Comments Add Comment

धन कमाउन साउदी गएका मानकुमार बैसाखीमा फर्किए


२६ जुन, जेद्धा । तेह्रथुम मोराङ-१ का मानकुमार लिम्बु धन कमाउने आशामा साउदी अरब गएको दुईपछि वर्षमा बैसाखीको सहारामा नेपाल फर्किएका छन् ।

नेपालको लक्की एचआर म्यानपावर कम्पनी मार्फत ८० हजार खर्च गरेर साउदी अरबको रियाद स्थित अलहोकेर ग्रुप अफ कम्पनीको टेक्सटाइल डिभिजनमा रोजगारका लागि गएका लिम्बु पुगेको एक महिनामै साथीहरूको लहलहिमा लागेर कम्पनी छोडेर भागे ।

आफू काम गर्न भनी गएको कम्पनीमा तलब र खाना खर्च गरी जम्मा ९ सय रियालको एग्रिमेन्ट थियो । सरकारले फ्री भिसा र फ्री टिकट लागु गरेको १५ दिन अगाडि मात्रै लिम्बु साउदी अरब गएका थिए ।

बाहिर काम गर्दा धेरै पैसा कमाइने प्रलोभनमा लागेका उनी कम्पनी छोड्ने बित्तिकै रियाद भन्दा १२ सय किलोमिटर टाढा रहेको जेद्धा शहरतिर लागे ।

जेद्धामा शुरूमा घण्टाको १३.५ रियालका दरले तलब बुझेका लिम्बुले राम्रै पैसा कमाउन थाले तर ३ महिना वितेपछि साउदी सरकारको कडा नीतिका कारण अबैध कामदारहरूलाई काम दिन कम्पनीहरू हटे र उनले झण्डै ६ महिना विना कामनै बिताए ।

कामको खोजीमा फेरि अर्काे शहर यान्बूतिर लागे । त्यहीँबाट उनको थप पीडादायी जीवनको शुरूवात भयो । त्यहाँ काम गर्ने क्रममा नत उनले काम गरे वापतको तलब पाए नत शारीरिक तन्दुरूस्ती ।

बसाइको क्रममा संगै काम गर्ने पाकिस्तानीले उनलाई गलत नियतले होमोसेक्सको प्रस्ताब गर्‍यो ।

जसलाई उनले ठाडै इन्कार गर्दा सामान्य विवाद भयो । तत्पश्चात लिम्बु आफ्नै सुरमा कोठाको झ्यालमा आड लागेर मोवाइलमा कूरा गर्दै गर्दा पाकिस्तानीले आफ्नो कर्तुत सबैले थाहा पाउने भएकोले लिम्बुलाई तीन तला माथिको झ्यालबाट धकेलिदियो । लिम्वुको दाइने खुट्टा दुई ठाउँमा र देव्रे खुट्टा एक ठाउँमा भाँचियो ।

चल्नै नसक्ने अवस्थामा सडक पेटीमा लडिरहेका लिम्बुलाई कुनै साउदी नागरिकले देखेर गाडीमा हालेर हस्पिटल लगिदियो । कम्पनी छोडेर अबैध बने पनी भाग्यबस आइडी (अकमा) को म्याद सकिन दुई दिन मात्र वाँकी रहेकोले गम्भीर शारिरिक अवस्थालाई देखेर

हस्पिटलले उपचार शुरू गर्‍यो । उता उनलाई धकेल्ने पाकिस्तानीलाई पुलिसले पक्राउ गरेर हिरासतमा राख्यो ।

यसरी फसे लिम्बु

उपचार गर्न लामो समय लाग्ने हुदा आफू उपचारार्थ रहँदाकै क्रममा पाकिस्तानीका कुनै निकटका व्यक्तिले लिम्बुसंग सम्पर्क बढायो र हिरासतमा रहेका व्यक्तिलाई छुटाउन जालसाजियूक्त अरबी भाषामा पेपर तयार गरी हस्पिटलमा लाग्ने पूरा खर्च पाकिस्तानीले बेहोर्ने आशय पत्रमा लेखेको झुटा विवरण लिम्बुलाई सुनाइयो । जुन सोझा लिम्बुले कसैलाई नदेखाइ नसोधी विश्वासको भरमा हस्ताक्षर गरिदिए । जसमा लिम्बुलेनै बेहोर्ने मन्जुरिनामा लेखिएको कूरा पछिमात्र थाहा भयो ।

लगत्तै पाकिस्तानी जेलमुक्त भएर सम्पर्कविहीन भयो भने लिम्बुलाई हस्पिटलले उपचार खर्च नदिएसम्म साउदी अरब छोड्न नसक्ने गरी केस हालिदियो । बिस्तारै उनी हस्पिटलको वेडबाट बैसाखीको भरमा बाहिर त निस्किए त्यतीवेलासम्म उनीसंग भएको आइडीको मिति गुजि्रसकेको थियो भने कम्पनीले पनि उनी भागे लगत्तै पासपोट अफिसमा हुरूब (भागेको नोटिस) जारी गरेको थियो ।

अफिसले सहयोग गर्‍यो

असहाय र अबैध अवस्थामा लिम्बु २०१७ को फेब्रअरीमा बल्ल जेद्धास्थित नेपाली कन्सुलेटको सम्पर्कमा आए । लिम्बुको त्यो दुर्दशा देखेर कन्सुलेटले अफिससंगै जोडिएको सानो कोठामा बस्ने प्रबन्ध मिलाइदियो । त्यतिमात्र हैन उनको गोडामा राखिएको स्टिलको रड समेत निकालि दिने व्यवस्था मिलायो ।

अबैध कामदारलाई सहजै हस्पिटलमा लगेर उपचार गराउन नसक्नेहुंदा निज लिम्बुलाई जेद्धामानै कार्यरत नेपाली मुलकी डाक्टर बसरा खातुनको सहयोगमा विना पैसा उनको खुट्टामा राखिएको रड झिक्ने काम भयो ।

रड झिकेपछि लिम्बुलाई केही राहत मिल्यो र शान्तसंग बस्न सक्ने भए । त्यसपछी कन्सुलेट लाग्यो हस्पिटलमा बुझाउनुपर्ने ६ हजार ५ सय रियालको मिनाह गराउनका लागि ।

‘लामो समयसम्म अनेकौं प्रयासहरू गरियो । तर, पनि हस्पिटलले उक्त रकम नतिरी नहुने अडान लिएपछी हाम्रो कुनै उपाय लागेन र जेद्धास्थित नेपाली समुदायलाई उक्त रकम जुटाइदिन आग्रह गयौं’ जेद्धाका कार्यवहाक महावाणिज्यदूत रेवतीरमण पौडेलले भने ।

धेरै पैसा कमाउने लालच राखी काम गरिरहेको कम्पनी छाडेर लुकिछिपी अबैध हैसियतमा विदेशी भूमीमा रहंदा अकल्पनीय कष्ट सहनुपर्ने र त्यसको कानुनी उपचार झनै जटिल भएकाले यस्तो गम्भीर गल्ती कहिल्यै गर्न नहुने सुझाउँछन महावाणिज्यदूत पौडेल ।

एनआरएनका क्षेत्रीय अध्यक्ष भिम गुरूङको संयोजकत्वमा रकम संकलन गरी हस्पिटलमा बुझाएर क्लियरेन्स पेपर लिने काम भयो । संजोगले उनी साउदी सरकारले घोषणा गरेको ९० दिने एम्नेस्टी मार्फत नेपाल र्फकन पाए ।

उनलाई नेपाल र्फकनका निमित्त अन्तराष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले हवाई टिकट उपलब्ध गरायो । र थप उपचार गर्नुपर्ने भएकाले उपचार खर्च समेत दिलाउने प्रतिवद्धता आईओएमले गरेको छ भने त्यसका लागि प्रवासी नेपाली सेवा समितिले समन्वयकारी भूमिका निर्वाह गरेको छ ।

लिम्बु धरानस्थित बिपी कोइराला हस्पिटलमा उपचार गराउने भनी परिवारकै सहयोगमा १२ गते असारमा गृह जिल्लातिर लागे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment