Comments Add Comment

पलायन हुँदै व्यावसायिक दूग्ध किसान

भन्छन्- इज्जत र पैसा दुवै छैन, किन पाल्ने बस्तु ?

३ असोज, चितवन । वैदेशिक रोजगारीबाट फर्किएका युवाले आफूले कमाएको रकम व्यावसायिक दूध उत्पादनमा लगाए । उनीहरुकै अग्रसरतामा चितवन दूग्धजन्य पदार्थ उत्पादनमा अब्बल पनि बन्यो । तर, तिनै युवा धमाधम व्यवसायबाट पलायन हुन थालेका छन् ।

‘व्यावसायिक पशुपालनमा थपिनेभन्दा घट्ने बढी छन्,’ जिल्ला पशु सेवा कार्यालयका सूचना अधिकारी अर्जुनप्रसाद थपलिया भन्छन् ।

त्यसको मुख्य कारण हो, उत्पादित दूधले पर्याप्त मूल्य नपाउनु । सोचेजस्तो आम्दानी नभएपछि उनीहरु सामु पेसा परिवर्तनको विकल्प तयार हुन सकेको छैन । यसअघि भरिभराउ रहने गाईका गोठ अहिले रित्ता देखिन थालेका छन् ।

व्यावसायिक दुग्ध उत्पादक कृषक समाज, चितवनका अध्यक्ष कृष्णराज भण्डारीले दूधको मूल्य नबढ्दा र दाना, चोक्कर, परालको भाउ अकासिँदा घाटा बढेको छ । दूध किसानप्रति समाज र राज्यको दृष्टिकोणमा परिवर्तन आउन नसक्दा युवा व्यवसायीको पलायन बढेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था, केशरवागका अध्यक्ष भगीरथ तिमिल्सिना बताउँछन् ।

कति युवा व्यवसायी पलायन भइसके भन्ने यकिन आँकडा कसैसँग छैन । अन्नपूर्णका अध्यक्ष तिमिल्सिना भन्छन्, ‘अहिले दूधको सिजन हो तर उत्पादन परिमाण घटेको छ, धेरै दूध उत्पादन गर्ने किसानले गाईको संख्या घटाउँदै गएका छन् ।’

पशुपालनमा लागेका युवालाई गोठालोका रुपमा लिइएको व्यवसायी उपेन्द्र भण्डारीको गुनासो छ । ‘इज्जत र पैसा दुवै छैन । किन पाल्ने बस्तु ?’ उनको प्रश्न छ ।

युवा पशुपालकलाई विस्तारै जग्गा कारोबारले आकर्षित गर्न थालेको छ । ‘एक कठ्ठा जग्गा बेच्दा २-३ लाख आउँछ, अनि कसले भकारो सोहोरेर बस्छ ?’ अन्नपूर्णका अध्यक्ष तिमिल्सिना प्रश्न गर्छन् ।

पछिल्ला दिनमा गाईका बाच्छी हुर्काउने झण्झट लिन छाडेका छन्, किसान । उनीहरुको भनाइमा एउटा बाच्छी हुर्काउँदा ७० हजारसम्म खर्च हुन्छ, बिक्री गर्दा ५० हजार पनि आउँदैन ।’

किसानको उत्पादन लागत घटाउने सरकारी योजना नआएकामा उनीहरु रुष्ट छन् । उल्टै चीनबाट माउ गाई ल्याउने सरकारी तयारीले उनीहरुलाई थप आक्रोसित बनाएको छ । जबकि, स्वदेशमै दैनिक २७ लिटरसम्म दूध दिने गाईका प्रजाति पाइन्छन् ।

वार्षिक उत्पादन ९० हजार मेट्रिक टन

चितवनमा वार्षिक ९० हजार मेट्रिकटन दूध उत्पादन हुन्छ । काठमाडौं उपत्यकाको माग जेनतेन धानिरहेको छ, चितवनको दूधले ।

यहाँबाट दैनिक डेढ लाख लिटर दूध चितवनबाट काठमाडौं पुग्छ । जिल्लाको उत्पादन ६५ प्रतिशत अन्यत्र निकासी हुन्छ । दैनिक कुल उत्पादन अढाइ लाख लिटर छ ।

जिल्लामा दूध संकलन गर्ने एक सय ३८ वटा सहकारी छन् । पछिल्ला दिनमा थोरै मूल्य बढेकाले किसानमा उत्साह थपिएको दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिहर सुवेदी बताउँछन् ।

उत्पादनको परिमाण ओरालो लाग्दै गर्दा चितवनलाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ । पशुसेवा कार्यालयका सूचना अधिकारी थपलिया भन्छन्, ‘जिल्लाको उत्पादन यहीँ खपत गर्ने हो भने पनि हामी सजिलै दूधमा आत्मनिर्भर भएर बाहिर पठाउन सक्छौँ ।’

कार्यालय प्रमुख डिल्लीराम सेढाईंका अनुसार चितवनमा वार्षिक प्रतिव्यक्ति एक सय ३७ लिटर दूध उत्पादन भइरहेको छ । एक व्यक्तिलाई वर्षमा ९० लिटर दूध आवश्यक हुन्छ ।

‘चितवनमा प्रतिव्यक्ति वार्षिक ४७ लिटर दूध बढी छ,’ सेढाईं भन्छन्, ‘यस हिसाबले आत्मनिर्भर भन्न मिल्छ ।’ उनका अनुसार तीन वर्षभित्र मुलुकलाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने सरकारी योजना छ ।

मूल्यवृद्धिले थोरै उत्साह

सरकारले १ भदौदेखि दूधको मूल्य बढायो । प्रतिलिटर ४६-४६ रुपैयाँ पाउँदै आएका किसानले ५० रुपैयाँ पाउन थालेका छन् । यसबाट दूग्ध उत्पादकमा थोरै भए पनि उत्साह देखिएको छ ।

उक्त मूल्यबाट लागत उठ्ने पशुसेवा प्रमुख सेढाईंको दाबी छ । भन्छन्, ‘यसले किसानलाई पक्कै पनि उर्जा भरेको छ ।’

दैनिक एक सय ४५ लिटर बिक्री गर्ने युवा व्यवसायी उपेन्द्र भण्डारीले गत वर्ष १८ लाख रुपैयाँ आम्दानी लिए । यस वर्ष मूल्य बढ्दा आम्दानी पनि बढ्ने कुराले उनी उत्साहित छन् ।

तथापि, दूधको मूल्य बढ्दा दाना र चोकरको पनि मूल्य बढ्यो भने किसान जहाँको त्यहीं रहने जोखिम कायमै छ ।

दुग्ध उत्पादक कृषक समाजका अध्यक्ष भण्डारीका अनुसार किसानले अहिले दाना प्रतिकिलो २७ देखि ३८ रुपैयाँसम्म तिर्दै आएका छन् । चोकर ४० किलोको एक हजारदेखि ११ सयसम्म पर्छ ।

बढेको मूल्यको ६९ प्रतिशत किसान र ३१ प्रतिशत दुग्ध उद्योगहरुले पाउँछन् ।

उत्पादनको प्रक्रियामा आधुनिक प्रविधि भित्रिन सकेको छैन । कामदार अभावको समस्या उस्तै छ । बैंकहरुको महँगो व्याजदरको मारमा किसान नै पर्ने गर्छन् । ऋण लिँदा एउटा व्याजदर हुन्छ, विस्तारै बढाएर किसानको थाप्लामा भार थप्छन्, बैंकहरु ।

बैंक तथा वित्तीय संस्थाहरुले पशुपालनका लागि सहुलियत ऋण दिँदैनन् । शुरुमा भनिएको ६ र सात प्रतिशत ऋण बढाएर १३ प्रतिशतसम्म पुर्‍याउँछन् । तिमिल्सिना भन्छन्, ‘जग्गा प्लटिङ गर्छु भन्यो भने अहिलेको अहिल्यै ऋण पाइन्छ तर पशुपालनका लागि पाइँदैन ।’

सरकारले हरेक बजेटमा सहुलियत ऋणको प्रसंग छुटाएको हुँदैन । तर, त्यो गफमै सीमित देखिन्छ ।

‘एक त बैंकसम्म किसानको पहुँच नै पुग्दैन,’ पशुपालक कृषक छविलाल अधिकारी भन्छन्, ‘पुगेपनि नानाथरी झण्झट लगाएर दुःख दिने गरिन्छ, सहजै उपलब्ध हुँदैन ।’

दूधकै विविधीकरण

चितवनमा दूधको व्यावसायिक उत्पादन शुरु भएसँगै विविधीकरणको प्रयास पनि थालिएको हो । ‘मिल्क होलिडे’को जोखिम कम गर्न त्यसलाई विकल्प बनाइएको हो ।

अन्नपूर्ण दूग्ध उत्पादक सहकारी संस्थाले उद्योग नै चलाउँदै आएको छ, जसबाट दूध, दही, घ्यू, पनिर र क्रिम उत्पादन हुन्छ ।

‘उपभोक्तालाई मूल्यमा राहत होस् र किसानले तोकिएभन्दा बढी मूल्य पाउन् र संस्था पनि स्वावलम्बी होस् भनेर विविधीकरण शुरु गरेका हौं,’ संस्थाका अध्यक्ष तिमिल्सिना भन्छन्, ‘यसो गर्दा गुणस्तर र मूल्य दुवैमा समस्या आउँदैन ।’

संस्थाले डिपोबाट ६६ रुपैयाँ प्रतिटिलरमा प्याकेजिङ गरेको दूध बिक्री गर्छ । दैनिक २५ सय लिटर दूधबाट बनेका परिकार बजारमा जान्छ ।

उक्त संस्थाबाट काठमाडौं दैनिक १२ सय लिटर दूध जाने गरेको छ । काठमाडौंको खरिपाटी डेरी, आधुनिक डेरी, तुलसा डेरी, सीताराम डेरी, दूग्ध विकास संस्थान र एचडीआई हेटौंडाले दूध लैजान्छन् । आधूनिक प्रविधिको प्रयोगबाट उत्पादन गर्ने गरिएको संस्थाका बजार प्रमुख बासु गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment