Comments Add Comment

एमाले अध्यक्ष ओली सपरिवार मानसरोवर जाँदै

ल्हासामा चिनियाँ अधिकारीसँग भेटघाट हुने

६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मानसरोवरको यात्रामा निस्कने भएका छन् । विश्वभरका हिन्दू र बौद्ध धर्माबलम्बीहरुको प्रसिद्ध गन्तव्यस्थल कैलाश मानसरोवरको भ्रमणका लागि ओली शनिवार त्यसतर्फ प्रस्थान गर्दैछन् ।

पूर्वप्रधानमन्त्री ओलीको यो विशुद्ध व्यक्तिगत र पारिवारिक भ्रमण हो । ओलीसँगै पत्नी राधिका शाक्य र चिकित्सकहरुको टोलीसमेत रहनेछ । मानसरोबर उच्च हिमाली क्षेत्रमा पर्ने भएकाले चिकित्सकको टोली पनि सँगै जान लागेको हो । ओलीका निजी चिकित्सकका परिवार पनि सँगै हुनेछन् ।

ओलीका स्वकीय सचिव अनिश दाहालले कैलाश मानसरोवर क्षेत्रको अध्ययन गर्ने उद्देश्यले यो भ्रमण तय भएको बताए । ओलीको मानसरोबर यात्रा एक साताको हुनेछ ।

शनिवार काठमाडौंबाट ल्हासा जान लागेका ओलीले ल्हासामा चिनियाँ उच्च अधिकारीहरुसँग पनि भेटघाट गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । दाहालले भने अहिलेसम्म औपचारिक भेटघाटको कार्यक्रम तय नभएको जानकारी दिए ।

मानसरोवरको महत्व के हो ?

कैलाश मानसरोवर विश्वका हिन्दूहरुको पवित्र गन्तव्य हो । हिन्दू धर्मशास्त्रहरुमा कैलाशलाई शिवको धाम मानिएको छ भने मानसरोबरमा शिव भगवान विचरण गर्छन् । यो बौद्धमार्गीको पनि पवित्रस्थल हो ।

२२ हजार २८ फिट उचाइको कैलाश पर्वतलाई भगवान शिव पार्वतीको बासस्थानका रुपमा हिन्दूले मान्छन् । यो धर्ती जहिले सृष्टि भयो, त्यहिँदेखिनै कैलाश मानसरोबर यथावत रहेको मान्यता छ ।

कैलाश मानसरोवरमा एक प्रकारको प्रकाश तरंग र ध्वनी तरंगको संगम हुने गर्छ जहाँ ओम को प्रतिध्वनि सुनिन्छ । पौराणिक कथाहरुका अनुसार यो स्थान कुबेरको नगर हो । यहीँबाट महाबिष्णुको करकमलबाट निस्केर गंगा कैलाश पर्वतको काखमा गिर्छिन् ।

यो स्थान बौद्ध धर्मावलम्बीको सबैभन्दा महत्वपूर्ण तीर्थस्थल हो । कैलाशमा अववस्थित बुद्ध भगवानको अलौकिक रुप देख्न सकिन्छ । यही स्थानमा पुगेर बुद्धले निर्वाण प्राप्त गरेको विश्वास बौद्धमार्गीहरुको छ ।

जैन धर्मका पहिला तीर्थकरले पनि यहीँबाट निर्वाण लिएका थिए । यहाँ शिखका गुरु नानकले पनि ध्यान गरेका थिए । यस प्रकारले हेर्दा यो बहुधार्मिक गन्तव्यस्थल हो, जुन चीनको तिब्बतमा अवस्थित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment