Comments Add Comment

एमालेले धनकुटा कब्जा गर्नुका तीन कारण

कांग्रेस, माओवादी र राप्रपालाई धक्का

कम्युनिष्ट पार्टीका लागि संसदीय व्यवस्था भनेको ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ’ हो भन्ने यस्तो बिचार राखेर वर्तमान नेपालको संसदीय व्यवस्थामा रमाउने एमाले, माओवादी लगायतका कम्युनिष्ट पार्टीहरु कम्युनिष्ट हैनन् भन्ने पनि धेरै चर्चाहरु छन् । जो बेग्लै बहस र छलफलको विषय हुन सक्छन् ।

तर अहिलेको बहस चर्चाको बिषय भनेको छ- पहिलो संविधानसभाको चुनावसम्म माओवादीले कब्जा गरेको धनकुटामा आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पूर्वबाटै नेकपा एमालेले धनकुटाका सबै तहमा जितेको विषय मिडियामा चर्चाको विषय बनेको छ ।

आखिर एमालेले के कारणले गर्‍यो धनकुटामा क्लिन स्वीप ? यसका तीनवटा कारण हुन सक्छन्ः

पहिलो कारण

धनकुटामा एमाले सबैभन्दा अगाडि हुनमा पहिलो श्रेय माओवादीलाई जान्छ । कारण, एमाले र माओवादी केन्द्रको राजनैतिक चरित्रमा भिन्नता भएन । अर्थात्, सबैलाई थाहा छ, ०४८ सालताका धनकुटामा ‘ढुंगामाटो सबै एमाले’ भन्थे । यसरी एमालेमय भएको धनकुटामा विकल्पका रुपमा माओवादी आएको थियो ।

पहिलो संविधान सभाको चुनावमा धेरै एमाले नेता कार्यकर्ताहरु माओवादी भए । धनकुटाको दुबै क्षेत्र माओवादीले जित्यो । यद्यपि त्यो समयमा एमाले मात्रै नभएर सबै दलका कार्यकर्ताहरु माओवादीमा गएका थिए, जसमा धेरै एमालेका कार्यकर्ता थिए ।

तर, विस्तारै के प्रष्ट भयो भने केन्द्रमा केही राजनैतिक उपलब्धि बाहेक एमाले र माओवादीमा खास कुनै अन्तर छैन । अर्थात् १७ हजारको ज्यान जानेगरी लडाइँ गरेर संसदीय व्यवस्थामा आएको एउटा माओवादी कम्युनिष्ट र अर्को शान्ति प्रक्रियाबाट अगाडि बढेर यही संसदीय व्यवस्थामा नै रमाएको एमाले कम्युनिष्ट ।

द्वन्द्वको घाउ निको नभइसरहेको अवस्थामा माओवादीले पनि उही एमालेकै बाटो रोजेपछि सबै दलबाट आएका नेता कार्यकर्ताहरु आ-आफ्नै पुरानो घरमा फर्किए । र, यहीबेला एमालेेले ‘घर र्फक’ अभियान सञ्चालन गर्‍यो र एमालेले आफ्नो पाटीलाई संगठित गर्‍यो ।
पछिल्लो समयमा माओवादीको पटक-पटकको फुटले धनकुटामा पनि असर गर्‍यो । यसैको फाइदा उठाउँदै धनकुटामा एमाले संसदीय कम्युनिष्टहरुको ‘लाल किल्ला’ बन्न पुग्यो ।

दोस्रो कारण

एमालेले सफलता प्राप्त गर्नुमा माओवादी मात्रै कारक होइन, एमालेले आफ्नो पार्टीलाई अत्यन्त व्यवस्थित गर्नु पनि हो ।

माओवादीले दिएको अवसरसँगै एमालेले जिल्ालमा पार्टी संगठित गर्‍यो । जसका लागि एमालेले आफना् कार्यकर्ताहरुलाई अनिवार्य लेवीको व्यवस्था गरेको छ । हरेक कार्यकर्ताहरुलाई गैरसरकारी संस्था, विद्यालय व्यवस्थापन समिति, विभिन्न उपभोक्ता समिति, सहकारी संस्था तथा लघुबित्त कार्यक्रम, शिक्षक, कर्मचारीलगायत सबै तहमा एमालेले आफ्ना कार्यकर्ताहरुलाई समावेश गराएको छ ।

एमाले भनेर पहिचान भएका कार्यकर्ताहरुलाई समस्या परेमा जुनसुकै प्रकृतिको दुखः र संकटमा एमालेले सिङ्गो पार्टी लागेर साथ दिने गरेको छ ।
यसरी पार्टीलाई संगठित गर्ने क्रममा दलहरुबीच शक्ति-संघर्ष भएपछि धनकुटाका सबै दल एकतिर भएर एमालेलाई एक्लो पार्न खोजेपछि त्यसले उल्टो एमालेलाई थप संगठित हुन सहयोग गर्‍यो ।

र, तेस्रो कारण

धनकुटामा एमालेले जित्नुको तेस्रो कारण अन्य दलहरु संस्थागत पद्दतिमा चल्न नसक्नु पनि हो ।

अहिले धनकुटामा सबैभन्दा धेरै संगठित सदस्य एमालेका छन् । त्यसपछि मात्रै कांग्रेस, माओवादी र राप्रपा पर्छन् । यसमा सबैभन्दा प्रतिवद्ध कार्यकर्ताहरु एमालेमै छन् । भनिन्छ- धनकुटाका हरेक एमाले कार्यकर्ताहरु कसम खाएका एक सैनिक सरह हुन् ।

अन्य दलका संगठित सदस्यहरु जात, धर्म, नातागोता वा परिवेशबाट प्रभावित हुन्छन् । तर, एमालेका संगठित कार्यकताहरुले घाम छाप बाहेक अरु चिन्दैनन् भन्ने चर्चा छ जिल्लामा ।

धनकुटामा एउटा ठट्टा पनि प्रचलनमा छ कि कुनै दिन एमालेले घामको ठाउँमा चुनाव चिन्ह घैला बनाए पनि यहाँका कार्यकर्ताहरुले घाममा नै छाप लगाउँछन् ।

योसँगै एमालेको अर्को राम्रो पक्ष साना-साना कुराहरुलाई सञ्चार माध्यमबाट एकरुपताका साथ प्रचार गर्नु पनि हो । तर, अन्य दलहरुमा भने एमालेको जस्तो दृढ संकल्प छैन ।

विगतमा सामान्य संगठन भएर पनि धनकुटाको क्षेत्र नं.२ मा राप्रपाका सुनिल थापाले दोस्रो संविधानसभा चुनाव जितेका थिए । क्षेत्र नं.१ मा जितेको एमालेले त्यो समयमा अरुको जमानत जफत हुँदा पनि थापाको क्षेत्रमा ४५७ मतले मात्रै हारेको थियो ।

धनकुटामा कांग्रेसलाई अहिलेसम्म धनीको पार्टी र शहर केन्दि्रत पार्टी नै भनेर चिन्ने गरिएको छ । यथार्थमा अहिले पनि धनकुटाका गाउँहरुमा बजारको तुलनामा दलहरुको ध्यान कमै केन्दि्रत भएको पाइन्छ ।

कांग्रेसलाई धनकुटामा सबैभन्दा काम गर्न सहज हुने पार्टी भनिए पनि प्रतिवद्ध कार्यकर्ता नभएको दल भन्ने गरिन्छ । म कांग्रेस हुुँ भनिदिए पुग्ने र अरुबेला चुप लागेर चुनावको १/२ महिना अघिदेखि मात्र चहल-पहल गर्ने पार्टी भनेर धनकुटामा कांग्रेसलाई चिनिन्छ ।

उता माओवादी केन्द्र संस्थागत नभइसकेको पार्टीका रुपमा चिनिन्छ । माओवादी पार्टी हैन, आन्दोलन हो भन्ने छ । किनकि माओवादी अहिलेसम्म संस्थागत हुन सकेको छैन । उसले अन्तरसंघर्षलाई व्यस्थापन गर्न नसक्नु र पार्टीलाई पद्दतिमा चलाउन नसक्नु कमजोरी देखिएको छ । पार्टी संस्थागत हुन नसक्दा गणतन्त्र, संविधान सभा, संघीयता/समावेशी लगायतका आफ्नै मुद्दाहरुका बारेमा माओवादीले जनतालाई बुझाउन नसकेको र ऊ पछि परेको हो भन्ने चर्चा छ ।
राप्रपालाई भने धनकुटामा स्व. पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ब्याजले चलेको पार्टी भन्ने गरिन्छ । यस क्षेत्रमा थापाकाजी बाहेक अरुलाई पत्याउने गरिन्न ।

दोस्रो संविधानसभाको चुनावमा क्षेत्र नं. २ बाट सुनिलबहादुर थापाले जितेर बाणिज्य तथा आपूर्ति मन्त्री बने पनि उनको क्षेत्रमा राप्रपाले एउटा पनि स्थानीय तह नजित्नु यसैको उदाहरण हो ।

राप्रपा र माओवादीबाहेक धनकुटामा क्रियाशील अन्य साना दलहरु नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम, लिम्बुवान लगायतको खासै प्रभाव छैन ।

र, यिनै कारणहरुले धनकुटा एमालेको लाल किल्ला भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment