Comments Add Comment

प्रदेश नं. ५ मा माओवादीको ‘कमब्याक’ हुन्छ : अनन्त

९ असार, दाङ । पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्र प्रदेश नं ५ का इञ्चार्ज वर्षमान पुन ‘अनन्त’ले माओवादीको चुनावी परिणाम पुरानै अवस्थामा फर्कने दावी गरेका छन् ।

चुनावी दौडाहको क्रममा दाङको गढवा गाउँपालिकामा आयोजित चुनावी सभालाई शुक्रबार सम्बोधन गर्दै उनले दोस्रो चरणको स्थानीय तह चुनावमा आइपुग्दा माओवादी पुरानै अवस्थामा फर्कने स्थिति बढेको बताए । ‘पहिलो चरणको स्थानीय तह चुनावमा हामीले ४६ वटा ठाउँमा जित्यौं भने ५२ ठाउँमा दोस्रो भयौं,’ उनले भने, ‘त्यो पनि नराम्रो त होइन । तर, सोचेभन्दा अलि कम भयो, अहिले दोस्रो चरणको चुनावी उत्साह हेर्दा चाँडै माओवादीको कमब्याक हुने सम्भावना बढेर गएको छ ।’

प्रदेश नम्बर ५ का जिल्लाहरुमा चुनावी उत्साह उल्लेख्य बढेको भन्दै उनले चुनावको माहोल माओवादीको पक्षमा आइसकेको दाबी गरे । ‘हामी २०६४ को अवस्थामा त फर्केका छैनौं तर त्यसको ढिकढिकसम्म पुगेका साथीहरुको रिपोर्ट छ,’ शुक्रबार दाङका झण्डै दश स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका नेता पुनले भने, ‘जनसहभागिता र उत्साह निकै बढेको देखिन्छ ।’

माओवादी पार्टीमा आएको विभाजनका कारण २०७० सालको संविधानसभा निर्वाचनमा हार ब्यहोर्नुपरेको उल्लेख गर्दै उनले भने, ‘अहिले चुनाव जित्ने धेरै सूचक हामीले पूरा गरेका छौं, फुटेको पार्टी एक भएको छ र संविधान जारी गर्नेदेखि स्थानीय तह पुनर्संरचना गर्नेसम्मका एजेण्डा हामीले सफल बनाएका छौं ।’

आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका लोडसेडिङ अन्त्य, आर्थिक बृद्धिदर, चीन र भारतसँग सन्तुलित सम्बन्ध विकासलगायतका कामले माओवादीले अवसर पाए गर्दोरहेछ भन्ने यथार्थ स्थापित भएकाले पनि माओवादीको पक्षमा जनमत बढ्दै गएको पुनले बताए ।

दाङको सन्दर्भमा प्रदेश राजधानी, सरकारी मेडिकल कलेज, अन्तर्राष्ट्रिय विमानस्थल आदि माओवादीका प्रमुख विकास एजेण्डा भएको बताए ।

पुनले शुक्रबार अर्घाखाँचीको एक ठाउँ तथा दाङको गढवा, बंगलाचुली गाउँपालिका गरी १० स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment