्षीय गठबन्धन, एमालेले आफ्नो किल्ला भनिरहेको बुटवल जसरी पति जित्न चाहन्छ । त्यसका लागि निवर्तमान रक्षामन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँड अड्डा जमाएरै बसेका छन् भने माओवादी नेता वर्षमान पुन पनि उम्मेदवार घोषणामा सहभागी भएका छन् ।

एमालेले पनि आफ्नो किल्ला जोगाउन सबै बल लगाएको छ । बुटवलकै मतले सांसद जितेका एमाले उपमहासचिव विष्णु पौडेल र अर्का उपमहासचिव घनश्याम भुसाल पनि पार्टीलाई जिताउन लागेका छन् । अर्थात बुटवलको बिजय/पराजयलाई दुबै पक्षले प्रतिष्ठाको विषय बनाएको छ ।

पहिलो चरणको चुनाव भएको भरतपुर महानगरपालिकाको परीक्षालाई तीन दलका शीर्ष तीन नेता शेरबहादुर देउवा र प्रचण्ड तथा केपी ओलीले प्रतिष्ठाको विषय बनाएका थिए । बुटवललाई भने तीन दलका दोस्रो तहका नेता प्रतिष्ठाको विषय बनाएका छन् ।

बुटवलको मेयरमा एमालेका शिवराज सुवेदी र कांग्रेस माओवादी गठबन्धनबाट खेलराज पाण्डेयका प्रतिस्पर्धामा छन् ।

पाण्डेय सरल शैलीका नेता हुन् भने सुवेदी मजदूर पृष्ठभूमिबाट आएका हुन् । संयोग कस्तो परेको छ भने एमालेबाट उपमेयरमा पनि मजदुर नेतृ गोमा आचार्य मैदानमा छिन् । कांग्रेस र माओवादीको गठबन्धनबाट माओवादी नेता जगत पोखरेल उपमेयरका प्रतिस्पर्धी हुन् । जगत पोखरेल युवा जोश जाँगर बोकेका भिजन मास्टरका रुपमा परिचित छन् ।

बुटवलमा नयाँशक्तिसहित संघीय समाजवादी फोरम, माले, जनमोर्चा नेपाल, अखण्ड पार्टीबीच चुनावी तालमेल भएको छ । उनीहरुले होमबहादुर गलामीलाई मेयरको उम्मेदवार बनाएका छन्

वडा तहमा काग्रेससँग सहमति गरे पनि जनमुक्ति पार्टीले मेयरमा जनक थापा र उपमेयरमा धनी आले मगरलाई अगाडि सारेको छ । यस्तै राष्ट्रिय जनमोर्चाका ढुण्डीराज शर्मा मेयरको मैदानमा छन् । उनीहरुले खासै धेरै मत नकाट्ने ठूला दलको अनुमान छ ।

विगतको निरन्तरता

बुटवलमा अहिलेसम्म कांग्रेस र एमालेकै चुनावी भिडन्त हुने गरेको विगत छ । पालैपालो कांग्रेस र एमालेले नगरपालिका जितेका थिए । ०४९ मा कांग्रेसले मेयर उपमेयरसहित १२ वटा वडा जितेको थियो । त्यतिखेर तत्कालिन बुटवल नगरमा एमालेले ३ वटा वडामा मात्रै जितेको थियो ।

कांग्रेसले ०४९ को स्थानीय निकायको चुनावमा जसरी बुटवलमा विजय हासिल गर्‍यो, त्यसलाई एमालेले ०५४ मा उल्टायो । एमालेले मेयर र उपमेयरसहित १२ वटा वडामा विजय हासिल गरेको थियो । कांग्रेसले त्यतिखेर जम्मा २ वडा मात्रै जितेको थियो ।

एमालेबाट ०५४ सालमा भोजप्रसाद श्रेष्ठ मेयर र विमलबहादुर शाक्य उपमेयरमा विजयी भएका थिए । त्यसपछि ०५६ को संसदीय चुनावमा कांग्रेसका पूर्वमेयर सूर्यप्रसाद प्रधानले एमालेका बिष्णु पौडेललाई पराजित गर्दै बुटवल क्षेत्रबाटै सांसद बनेका थिए । ०६४ को संविधानसभामा बिष्णु पौडेलले उनै सूर्य प्रधानलाई पराजित गरे । ०७० पनि रुपन्देही ४ अर्थात बुटवलबाट बिष्णु पौडेलले कांग्रेसका प्रधानलाई हरााजित गरे ।

त्यहाँ माओवादीका डा. बाबुराम भट्टराई, जो अहिले नयाँ शक्तिका संयोजक हुन्, उनी तेस्रो हुन पुगेका थिए । ०६४ को चुनावमा ३ हजारको मततान्तर थियो भने ०७० मा पुग्दा एमालेले ६ हजारको मतान्तरले जितेको थियो । अहिले पनि कांग्रेस माओवादी गठबन्धनलाई पराजित गर्ने एमालेको दाबीको मुख्य आधार त्यही मतान्तर हो ।

के होला परिणाम ?

निर्वाचनका बेला दलहरुले बुटवललाई ५ नम्बर प्रदेशको राजधानी बनाउने एजेण्डा सहित भोट मागेका छन् ।

प्रदेश विभाजनविरुद्ध आन्दोलनको अगुवाई एमालेले गरेपनि कांग्रेसका चन्द्र भण्डारी र माओवादी केन्द्रका टोपबहादुर रायमाझी पनि त्यो आन्दोलनका अगुवा नै थिए । त्यसैले त्यो आन्दोलनको फाइदा एमालेले मात्र लिन्छ वा बाँडिन्छ, त्यो हेर्न असार १४ सम्म कुर्नुपर्ने हुन्छ ।

एमालेविरुद्ध कांग्रेस र माओवादीको गठबन्धनपछि बुटवलको चुनावी अंकगणितमा फेरबदल आएको छ । हारजित विगतमा बिष्णु पौपडेलले जिते जस्तो मतान्तरमा होइन झिनो मतान्तरमै हुनेछ ।

कांग्रेस माओवादीका पुरै मत गठबन्धनका उम्मेदवारले पाएमा नजिता एमालेले सोचे जस्तो नहुनसक्छ ।

बुटवलमा स्थानीय नेताले नै तालमेल गरेपनि आम मतदाताको भोट भने पुरानै शैलीमा जाने देखिन्छ । नयाँ पुस्ताले भने पार्टी भन्दा पनि उम्मदेवार र गठबन्धनलाई महत्व दिने दाबी कांग्रेस र माओवादीको छ ।

उम्मेदवार छनोटलाई लिएर एमालेमा देखिएका असन्तुष्टिको लाभ पनि लिन सकिने यो गठवन्धनको दाबी छ । एमालेले भने गठवन्धन गर्दा असन्तुष्ट बनेकाहरुको मत आफूले पाउने दाबी गरेको छ ।

माओवादी, जनमुक्ति र राप्रपामा को निर्णायक ?

माओवादीले आफूलाई बुटवलको निर्णायक शक्ति भनेको छ । माओवादी नेताहरुले आफूले जसलाई समर्थन गर्‍यो, उसैले जित्ने दाबी गरेका थिए । सोही अनुसार अहिले कांग्रेसलाई सघाएको छ ।

बुटवलमा मगर समुदायको उल्लेख्य उपस्थिति छ । ती मतदातामा जनमुक्ति पार्टीको प्रभाव राम्रै छ । तर, जनमुक्तिले वडामा मात्र कांग्रेसलाई सघाएको छ, मेयर र उपमेयरमा आफ्नै उम्मेदवार छ ।

राप्रपाले पनि र्‍याली तथा सभाहरुमा कार्यकर्ता बाक्लै उतार्ने गरेको छ । पछिल्लो चुनावी मतलाई मात्र हेर्ने हो भने बुटवलको चौथो शक्ति राप्रपा नै हो तर, यो पटक दुई राप्रपा एकता भएर राप्रपा बनेकाले निणर्ायक राप्रपा बन्न सक्ने पनि अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment