बुधबार, ४ असोज, २०७४
OnlineKhabar.com

दार्जीलिङ-सिक्किममा आदिकविको सम्मान, हामी के गर्दै छौं ?

उदयकुमार मल्लिक

दार्जीलिङ घुम्न जाने सबैले एउटा सुझाव सुनेकै हुन्छन्, ‘चौरास्ता नघुमी दार्जीलिङ घुमिन्न ।’ तीन वर्षअघिको दार्जीलिङको यात्रामा पनि यो सुनियो ।

शैक्षिक भ्रमणका क्रममा पशुपतिनगर हुँदै राति ८ बजेतिर दार्जीलिङको बसपार्क पुगियो । होटलमा सामान थन्क्याएर १० बजेतिर पैदल टहलिँदै उही चौरास्तामा पुग्यौं ।

सुरुमा त चौरास्ता भनेको एउटा चौबाटो होला भन्ने सोच्यौं । त्यो खासमा चार वटा बाटो एक ठाउँमा मिसिएको ठाउँ नै थियो । त्यही चौरास्ताको बीचमा एउटा ठूलो पूर्णकदको सालिक चम्किएको देखियो । त्यो सालिक थियो, हाम्रा आदिकवि भानुभक्त आचार्यको ।

पहिलो पटक आदिकविको पूर्णकदको सालिक देख्दा विचित्र रोमाञ्चले ज्यान तरङ्गित भयो । त्यसबेलासम्म हामीले नेपालमा आदिकविको त्यत्रो सालिक कतै देख्न पाएका थिएनौं ।

दार्जीलिङ भारतको पश्चिम बंगाल राज्यको मनमोहक शहर हो, जहाँ अधिकतम संख्यामा नेपालीभाषी बसोबास गर्छन् । त्यहाँ नेपाली भाषाका आदिकवि भानुभक्तको सालिक शहरको महत्वपूर्ण ठाउँमा राखिनु नेपाली भाषाप्रति कति इज्जत र सम्मान दिइएको रहेछ भनेर देखिन्छ ।

फेरि भोलिपल्ट बिहानको उज्यालोमा गएर चौरास्ताको सालिक हेर्दै गदगद भयौं । मुखबाट हठात् निस्कियो– ‘कस्तो गजब सालिक ! हाम्रा भानुभक्त !’ हामी भारतमा नभएको भए सायद ‘हाम्रो’ भन्ने शब्द निस्किन्थेन होला ।

त्यही क्रममा विष्णु सरले भन्नुभयो, ‘तपाईंहरूलाई एउटा अर्को चिज देखाउँछु, जसले तपाईँहरूलाई अझै रोमाञ्चित बनाउनेछ ।’

एकैछिन पैदल हिंडेपछि एउटा विशाल भवनको गेट नजिक हामी पुग्यौं । विष्णु सरलाई सोध्यौं ‘हामी कहाँ आइपुग्यौं सर ?’ उहाँले भवनको टुप्पो र गेटमा लेखिएको कुरा पढ्न लगाउनुभयो । त्यहाँ ठूलो अक्षरमा लेखिएको थियो ‘भानु भवन’, जसलाई गोर्खा रङ्गमञ्च पनि भनिँदो रहेछ । यत्रो विशाल भवन हाम्रो भानुभक्तको नाउँमा राखिएको देखेर हामीले चमत्कृत भयौं ।

हामीलाई एकसाथ गर्व र दुःखको महसुस भयो । यता भारतमा भानुको यत्रो सम्मान छ, उता हामीले आफ्नो देशमा खासै केही गर्न सकेका छैनौं । भानु जयन्तीमा कविता पाठ, र्‍याली गरेर कर्ममाण्ड पूरा गरिन्छ । दार्जीलिङ पुगेर हामीले महसुस गर्‍यौं, जति महत्व हामीले दिनुपर्ने हो, त्यो त्यहाँ दिइएको रहेछ ।

केही दिन दार्जीलिङ घुमेपछि हामी भानु जयन्तीको अघिल्लो दिन सिक्किमतिर गयौं । भोलिपल्ट बिहान सबैजना नित्य कर्म सकेर नास्ता खाना होटेलको ठूलो हलमा आइपुग्यौं । नास्ता पस्किन सुरु हुँदै गर्दा एक जना साथीले टेलिभिजन खोल्नुभयो । च्यानल बदल्दै जाँदा एउटा च्यानलमा रोकियो, त्यो च्यानलबाट नेपाली भाषामा केही प्रसारण हुँदै थियो । हामीले सोच्यौं, हाम्रै देशको कुनै च्यानल होला । एकै छिनपछि खेमेन्द्र र चुडामणि सरले रोमाञ्चित आवाजमा भन्नुभयो, ‘सरहरू यो त लाइभ टेलिकास्ट हो, यहीँको च्यानलको !’

टेलिभिजनमा एउटा ठूलो भवनको हलभित्र भानुभक्त आचार्य रचित रामायणको रङ्गमञ्चबाट प्रत्यक्ष प्रसारण थियो, जसलाई केही बेरअघि सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले उद्घाटन गरेका रहेछन् । कलाकारहरूले भानुभक्त पालाको नेपाली भाषा-शैलीमै अभिनय गरिरहेका थिए । हामीले पनि हर्षविभोर भएर एक घण्टासम्म कार्यक्रम हेरिराख्यौं ।

त्यसपछि हामीलाई सिक्किम घुमाउने गाडी आयो । हामीले गाडीवालालाई सबभन्दा पहिले त्यही कार्यक्रम भइरहेको भवनतिर लैजान भन्यौं । त्यो भवनमा पुग्दा एकदम रमणीय माहौल थियो, मानौं कुनै पर्व चलिरहेको छ । प्रायः सबैले दौरा–सुरुवाल र गुन्यू–चोलो लगाएका थिए । नरसिंगा, टयाम्को र दमाहाको संयुक्त ध्वनि गुञ्जिरहेको थियो । भानुभक्तको जयजयकार हुँदै थियो ।

एकछिन त्यहाँको रमाइलो अवलोकन गरेपछि छयाङ्गु लेकतिर गयौं । फर्किंदा राति भयो । होटेल आएर खाना खाएपछि हामी भावविभोर भएर औपचारिक बैठक जस्तै बस्यौं, हामीले पनि भानु जयन्ती र नेपाली भाषाको लागि केही गर्नुपर्छ भनेर ।

भारतको दार्जीलिङ, सिक्किम र पूर्वोतर राज्यहरूमा भानुभक्त र नेपाली भाषालाई कति महत्व दिएका छन्, हामीले पनि एउटा सानो सुरुवात भए पनि गरौं भन्ने कुरा भयो । यसमा सबैको एकमत आयो ।

केही दिनको घुमघामपछि नेपाल फर्कियौं ।

हाम्रो भ्रमण टोलीमा विष्णुप्रसाद पन्थी, खेमेन्द्र राना, चुडामणि भुषाल, वसन्त पाण्डे, गोकुल पोखरेल, राजेन्द्र घिमिरे, एल.बी. रौतार, प्रेमनारायण पौडेल, भरत गिरी, मनोज कुमार यादव, शक्तिधर यादव, डोलराज बेलबासे थियौं ।

फर्केपछि अरु साथीहरूलाई दर्जीलिङ र सिक्किम यात्राको अनुभव सुनायौं । खासगरी भानु जयन्तीमा देखेको उत्सवको बयान गर्न छुटाएनौं । आगामी दिनहरूमा हामीले पनि सार्थक रुपमा भानु जयन्ती र नेपाली भाषा दिवस मनाउने निर्णय गर्‍यौं ।

त्यस अनुसार हामीले ०७२ र ०७३ सालमा सिद्धार्थ साहित्य परिषद्, रुपन्देहीसँग मिलेर दुई वर्ष उपलब्धिमूलक, चेतनामूलक कार्यक्रमहरू गर्‍यौं । भानुभक्त आचार्य, भानु जयन्ती र नेपाली भाषालाई संरक्षण र प्रवर्द्धन गर्ने क्रममा पञ्चै बाजासहितको चेतनामूलक र्‍याली, प्रवचन, स्रष्टा सम्मान, भानु सालिकमा माल्यार्पण, विद्यालय स्तरका सबै विद्यार्थीमा प्रभाव पर्ने गरी भानु सम्बन्धी चित्रकला प्रदर्शनी, निबन्ध लेखन, जीवनी लेखन, हाजिरीजवाफ, कविता लेखन एवं वाचन जस्ता कार्यक्रमहरू आयोजना गर्दै आएका छौं ।

यस वर्ष केही प्राविधिक कठिनाइका कारण कार्यक्रमहरू आफैं सप्ताहव्यापी रुपमा गर्दै छौं ।

०७२ सालदेखि नै हामीले ‘सामूहिक भानु पुरस्कार’ र ‘सामूहिक भानु युवा प्रतिभा पुरस्कार’ गरी दुई पुरस्कार दिँदै आएका छौं । यो पुरस्कार नगद एवं ताम्रपत्रसहित स्रष्टाका श्रीमान्–श्रीमतीलाई नै दिइन्छ ।

यी नियमित कार्यक्रमलाई निरन्तरता दिई आगामी दिनमा आदिकवि भानुभक्त आचार्यको पूर्ण कदको सालिक निर्माण गरी कुनै चोकमा राखी ‘भानु चोक’ बनाउने हाम्रो सोच छ । दीर्घकालीन रुपमा भानुभक्त, भानु जयन्ती र नेपाली भाषालाई स्थानीय स्तर, राष्ट्रिय स्तर र अन्तर्राष्ट्रिय स्तरमा संरक्षण, प्रवर्द्धन र विकास गर्ने योजना बनाएका छौं ।

अन्त्यमा, भानुभक्त र भानु जयन्तीलाई पठनपाठनको शैक्षिक तथा धार्मिक सामग्री र दिवस मात्रै नबनाई यसलाई नेपाली भाषासँग जोडी संरक्षण र प्रवर्द्धन गर्ने हामी सबैको दायित्व हो ।

नेपाली भाषाले सम्पूर्ण नेपालीलाई एउटै मालामा गाँसेर भाषिक र राष्ट्रिय एकीकरण गरेको छ । नेपालको संविधान–२०७२ ले पनि नेपाली भाषाका साथै नेपालभित्र बोलिने सम्पूर्ण भाषाहरूको विकास, संरक्षण र प्रवर्द्धन गर्ने अवधारणा लिएको छ र सोही अनुरुप नेपाल सरकारले पनि ‘भाषा आयोग’ को गठन गरेको छ ।

आशा गरौं, भाषा आयोग, नेपाल सरकार र हामी सबैले भानुभक्तका कृतिहरू, भानु जयन्ती र नेपाली भाषालाई समृद्ध बनाउनेछौं ।

२०७४ असार २९ गते १३:३४ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • Sudhir Man Singh B.k Khati लेख्नुहुन्छ    |   २०७४ असार ३० गते ७:५०

    Beautiful Article Udaya Sir. Keep it on.
    I’m proud of u as a writer From my home town Bhairahawa.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this