Comments Add Comment

को बन्ला अखिल क्रान्तिकारीको अध्यक्ष ?

७ भदौ, काठमाडौं । अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बबरमहलस्थित एक पार्टी प्यालेसमा सम्मेलन उदघाटन गरे ।

‘राष्ट्रिय एकता र समाजवादी शिक्षाको पक्षमा हाम्रो अभियान, सुदृढ संगठनको लागि एकताको २१ औं राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ सुरु सम्मेलनमा आयोजक समिति सदस्य र प्रतिनिधि गरेर कुल २ हजार ७६ जना सहभागी छन् ।

सम्मेलनको बन्दसत्र बिहीबारबाट त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा सुरु हुने छ । बन्दसत्रले संगठनको नीति तथा कार्यक्रम तय गर्नुका साथै नयाँ नेतृत्व पनि चयन गर्नेछ । तर संगठनले बनाउने नीति भन्दा नेतृत्वमा को आउला भन्ने चासो बढी छ ।

अखिल क्रान्तिकारीको यसपटकको सम्मेलन विगतको आफ्नै सम्मेलन र अरु विद्यार्थी संगठनहरुको भन्दा फरक छ । किनभने क्रान्तिकारीले मनोनयन दर्ताको समय सुरु नभइन्जेलसम्म उम्मेदवारी घोषणा गर्न रोक लगाएको छ । त्यतिमात्रै होइन, इतिहासमै पहिलोपटक चुनावमार्फत् नेतृत्व चुन्ने गृहकार्य गरिएको छ ।

अस्वस्थ प्रतिस्पर्धा हुनसक्ने भएकाले क्रान्तिकारीले आचारसंहिता बनाएरै मनोनयन समय सुरु नहुँदासम्म उम्मेदवारी सार्बजनिक गर्न र कसैको पक्षमा लविङ गर्न बन्देज लगाएको छ । त्यसैले अध्यक्षका आकांक्षीहरुले आफ्नो दाबेदारी सार्बजनिक गरेका छैनन् । तर, पार्टी र संगठनभित्र आन्तरिक तयारी र लविङ भने तीव्र छ । उनीहरुले पार्टीका नेताहरु, संगठनका पूर्व अध्यक्षहरु र सहयोद्धाहरुसँग भेटवार्ता गरी आफ्नो पक्षमा माहोल बनाउन भरमग्दुर प्रयत्न गरिरहेका छन् ।

यस्ता छन् दावेदार

अखिल क्रान्तिकारीको अध्यक्ष पदका आकांक्षीहरु सात जना छन् । अनिल शर्मा, रञ्जित तामाङ, रामचन्द्र अधिकारी, मदन अर्याल, पञ्चा सिंह, बीरेन्द्र बस्नेत र सुरेन्द्र बस्नेत अध्यक्षका आकांक्षी हुन् । तर, मुख्य दाबेदार भने शर्मा, तामाङ र सिंह हुन् । यी तिनैजना अखिल क्रान्तिकारीका उपाध्यक्ष हुन् ।

रुकुम घर भएका अनिल शर्मा अहिलेका दाबेदारहरुमध्ये सबैभन्दा वरिष्ठ उपाध्यक्ष हुन् । संगठनमा राम्रो पकड जमाएका उनलाई नै अध्यक्ष बनाउनुपर्ने पक्षमा क्रान्तिकारीका केही पूर्व अध्यक्षहरु देखिन्छन् ।

तर, झापाका रञ्जित तामाङ शर्मालाई स्वीकार्ने पक्षमा देखिएका छैनन् । प्रखर वक्ता र जुझारु स्वभावका तामाङ कनिष्ठ-वरिष्ठको कुरा छाडेर चुनावबाट नेतृत्वको छिनोफानो लगाउनुपर्ने पक्षमा छन् । विद्यार्थीमैत्री स्वभावका कारण तामाङलाई अध्यक्ष बनाउनुपर्ने एकथरीको धारणा छ ।

यसैगरी अध्यक्ष पदको अर्को दाबेदार पञ्चा सिंहले अब नेतृत्व महिलालाई दिनुपर्ने बताउँछिन् । अखिल क्रान्तिकारीको छात्रा विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी उनी शहिद परिवारसमेत हुन् ।

कालिकोटकी छोरी सुर्खेतकी बुहारी सिंहले गत साउन १५ गते आफ्नो उम्मेदवारी घोषणा गरेकी थिइन् जतिबेला अखिल क्रान्तिकारीले राष्ट्रिय सम्मेलनका लागि आचारसंहिता जारी गरिसकेको थिएन । माओवादी पार्टी सबैभन्दा बढी महिला मैत्री भएकाले अखिल क्रान्तिकारीको नेतृत्व अब महिलाको हातमा आउनेमा उनी विश्वस्त छिन् । तर, अखिल क्रान्तिकारीको हरेक सम्मेलनबाट पुरुषहरु नै अध्यक्ष बन्ने परम्परा तोड्न भने उनलाई कठिन हुने देखिन्छ ।

वीरेन्द्र निर्णायक !

अखिल क्रान्तिकारीको नेतृत्वमा दाबी गर्दै आएकाहरुको भविष्य भने अर्का दावेदार वीरेन्द्र बस्नेतको हातमा हुनेछ । झापा निवासी बस्नेत संगठनमा प्रभावशाली मानिने महासचिव पदमा छन् । जनयुद्धकालमा राज्यपक्षबाट २७ महिनासम्म वेपत्ता पारिएका बस्नेत भैरवनाथ गणको कठोर यातना पाउँदै मुक्त भएका थिए ।

पार्टी बिभाजनसँगै मोहन वैद्यतिर लागेका बस्नेत रामबहादुर थापा ‘बादल’ समूहसँगै माओवादी केन्द्रमा फर्किएका थिए । उनले आफूलाई अखिल क्रान्तिकारीको दाबेदार माने पनि पार्टी बिभाजनलाई साथ दिएको कारण केही संकटमा पर्ने निश्चित छ ।

बरु उनको सहोदर दाजु सुरेन्द्र बस्नेत वीरेन्द्रभन्दा प्रवल दाबेदार ठानिन्छन् । हाल अखिल क्रान्तिकारीको प्रवक्ता रहेका सुरेन्द्रले संयुक्त विद्यार्थी आन्दोलनमा संयोजनकारी भूमिका खेल्दै आएका छन् । यद्यपी सोझो स्वभावका सुरेन्द्रभन्दा वीरेन्द्र माहिर खेलाडी मान्छिन् । वीरेन्द्र पक्षसँग करिब ३-४ सय प्रतिनिधि रहेको अनुमान छ । नेतृत्व छान्न भोटिङ गरियो भने यो संख्या निर्णायक हुनसक्ने भएकाले अध्यक्षका दाबेदारहरु वीरेन्द्रलाई उम्मेदवारी फिर्ता लिन लगाएर आफ्नो पक्षमा तान्न प्रयासरत छन् ।

चर्चामा अधिकारी र अर्याल पनि

रामचन्द्र अधिकारी र मदन अर्याल पनि अध्यक्षका दाबेदार छन् । चितवनका अधिकारी निर्णायक समयमा पहलकदमी लिनसक्ने क्षमता राख्दछन् ।

मदन अर्याल बैचारिक रुपमा स्पष्ट र तर्कशिल नेता हुन् । स्ववियु चुनावमा जस्तै संगठनभित्र पनि उमेर हद लागू गर्नुपर्ने बहस भित्राएर उनी चर्चित छन् । यद्यपी नारायणकाजी श्रेष्ठ ‘प्रकाश’सँगै एकता प्रक्रियामा आएका उनी संगठनभित्र अल्पमतमा पर्दछन् । माओवादी पार्टी र भातृ संगठनभित्र नारायणकाजीसँगै एकता प्रक्रियामा आएका नेता कार्यकर्ताहरुलाई हेर्ने दृष्टिकोण राम्रो छैन ।

यसैको एउटा उदाहरण विद्यार्थी नेता जागृत रायमाझी हुन् । हिमाल शर्माको कार्यकाल सकिएपछि जागृत अध्यक्षको दाबेदार थिए । तर, उनलाई नेतृत्व मान्न न अखिल क्रान्तिकारी तयार भयो न त माउ पार्टी माओवादी नै । जागृतलाई अध्यक्ष हुन नदिन सम्मेलन स्थगित गरियो र पुनः हिमाल शर्मालाई नै एक कार्यकाल थमौति गरियो ।

त्यसपछि जागृत निष्कृय बने । पछि सम्मेलन आयोजक समितिको संयोजक रमेश मल्ललाई बनाइयो र अध्यक्षमा नरेन्द्र न्यौपाने चुनिए ।

अब न्यौपानेपछि अखिल क्रान्तिकारीको अध्यक्ष को बन्ला भन्ने चासो व्याप्त छ । हाल देखिएका अध्यक्षका आकांक्षीहरु सबै क्षमतावान र प्रभावशाली छन् । कोही पनि पछि हट्ने स्थितिमा छैनन् । त्यसैले अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनको निर्वाचन समिति संयोजक रमेश मल्ल भन्छन्, ‘सबै साथीहरु एक से एक क्षमतावान हुनुहुन्छ । अहिलेसम्म सहमति हुने स्थिति देखिएको छैन । अब निर्वाचनले नै नेतृत्व छिनोफानो गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment