Comments Add Comment

एमालेको दाबीः सप्तरीमा १० तह जित्ने, सिरहामा राम्रो ‘पोजिसन’

फाइल तस्वीर

२२ साउन, सप्तरी । तेस्रो चरणको स्थानीय निकायको निर्वाचन आउन एक महिना एक साता बाँकी छ । चुनाव नजिकिँदै जाँदा दलका नेताहरु व्यस्त हुन थालेका छन् ।

आआफ्नो पक्षमा माहौल बनाउन बिभिन्न दलका नेताहरु अगाडि बढिसकेको छ । यो भिडमा नेकपा एमाले पनि आफ्नो तयारीको शुरुअात गरेको छ ।

प्रदेश २ का आठ जिल्लामा असोज २ गते तेस्रो चरणको स्थानीय निकायको निर्वाचन हुनेछ । प्रदेशको पूर्वी दुई जिल्ला सप्तरी र सिरहामा एमालेले बैठक, छलफल अगाडि बढाइसकेको छ । एमालेका नेतृत्व तहले दुई जिल्लामा पार्टीले राम्रो परिणाम ल्याउने बताएका छन् ।

सप्तरी नेतृत्वले त आधा भन्दा बढी स्थानीय तह जित्ने दाबी नै गरेका छन् । ‘हामी ६ नगरपालिका र ४ गाउँपालिका जित्छौं’ एमाले जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने भन्छन्, ‘अन्य स्थानीय तहमा पनि हामी संगठन सुदृढिकरण अभियानमा जुटेका छौं ।’
सप्तरीमा ९ गाउँपालिका र आठ नगरपालिका रहेको छ ।

पहिलो संविधानसभा निर्वाचनमा एमालेले जिल्लाको ६ निर्वाचन क्षेत्रमध्ये कुनैमा जित्न सकेन । २०७० सालको संविधानसभामा क्षेत्र नम्बर ४ मा एमालेले जित हासिल गरेको थियो ।

पछिल्लो समयमा भएका मधेश आन्दोलनका क्रममा खासगरी सिराहा र सप्तरीमा नै एमालेप्रति आक्रोस देखिन्थ्यो । अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिहरुले पनि आक्रोस थप्यो । २३ फागुन २०७३ मा एमालेको मेची महाकाली अभियानको आमसभा मलेठमा गरिँदा पाँच जनाको ज्यान गएको थियो ।

१४ असारमा तोकिएको दोस्रो चरणको निर्वाचनको मिति बढाउँदा एमालेका एक जना उम्म्मेदवारले पार्टी नै परिवर्तन गरेका छन्।

तिरहुत नगरपालिकाको प्रमुख पदका उम्मेदबार दिपु लगरबार नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गरेका छन् । तर, एमाले जिल्ला अध्यक्ष न्यौपाने अहिलेको अवस्था अर्कै रहेको बताउँछन् । उनको भनाइमा जनता एमालेप्रति आकषिर्त भइसकेका छन् । ‘जनताको पक्षमा एमाले नै छन् भन्ने कुरा जनताहरु बुझ्न थालेका छन्’ न्यौपानेको दावी छ, ‘यही कारण हामी १७ स्थानीय तहमध्ये १० वटा जित्छौं ।’

उनी साउनसम्म बैठक, छलफल गरेर भदौ १ बाट प्रचार प्रसार थालिने बताउँछन् । उनी साउनभित्रै संगठन सुदृढिकरण गर्दै समस्या भएका ठाउँहरुमा समाधान गरी पार्टीको अवस्था झनै राम्रो बनाउने योजना रहेको बताउँछन् ।

सिरहामा पनि राम्रो पोजिसनको दाबी

सप्तरीसँगै टाँसिएको सिरहा जिल्ला पनि मधेश आन्दोलनको उद्गम स्थल हो । पहिलो मधेश आन्दोलन सप्तरीबाट सुत्रपात भएपनि आगो भने सिरहाबाटै बलेको थियो ।

अहिलेसम्म मधेशवादी दलहरुकै बढी सकृयता देखिएको यो जिल्लामा ‘एमालेको अवस्था कस्तो ?’ भन्ने प्रश्नमा जिल्ला अध्यक्ष प्रमोद यादव भन्छन्, ‘हामी धेरै राम्रो स्थितिमा छौं ।’

उनी पनि जिल्लाको अधिकांस स्थानीय तहमा पार्टीले बाजी मार्ने दाबी गर्छन् । ‘यति, उति जित्छौं त्यो म भन्दिनँ’ उनी भन्छन्, ‘तर जिल्लाको अधिकांस ठाउँमा हामी जित्छौं ।’ सिरहामा १० गाउँपालिका र ७ नगरपालिका गरी १७ वटा स्थानीय तह रहेको छ ।

एमाले जिल्ला अध्यक्ष यादवको तर्क छ, ‘दुबै संविधानसभाको निर्वाचनमा पार्टीले दोस्रो स्थान ल्याएको छ । त्यो दोस्रो स्थान यस पटक पहिलोमा आउनेछ ।’

उनी चुनावका निम्ति पार्टीको हरेक अँगलाई परिचालन गरिसकिएको बताउँछन् । प्रत्येक स्थानीय तहको प्रमुखको उम्मेदबार टुँगो लागिसकेको र बाँकीसाउनभित्रै टुँगो लगाएर अघि बढ्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment