Comments Add Comment

नेप्सेको स्वामित्व सूचीकृत कम्पनीलाई दिन राष्ट्र बैंकलाई धितोपत्र बोर्डको सुझाव

१४ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मौद्रिक नीतिमा समावेश गर्न राष्ट्र बैंकलाई ६ बुँदे सुझाव दिएको छ ।

धितोपत्र बोर्डले बैंक तथा वित्तीय क्षेत्रको कर्जा लगानी सम्बन्धि प्राथमिकता क्षेत्रमा सेयर बजारमा सूचीकृत वास्तविक समूहका कम्पनीहरुलाई पनि राख्न सुझाव दिएको छ । सेयर बजारमा वास्तविक क्षेत्रका कम्पनीहरुको सहभागिता यसले बढ्न सक्ने अपेक्षा धितोपत्र बोर्डले गरेको छ । बोर्डले वास्तविक क्षेत्रलाई बजारमा ल्याउन हाल भएको प्रयासको पनि चर्चा गरेको छ ।

बोर्डले नेप्सेलाई डिम्युच्लाइज्ड संस्थाको रुपमा बिकास गर्ने प्रयास सफल नभएकोले यसको स्वामित्व संरचना सुधार गर्न पर्नेमा पनि जोड दिएको छ । बोर्डले यसको लागि सेयर बजारमा सूचीकृत उत्कृष्ठ संस्थालाई पनि नेप्सेको सेयर स्वामित्व दिनुपर्ने सुझाव दिएको छ । हाल बैंकहरुलाई नै यस्ता उत्कृष्ठ संस्थाको रुपमा लिने गरिन्छ ।

बोर्डले बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा आएको १० वर्षपछि संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्न सक्ने व्यवस्थालाई एकैपटक खुला नगरि चरणबद्ध रुपमा खुला गर्ने व्यवस्था गर्न पनि सुझाव दिएको छ ।

त्यस्तै, बैंकहरुबाट प्रदान गरिएको आस्वा प्रणाली (लगानीकर्ताले सेयरमा आवेदन दिदा बैंक खातामा नै लगानी गर्न चाहेको रकम रोक्का रहने प्रणाली) को सुपरिवेक्षण गरिदिन पनि नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

मार्जिन कारोबारको सेवा ब्रोकर तथा बैंकहरु मार्फत् समेत गर्न सकिने व्यवस्था गरिदिन र बैंक तथा वित्तीय संस्थाबीचको मर्जरको क्रममा स्वाप रेसियो निर्धारण गर्दा धितोपत्र बोर्डसँग पनि सल्लाह गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment