+
+
Shares

भिन्न तीजको दर : हिन्दु, क्रिस्चियन, मुस्लिम, चाइनिज, भुटानी महिला एकै ठाउँ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते १८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सबाना फिटनेस स्टुडियोले मुस्लिम युवती सबाना खातुनको नेतृत्वमा तीजको दर पोटलक प्रणालीमा आयोजना गर्‍यो।
  • हिन्दु, मुस्लिम, क्रिस्चियन, चाइनिज र भुटानी महिलाहरूले सांस्कृतिक सद्भावमा एकै ठाउँमा परम्परागत खाना साटासाट गरे।

तीज आउनु महिनौँ अघिदेखि नै देशभर उत्साह छाउँछ । विशेषगरी महिलाहरू दर खाने बहानामा दिनदिनै भोज भतेरमा व्यस्त हुने गर्छन् ।

परम्परागत रूपमा तीजको दर माइती आएकी चेलीलाई मिठा परिकार खुवाएर रमाइलो गर्ने चाड हो । तर पछिल्लो समयमा यो परम्परा घरमै सीमित नभई पार्टी प्यालेस र होटेलमा भव्य रूपमा मनाउने चलन बढेको छ ।

तर, सबाना फिटनेस स्टुडियोले आयोजना गरेको तीजको दर भने अरू सबैभन्दा फरक देखियो । यो कार्यक्रमको विशेषता के थियो भने यसलाई आयोजना गर्ने व्यक्ति स्वयं फिटनेस ट्रेनर सबाना खातुन थिइन्–एक मुस्लिम युवती ।

यहाँ कुनै होटेलको भव्यता थिएन। बरु, घरेलु स्वाद र सांस्कृतिक मिश्रण थियो । कार्यक्रममा ‘पोटलक सिस्टम’ अपनाइएको थियो, जसमा सबै सहभागीहरूले आफ्ना घरबाट खाना पकाएर ल्याउँछन् । यसले उत्सवलाई थप व्यक्तिगत र साझेदारीपूर्ण बनाएको छ ।

सबानाले तीजको दर कार्यक्रम आयोजना गरेर विविधताको सुन्दर उदाहरण प्रस्तुत गरेकी छिन् । हिन्दु, क्रिस्चियन, मुस्लिम, चाइनिज र भुटानी महिलाहरू एकै ठाउँमा जम्मा भएर आफ्ना घरबाट ल्याएका परम्परागत खानाहरू साटासाट गर्दै रमाइलो गरिरहेका थिए ।

यो कार्यक्रम मात्र एउटा दर खाने भोज थिएन, यो सांस्कृतिक सद्भाव र महिला सशक्तीकरणको जीवन्त कथा हो । जहाँ धर्म, जात वा समुदायको भिन्नता भन्दा पनि ‘साझा खुसी’ ठूलो देखियो ।

बच्चैदेखि नै आमाबुबाले आफूलाई दसैँ, तिहार, लोसार, तीज सबै पर्व रमाइलो गरेर मनाउने संस्कार दिएको उनले सुनाइन् ।

‘मेरो फिटनेस क्लबमा हिन्दु, मुस्लिम, क्रिस्चियन, बौद्ध, चाइनिज, भुटानी दिदीबहिनीहरू आउनुहुन्छ’ सबाना भन्छिन्, ‘तीज हिन्दुहरूको पर्व भए पनि मैले यसलाई सबै धर्म र समुदायका महिलाले एकैसाथ रमाइलो गर्ने अवसरको रूपमा हेरेकी हुँ ।’

सबैले एक-अर्काको संस्कृति र परम्परालाई सम्मान गर्दै रमाइलो गर्नु राम्रो हुने सबानाले बताइन् ।

पार्टी प्यालेसको भव्यताभन्दा यो कार्यक्रम घरेलु स्वाद र सांस्कृतिक सम्मानमा केन्द्रित छ, जसले महिलाहरूलाई फिट मात्र होइन, खुसी र एकताबद्ध पनि बनाउँछ ।

दावा डेमा कर्मा, जो क्रिश्चियन हुन् र स्टुडियोमा झन्डै तीन वर्षदेखि सदस्य छिन् । यो कार्यक्रमलाई ‘ग्यादरिंङ’को रूपमा हेर्छिन् । ‘म पनि तीज मनाउने संस्कृतिबाट आएकी होइन तर यो सबै जना बसेर खाने, रमाइलो गर्ने र नाच्ने अवसर हो’ कर्मा भन्छिन् ।

उनी यो उत्सवलाई सांस्कृतिक सीमाहरू नाघेर महिला एकताको प्रतीक मान्छिन् ।

अर्की सदस्य दिक्षा तुलाधरले पनि कार्यक्रमको प्रशंसा गरिन् । ‘यहाँ सबै जात, धर्मका दिदीबहिनीहरू मिलेर तीज मनाउँछौँ’ तुलाधरले भनिन्, ‘सबाना म्यामले रमाइलो तरिकाले आयोजना गर्नुहुन्छ, जसले हामीलाई धेरै इन्जोए गराउँछ ।’

उनकाका अनुसार, यो कार्यक्रमले जिमलाई मात्र व्यायामको ठाउँबाट माथि उठाएर सांस्कृतिक सद्‍भाव केन्द्र बनाएको छ ।

सबाना फिटनेस स्टुडियोको यो तीज दर कार्यक्रमले नेपाली समाजमा सांस्कृतिक सद्‍भावको फरक सन्देश फैलाएको र चाडपर्वहरू सीमित धर्म वा जातिमा बाँधिएका हुँदैनन् भन्ने कुरा देखाएको सबाना बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?