Comments Add Comment

५४५ नेपाली कामदार विदेशी जेलमा, कति बिरामी कोमामा ?

१ चैत, काठमाडौं । रोजगारीका लागि विदेसिएका ५४५ जना नेपाली कामदार विदेशी जेलमा छन् । उनीहरुको अवस्था कस्तो छ र उनीहरुमाथि ती जेलमा कस्तो व्यवहार गरिँदैछ भन्ने सरकारलाई स्पष्ट जानकारी छैन ।

उनीहरुलाई कानुनी सहायता उपलब्ध गराउने गरी पहल थालेको वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।

विभिन्न अभियोगमा कारागरमा जीवन विताउन बाध्य कतिपय नेपालीलाई ‘ब्लड मनी’ जुटाएर नेपाल ल्याउन सम्भव पनि छ । तर, यसमा राज्यले कुनै आर्थिक जिम्मेवारी लिएको छैन, लिने नीति पनि लिएको छैन । तर, गोकर्ण बिष्ट श्रममन्त्री भएर आएपछि विदेशी जेलमा रहेका नेपालीलाई निःशूल्क कानुनी सहायता उपलब्ध गराउने निर्णय भएको थियो ।

सीमित विदेशमा बन्दी कामदारका आफन्तले नेपालमै आर्थिक सहयोग जुटाएर जेलबाट छुटाउँदै आएका छन् ।

तर, अझै पनि ठूलो संख्यामा नेपाली कामदार विदेशस्थित जेल जीवन बिताउन बाध्य छन् । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले निःशुल्क कानुनी सहायता उपलब्ध गराउन विभिन्न देशबाट जेलमा रहेका नेपालीको संख्याबारे तथ्यांक लिएको हो ।

तथ्यांकअनुसार विदेशको जेलमा ५२६ पुरुष र १९ महिला छन् । सबैभन्दा धेरै मलेसियाका जेलमा २०५ जना बन्दी जीवन बिताउँदैछन् । यस्तै यूएईमा १८५, कुवेतमा ५८, साउदीमा ५४, कतारमा ३५, बहराइनमा ५ र ओमानमा ३ नेपाली जेलमा छन् । यूईमा मात्रै १२ जना नेपाली महिला जेल जीवन बिताइरहेका छन् ।

यसैगरी विदशी अस्पतालहरुमा २४ जना नेपाली कोमामा छन् । यसमा २१ पुरुष र ३ महिला छन् । कतारमा ९ जना, साउदीमा ५ जना, बहराइन र कुवेतमा ४/४ जना नेपाली कोमामा उपचारत छन् । ओमान र यूइईमा पनि एक-एक जना नेपाली कोमामा छन् ।

कोमामा रहेका बिरामीलाई नेपाल फर्काएर उपचार गराउने गरी विदेशस्थित नेपाली नियोग, बिरामी कामदारका परिवार र सरकारी अस्पतालहरुमा समन्वय भइरहेको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment