Comments Add Comment

तराईका ७ जिल्लामा एमाले पहिलो, दाङ र कैलालीमा बहुमत

बालुवाटारमा बहसः मधेस र थरुहटमा एमाले कसरी पहिलो बन्यो ?

लमही नगरपालिका वडा नम्बर १ को अध्यक्षमा एक मतले विजयी एमालेका नुमराज पौडेललगायत ।

२५ असार, काठमाडौं । दुई चरणमा निर्वाचन सम्पन्न भएका तराईका ११ जिल्लामध्ये ७ जिल्लामा एमाले पहिलो दल बनेको छ । यीमध्ये दुई जिल्लामा एमालेले बहुमत सीट जितेको छ ।

तराईका जिल्लाहरुमा राम्रो मत परिणाम आएको भन्दै एमाले नेताहरु सन्तुष्ट देखिएका छन् । तर, पार्टी अध्यक्ष केपी ओलीकै गृहजिल्ला झापामा बहुमत सीट जित्न नसकेपछि एमाले नेतामा असन्तोष देखिएको छ ।

एमाले अध्यक्ष ओलीले आइतबार झापामा आयोजित कार्यक्रममा बोल्दै आफ्नो गृहजिल्लाको चुनावी नतिजाप्रति असन्तोष व्यक्त गरे ।

तराई मधेसका ११ जिल्लामा कुल १२५ स्थानीय तहमध्ये ४८ स्थानमा जितेर एमाले पहिलो दल बनेको छ । नेपाली कांग्रेसले तराई मधेसमा ४३ स्थानीय तह जितेर दोस्रो स्थानमा पाएको छ भने माओवादीले ११ स्थानीय तह जितेर तराई मधेसमा तेस्रो दल बनेको छ ।

राप्रपाले दोस्रो चरणका चुनाव जितेका ४ स्थानीय तहमध्ये सबै तराई मधेसकै हुन् । उसले झापामा ३ र बाँकेमा १ स्थान जितेको छ ।

तराई मधेसमा मधेस केन्द्रित दलभन्दा ठूला दल नै हावी भएका छन् । संघीय समाजवादी फोरमले ८ स्थानीय तह जितेर चौथो ठूलो दल बनेको छ भने फोरम लोकतान्त्रिकले ६ स्थानीय तह जितेको छ । राजपा समर्थित २ स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

एमालेः पश्चिम तराईमा सफल, पूर्वमा झड्का

एमालेले तराईका जिल्लाहरुमध्ये थारु बाहुल्य जिल्लाहरु दाङ र कैलालीमा बहुमत सीट जितेको छ । कांग्रेसको पकट मानिएको दाङमा एमालेले उल्लेख्य नतिजा हासिल गरेको छ ।

दाङका १० स्थानीय तहमध्ये ६ वटा एमालेले जितेको छ । त्यहाँका दुबै उपमहानगरपालिका एमालेको कब्जामा गएका छन् ।

थारु बाहुल्य क्षेत्रमा एमालेले सबैभन्दा राम्रो सफलता पाएको छ । एमालेबाट सबैभन्दा धेरै ८ जना प्रमुख र १२ उपप्रमुख जितेका छन् । कांग्रेसबाट ६ जना प्रमुख र १३ उपप्रमुख जितेका छन् ।

७ मध्ये दुई उपमहानगरपालिका घोराही र इटहरीमा एमालेका थारु उम्मेदवार नरुलाल चौधरी र द्वारिकलाल चौधरी मेयर बने । थारु बाहुल्य रहेका दाङ, बर्दिया, कैलाली र कञ्चनपुरमा एमालेले धेरै ठूलो सफलता पायो । एमालेले बर्दियामा ३, नवलपरासीमा २, कपिलवस्तुमा २ र रुपन्देहीमा ७ स्थानीय तह जितेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिष्ठासँग जोडिएको सुदुरपश्चिमको कैलालीमा पनि कांग्रेसलाई अप्रत्याशित धक्का दिँदै एमालेले १३ स्थानमध्ये ७ स्थानमा जितेर बहुमत पाएको छ । थारु बाहुल्य टीकापुर नगरपालिकासमेत एमालेले जितेको छ ।

त्यसैगरी मधेसी र मुस्लिम समुदायको उल्लेख्य बसोबास रहेको बाँके जिल्लामा पनि एमाले नै पहिलो दल बनेको छ । बाँकेका कुल ८ स्थानीय तहमध्ये एमालेले ४ वटा जित हात पारेको छ ।

कञ्चनपुरमा पनि एमालेले राम्रो परिणाम ल्याएको छ । त्यहाँका ९ स्थानीय तहमध्ये ४ वटा जितेर एमाले कञ्चनपुरको समेत पहिलो पार्टी बनेको छ । त्यहाँको पुनर्वास नगरपालिकाको परिणाम आउन बाँकी छ । एमालेले त्यो पनि जित्यो भने उसले कञ्चनपुरमा पनि आफूलाई पहिलो दल बनाउने छ ।

दोस्रो चरणमा चुनाव भएका १ महानगर र ७ उपमहानगरपालिका मध्ये कांग्रेसले बिराटनगर महानगरपालिका र धनगढी उपमहानगरपालिका जित्यो । राप्रपाले नेपालगञ्ज उपमहानगरपालिका जित्यो । बाँकी उपमहानगरपालिकामध्ये इटहरी, बुटवल, तुलसीपुर र घोराही एमालेले जितेको छ । धरान उपमहानगरपालिकामा एमालेले अग्रता लिइरहेको छ । भैरहवा, टीकापुर जस्ता मधेसी-थारु आन्दोलनका केन्द्र भागका नगरपालिकामा पनि एमालेले जितेको छ ।

एमालेलाई पूर्वी तराईबाट भने धक्का लागेको छ । केपी ओलीको गृहजिल्ला झापामै बहुमत सीट जित्न नसक्नु एमालेको पराजय त हो नै, सुनसरी र मोरङमा उसको चुनावी नतिजा लगभग दयनीय नै देखिएको छ ।

झापामा एमालेका जिल्ला अध्यक्ष र सचिवले नै चुनाव हारेका छन् । गौरादहजस्तो विगतमा केपी ओलीले चुनाव जितेको र एमालेको पकड रहेको अग्नि खरेलको गृहनगर एमालेले गुमाएको छ ।

मोरङका १७ स्थानीय तहमध्ये एमालेले ५ स्थानमा चित्त बुझाउनुपरेको छ । मोरङमा पहाडे समुदायको बाहुल्य रहेका र एमालेका गढ मानिएका केराबारी, उर्लाबारी, सुन्दर हरैंचा जस्ता ठाउँहरुले गुमाएको छ ।

झापा, मोरङ र सुनसरीमा एमालेले कैलाली, कञ्चनपुर र दाङको जस्तो नतिजा ल्याउन सकेको भए तराईमा एमालेको निकै ठूलो उल्लास मय जित ठहरिने थियो ।

तथापि एमालेले आफूलाई तराईका समग्र ११ जिल्लाको नतिजामा आफूलाई पहिलो दल बनाउन सफल भएको छ ।

यहाँका कुल १२५ स्थानीय तहमध्ये एमाले ४८ स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ । नतिजा आउन बाँकी तीन स्थानमा पनि एमालेको जितको सम्भावना छ ।

स्थानीय तहका प्रमुखहरुको हिसाबले मात्रै होइन, उपप्रमुखहरुमा एमाले अझै बढी जित हात पारेको छ । वडाध्यक्ष र वडा सदस्यहरुमा पनि एमालेकै बहुसंख्या छ ।

कांग्रेसलाई पूर्वको साथ, पश्चिममा धक्का

नेपाली कांग्रेसलाई १ नम्बर प्रदेशका मोरङ र सुनसरीले साथ दिए पनि मध्य एवं पश्चिम तराईमा उसले धक्का खाएको छ । कोर मधेसका जिल्लामध्ये रुपन्देहीमा एमालेले राम्रो परिणाम ल्याए पनिकपिलवस्तु र नवलपरासीमा चाँहि कांग्रेस नै पहिलो दल बनेको छ ।

कांग्रेसले दाङ, कैलाली र कञ्चनपुरमा एमालेबाट धक्का खानुपरेको छ ।

कांग्रेसले झापामा १५ स्थानीय तहमध्ये ५ स्थानीय तह जितेको छ भने मोरङमा बिराटनगर महानरपालिका सहित ९ स्थानीय तह जितेर बहुमत प्राप्त गरेको छ । त्यस्तै सुनसरीमा १२ मध्ये ६ स्थानीय तह जितेर नेपाली कांग्रेस सुनसरीको ठूलो दल बनेको छ ।

कांग्रेसले नवलपरासीमा ७ स्थानीय तहमध्ये ३ वटा जितेर आफूलाई पहिलो दल बनाएको छ । कपिलवस्तुमा पनि १० मध्ये ५ स्थानीय तह जितेर कांग्रेस पहिलो पार्टी बनेको छ ।

कांग्रेसले दाङमा ३, बाँकेमा २, बर्दियामा २, कैलालीमा ३ र कञ्चनपुरमा २ स्थानीय तह जितेको छ । यी जिल्लाहरुमा कांग्रेस पहिलो दल बन्न सकेन ।

माओवादी ११ जित, चार जिल्लामा शून्य

तराई मधेसका ११ जिल्लामध्ये माओवादीले ११ स्थान जितेर आफूलाई तेस्रो दलमा उभ्याएको छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम भन्दा माओवादी केही स्थानले अगाडि छ ।

इटहरीमा वडा सदस्य जितेपछि माओवादी नेताहरु

माओवादी केन्द्रले झापा, सुनसरी, कपिलवस्तु र बाँकेमा एउटै स्थानीय तह पनि जित्न सकेन । मोरङ, नवलपरासी, दाङ र रुपन्देहीमा एक/एक स्थानीय तह जितेको माओवादीले सबैभन्दा राम्रो सफलता बर्दियामा पाएको छ । बर्दियामा माओवादीले ३ स्थानीय तह जितेर एमालेसँग बराबरीको हैसियत कायम गरेको छ ।

कैलाली र कञ्चनपुरमा माओवादीले दुई-दुई स्थानीय तह जितेको छ । यी जिल्लामा कांग्रेस र माओवादीको हैसियत लगभग बराबरीजस्तै देखिएको छ ।

गच्छदारको भन्दा उपेन्द्र यादवको पार्टी ठूलो

तराई मधेसका ११ जिल्लामा मधेस केन्दि्रत भनिएका दलहरुको तुलनामा एमाले, कांग्रेस र माओवादीजस्ता प्रमुख दलहरु नै हावी देखिएका छन् । तर, उनीहरुमध्ये उपेन्द्र यादवको संघीय समाजवादी पार्टी पहिलो, विजय गच्छदारको लोकतान्त्रिक फोरम दोस्रो र राजपा तेस्रो स्थानमा छन् ।

मधेस केन्द्रित तीनवटा दलहरुले पाएको कुल सीट १६ पुग्छ, जुन माओवादीले पाएको भन्दा ५ सीट धेरै हो । तर, एक्लाएक्लै जोड्दा माओवादी नै ठूलो देखिन्छ ।

संघीय समाजवादी फोरमले सबैभन्दा राम्रो सफलता रुपन्देहीमा पाएको छ । ४ स्थानीय तह जितेर संघीय फोरम रुपन्देहीमा एमालेपछिको दोस्रो शक्ति बनेको छ ।


मोरङ, सुनसरी, कपिलवस्तु र बाँकेमा संघीय फोरमले एक-एक स्थानीय तह जितेको छ । संघीय फोरमले ८ स्थानमा जितेर मधेसको पहिलो शक्तिका रुपमा आफूलाई उभ्याएको छ ।

विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले सुनसरीमा २, मोरङमा १, नवलपरासीमा १, रुपन्देहीमा १ र कैलालीमा १ स्थानीय तहसमेत गरी ६ स्थानमा जित हात पारेको छ ।

त्यसैगरी राजपा समर्थित स्वतन्त्र उम्मेदवारले रुपन्देहीमा एक र कपिलवस्तुमा एक गरी २ वटा स्थानीय तह जितेका छन् ।

बालुवाटारमा बहसः मधेस र थरुहटमा एमाले कसरी पहिलो बन्यो ?

यसैवीच संविधान संशोधनबारे छलफल गर्न शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, माओवादी र राजपा नेताहरुको बैठकमा चर्चा चल्यो- तराई मधेसमा एमालेले कसरी यति धेरै सीट जित्यो ?

टीकापुर नगरपालिकामा एमालेले जितेको विषयमा त निकैबेर छलफल नै भयो । भारतीय अतिक्रमण भोगिरहेको सुस्ता महेशपुरदेखि सुरक्षाकर्मीसहितको विभत्स हत्याकाण्ड भएको टीकापुरसम्मका ठाउँमा एमालेले जितेपछि सत्तापक्ष र राजपा नेताबीच निकैबेर समीक्षा भएको हो ।

अब एमालेले संविधान संशोधन पारित गर्न नमानेमा यसैलाई चुनावी एजेण्डा बनाएर जाने प्रस्ताव बालुवाटार बैठकमा शेरबहादुर देउवा र प्रचण्डले राजपा नेताहरु समक्ष राखेका छन् ।

तर, एमाले नेताहरु भने संशोधनको सम्बन्धमा अझ कठोर बन्दै कुनै हालतमा पारित गर्न नदिने अडानमा छन् । यसले एमालेलाई तेस्रो चरणको चुनावमा लाभहानी के गर्छ ? सायद एमाले नेताहरुले हिसाब गरिरहेका होलान् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment