Comments Add Comment

राजपा महासचिव भन्छन्-आफ्नै कार्यकर्ता उम्मेदवार छन्, कसरी चुनाव बिथोल्ने ?

हामीमाथि गद्दारी भयोः पार्टीले कि सरकारले भन्न सक्दिन

९ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टीका महासचिव वृजेशकुमार गुप्ताले अब चुनाव बिथोल्ने गरी आन्दोलन हुन नसक्ने बताएका छन् ।

राजपाबाट उठेका स्वतन्त्र उम्मेदवारलाई आन्तरिक रुपमा सघाउन गृहजिल्ला कपिलवस्तुमा रहेका गुप्ताले जनताको मतदान अधिकार खोस्न नसकिने बताए । ‘अस्ति उम्मदेवारी दर्ताको दिनसम्म जुन ढंगले बिथोल्न खोज्यौं । अब चुनावको दिन त्यस्तो अवस्था आउँदैन’ अनलाइनखबरसँग कुरा गर्दै सांसद गुप्ताले भने, ‘आफ्नै कार्यकर्ता उम्मेदवार बनेका छन् भने चुनाव बिथोल्ने आन्दोलन कसरी हुन्छ ? म दोहोरो चरित्र देखाउन सक्दिन ।’

आफू अहिले स्तब्ध अवस्थामा रहेको प्रतिक्रिया उनले दिए । कपिलबस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद समेत रहेका गुप्ताले भने, ‘हामीमाथि गद्धारी भयो । सरकारले गर्‍यो कि आफ्नै पार्टीले गरेको त्यो त म भन्न सक्दिन तर हामी ‘शकमा’ छौं ।’

चुनावमा जाने अधिकार कस्ले रोक्छ ?

आफूहरु जनताका बीचमा राजनीति गर्ने व्यक्ति भएको भन्दै गुप्ताले जनचाहना विपरित कार्यकर्तालाई चुनावमा जानबाट रोक्न नसक्ने बताएका छन् ।

राजपाका कार्यकर्ताले कपिलवस्तु र रुपन्देहीमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । रुपन्देहीमा राजपा नेता सर्वेन्द्रनाथ शुक्ल सांसद छन् भने कपिलबस्तुमा गुप्ता ।

शुक्ल र गुप्ताले चुनावमा भाग लिनुपर्छ भनेर पार्टीमा अन्तिम अवस्थासम्म लडाई लडेका थिए । तर, राजेन्द्र महतो लगायतका नेताको हठका कारण चुनाव बहिस्कारको निर्णय भएको भन्दै शुक्ल र गुप्ताले जिल्लामा कार्यकर्तालाई चुनाव लडाएका छन् ।

आफू भोट मागेर नहिडेको बताए पनि गुप्ताले मतदानका दिन के गर्ने भन्ने निर्णय गरि नसकेको प्रतिक्रिया दिए । उनले भने, ‘भोट देऊ नदेऊ केही भनेको छैन । साथीहरु स्वतन्त्र लड्नु भएको छ, उनीहरुलाई शुभकामना छ ।’

उनले अघि भने, ‘हामी जनताको बलमा राजनीति गर्नेहरुले चुनावमा जानेलाई रोक्न त सकिन्न । जब जनता नै चुनावमा जान तयार छ भने हामीले बहिस्कार गरेर के हुन्छ ?

स्थानीय तहको चुनावमा उम्मेदवारी दिने नेता कार्यकर्तालाई कारवाही नहुने संकेत उनले गरे ।

कारवाहीबारे पार्टीमा कुरा उठे पनि धेरैले राजीनामा दिएर उम्मेदवार बनेकाले कारवाहीको अर्थ नहुने गुप्ताले बताए । उनले भने-जनताको बीचमा राजनीति गर्नेहरु जनमत लिन चुनावमा गएका छन् । यस्तो बेला उनीहरुमाथि कारवाही हुदैन । जनताको जे जस्तो जनादेश आउँछ, त्यसलाई सबैले मान्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment